विप्लव नेतृत्वको नेकपालाई सरकारको चेतावनी

विप्लव नेतृत्वको नेकपालाई सरकारको चेतावनी


सरकार नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति कडा रूपमा प्रस्तुत भएको छ । सरकारले विप्लव नेतृत्वको नेकपा वार्तामा नआए क्षति व्यहोर्नुपर्ने चेतावनी दिएको छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विप्लव नेतृत्वको नेकपालाई सो चेतावनी दिएका हुन् । पत्रकार सम्मेलनमा बाँस्कोटाले विप्लव नेतृत्वको नेकपालाई वार्ताबाट भागेको आरोप लगाउँदै भने, ‘किन भाग्नुभयो भने वार्तामा आउँदा त केही छैन माग्ने कुरा ।’

उनले दुईतिहाइको सरकारलाई त्यति हल्का रूपमा नलिन पनि विप्लव नेतृत्वको नेकपालाई सुझाएका छन् । पत्रकार सम्मेलनमा बाँस्कोटाले भने, ‘चुनाव लड्ने हुति छैन, १२ वटा सिम फेरेर तर्साएर के हुन्छ ? दुईतिहाइको सरकार यसबाट तर्सिंदैन ।’

विप्लव नेतृत्वको नेकपाले लुटपाटको धन्दा चलाएको र क्रमशः संगठित आतंकवादतर्फ अघि बढेको मन्त्री बाँस्कोटाको ठहर थियो । त्यस्तो समूहलाई सरकारले छुट दिन नसक्ने बाँस्कोटाले बताए । लुटपाटको धन्दा जारी रहे सो समूहले क्षति व्यहोर्नुपर्ने मन्त्री बाँस्कोटाको भनाइ छ । उनले भने, ‘लुटपाटको धन्दा जारी राख्नुहुन्छ भने क्षति व्यहोर्ने तपाईंहरूले नै हो । सरकारको अनुरोध छ, क्षतितर्फ नजानुस् ।’

प्रहरीले दमन ग¥यो भन्दै वक्तव्यबाजी गरेकोमा विप्लव नेतृत्वको नेकपामाथि बाँस्कोटाले आक्रोश व्यक्त गरे । उनले भने, ‘उहाँहरूले निर्दोष मान्छे मार्दा क्रान्ति र प्रहरीले पक्राउ गर्र्न खोज्दा कोही झुक्किएर पर्न गयो भने त्यसलाई दमन भन्ने ?’