विजय र पराजयमा जसले पाएका थिए मृत्युको धम्की

विजय र पराजयमा जसले पाएका थिए मृत्युको धम्की


■ श्रीविक्रम भण्डारी

फुटबलको लोकप्रियता विश्वमा कति छ, सायदै भनिरहनुपर्ला । यस्तो लोकप्रिय खेलभित्र कति रोमाञ्चक घटना घटेका होलान्, त्यसको अनुमान गर्न निकै गाह्रो छ । फुटबलसंग जोडिएका यस्ता हजारौँ रोमाञ्चक र सत्यतथ्य घटनाबारे आमफुटबलप्रेमी कतिलाई थाहा छ, कतिलाई छैन । यस्तै एउटा रोमाञ्चक घटना विश्व फुटबलका महान् खेलाडी लुुइस मोन्टीसँग पनि जोडिएको छ । जसले दुई भिन्दै देशको तर्फबाट विश्वकप फुटबलको फाइनल खेलेका थिए ।

एउटै खेलाडीले दुई देशबाट कसरी विश्वकपको फाइनल खेल्न सक्छ– प्रश्न उठ्न सक्छ । तर, यो शतप्रतिशत सत्य हो, लुइसले पहिलो विश्वकप फाइनल अर्जेन्टिनाबाट खेलेका थिए भने दोस्रो इटालीबाट । लुइस दुई भिन्दाभिन्दै राष्ट्रबाट विश्वकपको फाइनल खेल्ने पहिलो फुटबल खेलाडी हुन् । यही घटनाका कारण लुइसको नाम विश्वकप फुटबलको इतिहासमा सुनौलो र अविष्मणीय रूपमा लेखिएको छ ।

लुइसको जन्म १५ मे सन् १९०१ मा अर्जेन्टिनाको ब्युनर्सआयर्समा भएको थियो । उनले आफ्नो व्यावसायिक फुटबलको करिअर सन् १९२१ मा अर्जेन्टिनाको हुराकन क्लबबाट गरेका थिए । लुइसले उक्त क्लबबाट खेल्दा आफ्नो क्लबलाई च्याम्पियन बनाएका थिए । जम्मा १ मिटर ७० मिटर अग्ला लुइस शारीरिक रूपमा निकै चुस्त थिए । हुराकन क्लबबाट १ वर्ष मात्र खेलेका लुइस त्यसपछि सोही वर्षको अन्त्यमा सेन लोरेन्ज डे अलमाग्रो क्लबमा प्रवेश गरेका थिए । उक्त क्लबबाट खेल्ने क्रममा उनले आफूलाई उत्कृष्ट मिडफिल्डरको रूपमा चिनाउन सफल भए । अलमाग्रो क्लबबाट पनि १ वर्ष खेलेका लुइस त्यसपछि अर्जेन्टिनाको चर्चित क्लब ब्युनर्सआयर्समा प्रवेश गरेका थिए ।

सन् १९२२ मा ब्युनर्सआयर्स क्लब प्रवेश गरेका लुइसले उक्त क्लबबाट लामो समयसम्म फुटबल खेलेका थिए । सो क्रममा उनले आफूलाई आफ्नो क्लबको मात्र नभई विश्वकै उत्कृष्ट मिडफिल्डरको रूपमा उभ्याएका थिए । एक दशकसम्म आयर्सको तर्फबाट निरन्तर रूपमा फुटबल खेलेका लुइसले सन् १९२३, १९२४ र १९२७ मा गरी तीनपटक क्लबलाई उपाधि दिलाउन सफल भएका थिए ।

व्यावसायिक फुटबल खेल्न थालेको तीन वर्षपश्चात् अर्थात् सन् १९२४ मा उनी अर्जेन्टिनाको राष्ट्रिय टिममा छनोट भएका थिए । राष्ट्रिय टिमबाट उत्कृष्ट प्रदर्शन गरेकै कारण उनी सन् १९३० को विश्वकप फुटबलमा अर्जेन्टिनी टोलीमा परेका थिए । उक्त विश्वकपमा एक्लो बाघको रूपमा देखिएका लुइसले अर्जेन्टिनी टिमलाई फाइनलमा पुऱ्याउन अहम् भूमिका निभाएका थिए । त्यो बेला सबैलाई आश्चर्य चकित पार्दै अर्जेन्टिना फाइनलमा पुगेपछि विश्वकप पनि जित्ने अड्कल काटिएको थियो । उक्त पहिलो विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना र उरुग्वेबीच भएको थियो । जसमा अर्जेन्टिना उरुग्वेसँग पराजित भएको थियो ।

