विश्वको नेतृत्व गर्नु सहज छैन : अमेरिकी डलर सहजै पच्नेवाला छैन

विश्वको नेतृत्व गर्नु सहज छैन : अमेरिकी डलर सहजै पच्नेवाला छैन


■ दी भरतबहादुर बिसुराल (हिमालयन टाइगर)

अमेरिका विश्वको नेतृत्वदायी भूमिकामा रहेको शक्तिसम्पन्न र ‘पपुलर’ राष्ट्र हो । यति भनेर मात्रै पुग्दैन, एउटा गजबको पाटो यो पनि छ कि अमेरिकी झन्डा जलाइरहँदा, अमेरिकीहरूको अपहरण, हत्या हुँदा, विरोध, विद्रोह र आक्रमण गरिँदा पनि उसले उदार दिलले अनुदान, सुरक्षा र आर्थिक सहयोगका रूपमा डलर बाँडिरहेको हुन्छ । विभिन्न प्रकारका गठबन्धन, सङ्गठन, अलायन्स र सन्धिसम्झौता गर्ने र धेरै फन्डिङ अमेरिकालाई नै तिराउने गरिन्छ ।

सन् १९४९ मा दोस्रो विश्वयुद्धपश्चात् सम्पूर्ण पश्चिम युरोपका सुरक्षा ग्यारेन्टीका लागि उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो)को गठबन्धन बन्यो । जसमा उत्तर अमेरिकाबाट संयुक्त राज्य अमेरिका, क्यानडा र युरोपबाट बेलायत, फ्रान्स, इटली, बेल्जियम, डेनमार्क, द. नेदरल्यान्ड, आइसल्यान्ड, लक्जेम्बर्ग, नर्वे, पोर्चुगलसमेत १२ राष्ट्र संस्थापक थिए । आइसल्यान्डको सानो कोस्टगार्ड र सिभिलियन कर्मचारी सहभागी छन् भने अरू सबै राष्ट्र बलियो सैन्यशक्ति भएका राष्ट्रहरू हुन् । बेलायत र फ्रान्ससँग त रासायनिक हातहतियार नै छन् । हाल आएर वार्सा सन्धि सङ्गठन खारेज भएपश्चात् र युगोस्लाभिया टुक्रेपछि र युरोसियाबाट टर्की गरी २९ राष्ट्रहरूको बलियो गठबन्धन पनि आर्थिक कारणबाट हल्लिन थालेको पाइन्छ । प्रत्येक राष्ट्रको जीडीपीको स्तरअनुसार २ प्रतिशतका दरले फन्डिङ गर्ने, तर त्यसमा पनि अमेरिकाले नै धेरै रकम तिर्नुपर्ने, अझै राष्ट्रपति ट्रम्पका अनुसार उत्तर एटलान्टिक सन्धि सङ्गठन जता प्रयोग भए पनि त्यसको लाग्ने सम्पूर्ण खर्चको ७० देखि ९० प्रतिशत खर्च अमेरिकाले व्यहोर्दै आएको छ ।

संयुक्त राष्ट्र सङ्घकै खर्चमा पनि विश्वशान्तिका लागि हुने शीर्षकमा २८ प्रतिशत र साधारण खर्चतर्फ २२ प्रतिशत बजेट अमेरिकाले व्यहोर्ने गरेको छ । सन् २०१६ मा संयुक्त राष्ट्र सङ्घले झन्डै ५० बिलियन अमेरिकी डलर खर्च गरेको थियो, त्योमध्ये अमेरिका एक्लैले १० बिलियन अमेरिकी डलर व्यहोरेको थियो । सन् २०१५ को हिसाबकिताब हेर्ने हो भने अमेरिकाले आफ्नो कुल बजेटको एक प्रतिशत रकम ४३ बिलियन अमेरिकी डलर आर्थिक सहयोग भनी ९२ राष्ट्रलाई सुरक्षाका लागि १८.५ बिलियन डलर आर्थिक सहयोग शीर्षकमा १८.२३ बिलियन डलरलगायत अन्य आर्थिक सहयोगार्थ भनी १४३ राष्ट्रलाई आफ्नो धनराशि बाँडेको पाइन्छ ।

