नेपाल र थाइल्याण्डको लेखापरीक्षण पदाधिकारीबीच भेट

नेपाल र थाइल्याण्डको लेखापरीक्षण पदाधिकारीबीच भेट


महालेखापरीक्षक टङ्कमणि शर्मा, दङ्गाल र थाइल्याण्डको सर्वोच्च लेखापरीक्षण संस्थाका लेखा आयुक्त सन्सेर्न पोल्जिकसहितको टोलीबीच औपचारिक भेटवार्ता भएको छ ।

महालेखापरीक्षकको कार्यालय, बबरमहलमा भएको भेटका क्रममा द्विपक्षीय र आपसी हितका विविध विषयमा छलफल भएको कार्यालयले जनाएको छ । सो अवसरमा दुवै देशका सर्वोच्च लेखापरीक्षण संस्थाबीच हुन सक्ने सहकार्यका क्षेत्रहरु, कर्मचारीको क्षमता विकास, दिगो विकास लक्ष्यको लेखापरीक्षणलगायत विविध विषयमा छलफल भएको थियो ।

भेटमा थाइल्याण्डका लेखा आयुक्त पोल्जिकले दुवै देशका सर्वोच्च लेखापरीक्षण संस्थाको कार्य सम्पादन क्षमतामा अभिवृद्धि गरी लेखापरीक्षणलाई गुणस्तरीय र प्रभावकारी बनाउन द्विपक्षीय शैक्षिक सहयोगका लागि सहकार्यको प्रस्ताव गर्नुभएको कार्यालयका प्रवक्ता विष्णुप्रसाद रिजालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

महालेखापरीक्षक दङ्गालले दिगो विकास लक्ष्यको लेखापरीक्षणका लागि क्षमता विकास र अनुसन्धानमूलक कार्यका लागि थाइल्याण्डको सर्वोच्च लेखापरीक्षण संस्थाबाट गरिएको प्रस्तावको सराहना गरेका थिए । साथै उनले दुवै देश एशियाली सर्वोच्च लेखापरीक्षण संस्थाहरुको सङ्गठन (एसोसाई) को गभर्निङ बोर्डको सदस्यसमेत रहेको अवस्थामा सरकारी लेखापरीक्षणको माध्यमबाट वित्तीय अनुशासन कायम गर्न थप योगदान गर्न सकिने बताए ।

भेटमा उपमहालेखापरीक्षक रामुप्रसाद डोटेल र थाइल्याण्डका उपलेखा जनरल डा सिरिन फान्कासेमले आ–आफ्ना कार्यालयका मूल्य–मान्यता, गन्तव्य, सङ्गठनात्मक संरचना, लेखापरीक्षणका विधि, अवस्था र चुनौतीका साथै आगामी दिनमा गरिने सहकार्यका विषयमा प्रस्तुतीकरण गरेका थिए ।