यसरी पहिलो विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना पराजित भएपछि लुइस इटालीतर्फ लागेका थिए । त्यहीँका चर्चित क्लबहरूबाट फुटबल खेल्ने क्रममा उनले इटालीको नागरिकता लिएका थिए । लुइसले शुभारम्भमा जुभेन्टसबाट खेलेका थिए । सो क्लबबाट लामो समयसम्म खेलेका लुइसले जुभेन्टसलाई चारपटक लिग च्याम्पियन बनाएका थिए । जुुभेन्ट्सलाई एकपछि अर्कोपटक च्याम्पियन बनाउन लुइसले महत्वपूर्ण योगदान दिएका थिए । जुभेन्टसबाट गरेको उत्कृष्ट प्रदर्शनसँगै उनी इटालीको राष्ट्रिय टिममा पर्न सफल भएका थिए । त्यसपछि सन् १९३४ को विश्वकप फुटबलको दोस्रो संस्करणमा लुइसले इटालीको प्रतिनिधित्व गर्दै विश्वकपमा प्रतिस्पर्धा गरेका थिए । उक्त विश्वकपमा इटालीको मिडफिल्डरको मुख्य जिम्मेवारी सम्हालेका लुइसले इटालीलाई विश्व च्याम्पियन बनाउन अहम् भूमिका निभाएका थिए । यसरी पहिलो र दोस्रो विश्वकपमा भिन्दाभिन्दै राष्ट्रबाट खेल्दै फाइनल खेल्ने लुइस पहिलो फुटबल खेलाडी बनेका थिए । उनले लगातार दुईवटा विश्वकप खेल्दै पराजय र विजयको स्वाद चाख्ने पहिलो खेलाडी पनि बनेका छन् ।

लुइसले आफ्नो मातृभूमि अर्जेन्टिना किन छोडे यसको पछाडि पीडादायी कथा छ । यही पीडादायी कथाले नै लुइसलाई मातृभूमि छाड्न बाध्य बनाएको थियो । आफ्नो सम्पूर्ण परिवारको ज्यान खतरामा परेपछि लुइसले आफ्नो प्यारो मातृभूमि छोड्नुपरेको थियो । जब लुइस सन् १९३० को विश्वकपको फाइनलमा उरुग्वेविरुद्ध भिडन्त गर्न जाँदै थिए, त्यसबेला उनलाई उनको परिवारलाई मार्ने धम्की आएको थियो । परिवारलाई मार्ने धम्की आउँदासमेत लुइस मैदानमा उत्रिएका थिए । उनको खेलमा धम्कीको कुनै असर परेको थिएन । परिणाम पहिलो हाफसम्म अर्जेन्टिनाले २–१ ले अग्रता लिन सफल भएको थियो ।

पहिलो हाफमा अर्जेन्टिनाले २–१ ले अग्रता बनाएर मैदानबाहिर आएको समयमा पुनः अज्ञात व्यक्तिले लुइसलाई फोन गर्दै धम्की दिएको थियो । धम्कीमा यदि तिम्रो कारण उरुग्वे हाऱ्यो भने तिम्रो हजुरआमा र सानीआमालाई मारिदिने बताइएको थियो । यो धम्कीले निकै आहत भएका लुइसले दोस्रो हाफ नखेल्ने निर्णय गरे पनि टिमको अगाडि घुँडा टेक्नुपरेको थियो । साथै फुटबल मैदानमा गएर उनले आफ्नो शतप्रतिशत प्रदर्शन गरेका थिए । उनले उक्त धम्कीबारे टिमका कुनै सदस्यलाई केही बताएका थिएनन् । भाग्यमानी लुइस, अर्जेन्टिनाले उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि नाटकीय ढङ्गले अर्जेन्टिनालाई पराजित गर्दै उरुग्वे पहिलोपटक विश्व च्याम्पियन बनेको थियो । उरुग्वे पहिलो विश्वकपको फाइनलमा अर्जेन्टिनालाई ३–२ को अन्तरले पराजित गरेको थियो । यसरी हारेर पनि जितेका लुइसले उरुग्वेले जितेपछि राहतको महसुस गर्दै लामो स्वास लिँदै भगवान्लाई धन्यवाद दिएका थिए । यदि उरुग्वे हारेका भए उनका परिवारको दुई सदस्यको ज्यान जाने पक्का भइसकेको थियो ।

त्यस्तै घटना सन् १९३४ को विश्वकपमा पनि लुइसमाथि घटेको थियो । जब इटाली विश्वकपको फाइनलमा पुग्यो त्यसबेला पनि लुइस टिमका महत्वपूर्ण सदस्य थिए । घटना फाइनल खेल्न मैदानमा जानु केही समय अगाडि थियो । त्यसबेला एक अज्ञात व्यक्तिले फोन गर्दै यदि इटाली हाऱ्यो भने लुइसलाई मारिदिने धम्की दिएको थियो । तर, यो कुरालाई बेवास्ता गर्दै लुइस मैदानमा प्रवेश गरेका थिए । यहाँ पनि लुइसका लागि भगवान् दाहिने भए, इटालीले फाइनल जित्यो । जितको हिरो लुइस बने । यसरी दुवै खेलमा मृत्युको धम्की पाएका लुइसले विश्वकपमा पराजय र विजयको मुख मात्र देख्नुपरेन, आफ्नो परिवारलाई मृत्युको सन्त्रासबाट पनि बचाउन सफल भए ।