उत्तर एटलान्टिक सन्धि सङ्गठनबारे पूर्वराष्ट्रपति जर्ज डब्लू बुसले आफ्नो शासनकालमा क्यानडा र युरोपियन राष्ट्रहरूसँगको सहकार्यका लागि नाटोलाई अझै बलियो बनाइराख्नुपर्ने र कुनै पनि बेला आइपर्ने सम्भावित चुनौतीविरुद्ध एक भएर लड्न सहयोग पुग्छ भन्ने विचार व्यक्त गर्नुभएको थियो । तर, राष्ट्रपति ट्रम्पअघिका अमेरिकी राष्ट्रपतिहरूले चुपचाप अन्तर्राष्ट्रिय कम्युनिटीहरूसँग पैसाबारे पर्वाह नराखेको पाइन्छ । खासगरी रुसी जासुस र केमिस्ट वैज्ञानिकहरू अमेरिकाभन्दा सहज हुने भएकाले उत्तर एटलान्टिक सन्धि सङ्गठनको नाटो गठबन्धन फौज रहेका ठाउँमा पलायन हुन र रुसी योजनाहरू लिङ्क गरी व्यक्तिगत फाइदा उठाउने प्रवृत्ति बढ्दै गएकाले पनि रुसले आफ्ना जासुसीहरूद्वारा युरोप त्यो पनि बेलायतमा नर्भ एजेन्टहरू पठाएर आक्रमण गर्ने र बदला लिने कामहरू गर्नु, क्रिमियालाई टुक्र्याएर गाभ्नुका साथै युक्रेनभित्र युद्धको वातावरण सिर्जना गराई अराजकता फैलाइदिने कार्यहरू गर्दै आएका कारण युरोप रुससँग डराउनु स्वाभाविकै हो ।

ट्रम्प–पुटिन हेलसिन्की शिखरवार्तामा आफ्नो अलायान्स युरोप र आफ्ना सुरक्षा सङ्घसंस्थाका पक्षमा अडान लिएर बोल्न नसकेको भनी युरोप र अमेरिकामा राष्ट्रपति ट्रम्पको आलोचना पनि व्यापक रूपमा गरियो । तैपनि विश्व नेतृत्व गर्न सम्पूर्ण युरोप एक हुँदैमा विश्वको सबल नेतृत्व हुन सक्दैन । वर्तमान फ्रान्सका राष्ट्रपतिले युरोपको नेतृत्व गर्ने अपेक्षा जाहेर गरेका बोली, वक्तव्य र अमेरिकी राष्ट्रपति ट्रम्पको राष्ट्रवादी नीतिको विरोधको आभास पाउना साथ पहेँलो जर्सी र विभिन्न रूपका आन्दोलन र विद्रोहका साथै विभिन्न दैवी विपत्तिले समेत विध्वंश नै मच्चाउन थाल्यो । धाराबाहिक रूपमा भइरहेका त्यस्ता आन्दोलन र दैवी विपत्ति र आतङ्कले फ्रान्सेली राष्ट्रपति माक्रोनको मनोबल नै गिरेको छ ।

यस्तो अराजक विश्वको नेतृत्व करोडौँ जनसङ्ख्याको श्रम–सीप (लेवरस्किल) भएको फराकिलो भूमि सदुपयोगको फाइदा उठाउँदैमा चीनले गर्छ कि भनी सोच्नु पनि अनुभवहीन अड्कल ठहर्छ । सत्तरीको दशकमा तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले झन्डै २५ वर्षसम्म सम्बन्ध बिग्रेको कम्युनिस्ट मुलुक चीनको भ्रमण गर्दा तत्कालीन शोभियत सङ्घलाई पनि एन्टी कम्युनिस्ट मुलुक अमेरिकाको सम्बन्धबारे सोच्नुपर्ने अवस्था ल्याएको थियो । शीतयुद्धको शक्तिलाई सन्तुलनमा ल्याउने कामहरू र तत्कालीन समयका हरेक मोडहरूका निर्णयहरू फटाफट गर्ने अवस्था आएको अनुभूति गर्न सकिन्छ । विश्वशान्तिका लागि जसले जोसँग पनि शान्तिप्रिय कूटनीतिक सम्बन्ध राख्न सक्छ भन्ने पाठ झल्किन्थ्यो ।

वर्तमान अमेरिकी राष्ट्रपति ट्रम्प पनि विगतका तिक्तता र कुण्ठालाई बिर्सेर शान्तिवार्ताका लागि एकै ठाउँमा बसेर निष्कर्ष निकालौँ भन्ने प्रकारको स्वभाव पाइन्छ । जस्तै, उत्तर कोरियाको भनाभनले पनि शान्तिवार्ताको सम्भावना बिल्कुल देखिँदैनथ्यो, तर उत्तरकोरियालगायत अफगानी तालिवानसँगको धेरै प्रयासपूर्ण शान्तिवार्ता, चीन–अमेरिकाको व्यापारिक युद्धको पनि वार्ताद्वारा समस्या कम गर्दै लैजाने कुरामा चीन र अमेरिकी राष्ट्रपति जी–२० को ओसाका सम्मेलनमा सहमतिमा पुग्नु । हालै इरानलाई वमवार्डमेन्टबाट हुने हानि–नोक्सानीबाट बचाएर आर्थिक नाकाबन्दीको माध्यमबाट इरान जति बटारिएर कुरा गरे पनि अमेरिकी नेतृत्वले शान्तिवार्ताको ढोका खुल्ला रहेको बताइरहनुभएको छ ।

अमेरिका आफैँ ७७९ बिलियन डलर ऋण तथा व्यापार घाटामा छ, तैपनि शान्तिसुरक्षा, खाद्यान्न, सडक, स्वास्थ्य, शिक्षा, राजनीतिक, सामाजिक सकारात्मक परिवर्तनलगायत धेरै विषयमा सहयोगका लागि अमेरिकी डलर विश्वका मुलुकहरूलाई बाँडिरहेको छ । तैपनि अमेरिकाकै झन्डा जलाउनु, नागरिकहरू अपहरण गरी मार्नु, दुस्मनी गर्नु, संयुक्त राष्ट्रसङ्घमा मतदान हुँदा विपक्षमा भोट हाल्नु अमेरिकाको सिता खाएर उल्टो गीता गाउनु विश्वशान्तिका लागि टेवा दिने प्रकारका गतिविधि हुँदै होइनन् ।

विश्वको राजनीतिमा शुरुका शताब्दीमा आएको खलल अनेकता अराजकता र समूल नष्ट अधार्मिक, अमानवीय गतिविधि लिब्रलिज्मले नियन्त्रण गरी नेतृत्व गर्न असमर्थ नै भयो, बरु थप अराजकता मच्चाउन मलजल गऱ्यो, त्यसपछि मात्रै १७औँ शताब्दीतिर कन्जर्भेटिज्म अवधारणाको आवश्यकता परेको हो । यस सिद्धान्तमा राष्ट्रवाद, मानवीय मूल्य–मान्यता, संस्कार–संस्कृतिसहितको परम्परा निर्माण गरी मुलुकको पहिचान गराउने र त्यसको संरक्षण गरी सत्य तथा इमानदारीपूर्वक नेतृत्व गर्ने जिम्मेवार नैतिकवान व्यक्तित्व जन्माउने कन्जर्भेटिभको प्राकृतिक गुण मान्नुपर्छ । जो जमानको नेतृत्वमा होइन, तर ती गुणले जमाना र युगौँयुग शताब्दीशताब्दीको नेतृत्व गर्नुपर्ने आवश्यकता देखिँदै आएको छ ।

यसका विपक्षीहरू अस्तित्वबिना नेतृत्व खोज्छन् । जो संरक्षणवादलाई अनुदारवादी, पुरातनवादी, बूढो, पुरानो ढुङ्गेयुगका कुरा गर्छन् । शत्रुताको व्यवहार गरी कन्जरभेटिज्म अवधारणालाई भ्रम फैलाएर विरोधका लागि विरोध गर्ने राजनीतिक प्रणाली नै अपनाउँछन् । त्यसैको परीणाम हो उदारवाद (लिब्रलिज्म) भन्नेहरूले आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रतिको आलोचना घृणा–आरोप दोषारोपण आदि–इत्यादि गर्ने गरेको भनेर बुझ्दा सहज हुन्छ । तर, व्यक्तित्वप्रति घृणा र अवहेलनाले अमेरिकी नेतृत्व, अमेरिकी नीति र निर्णय नमान्ने र विमति राख्नु हुन्छ भन्नु महान् मूर्खता हुनेछ । बरु अमेरिकी डलर खानेहरूले बुझुन् कि राष्ट्रपति ट्रम्पले अमेरिकी नमकहरामहरू को–को रहेछन् भनिरहनुपर्दैन । राष्ट्रपति ट्रम्पले खुलस्त पार्नुभएकै छ । तपाईंलाई अमेरिकी सहयोग चाहिन्छ भने हाम्रो मित्र बन्नुस् । यति सहजै विश्वको शक्तिसम्पन्न राष्ट्र अमेरिकाको मित्र बनेर नेतृत्व स्वीकार गर्नु बुद्धिमानी हुनेछ ।