केपीलाई ताकेको तीर फर्कियो आफैँतिर, प्रचण्ड एक्लिएपछि एकताको वातावरण

केपीलाई ताकेको तीर फर्कियो आफैँतिर, प्रचण्ड एक्लिएपछि एकताको वातावरण


केपी शर्मा ओलीलाई सके सरकारबाट विस्थापित गर्ने, नसके तह लगाएर छोड्ने योजनाका साथ शुरु भएको प्रचण्डको गुप्त योजना असफल भएको छ । ओलीविरुद्ध नेकपा संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याउने र अन्ततः पार्टी अध्यक्षबाट समेत हटाउने उद्देश्यका साथ प्रचण्डले केपीविरुद्ध ‘बलियो’ मोर्चा खडा गरेका थिए ।

आफ्नो मोर्चामा वामदेव गौतम, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, सुरेन्द्र पाण्डे र भीम रावलदेखि घनश्याम भुसाल र योगेश भट्टराईसम्मलाई सामेल गरिसकेको बताएर प्रचण्डले माधवकुमार नेपालको विश्वास प्राप्त गर्ने अन्तिम कसरत गरेका थिए । केपीका विरुद्ध सबैजसो नेताहरू एकजुट भइसकेको ‘आकर्षक स्थिति’ देखाएपछि माधव नेपाल पनि प्रचण्ड मोर्चामा सामेल हुन तम्तयार भएको बताइन्छ । केपीलाई पदमुक्त गरेर माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाइने र आफू पार्टीको ‘एकलौटी अध्यक्ष’ बन्ने सपना पूरा गर्न आवश्यक परे लिखित सम्झौता नै गर्ने योजना प्रचण्डको थियो ।

तर, लुलो नेताका रूपमा चिनिने माधवकुमार नेपाल भने परिस्थितिको ‘जोखना’ हेर्दै थिए । प्रचण्डसँग मिले पनि पद, केपीसँग मिले पनि पद प्राप्त हुने लाभको स्थितिमा माधव नेपाल रहेकोले उनी यतिबेला ‘शक्तिशाली बार्गेनर’को हैसियतमा छन् । प्रचण्डले प्रधानमन्त्री उधारोमा दिइरहेका थिए भने केपी ओली तत्काल माधव नेपाललाई कार्यकारी वा कार्यबाहक अध्यक्ष बनाउन सक्ने अवस्थामा छन् । त्यसैले माधव नेपाल केपीविरुद्धको मोर्चाबन्दीमा सामेल हुनेभन्दा सहमति बनाएर अघि बढ्ने मानसिकतामा पुगेको बुझिएको छ । माधवको यही मानसिकता बुझ्न नसक्दा प्रचण्ड आफ्नो योजनामा तत्काल सफल हुन सकेनन् ।

केपी शर्मा ओली प्रचण्डको इज्जतसम्म राखिदिन तयार देखिन्छन्, प्रचण्डले आफ्नोविरुद्ध यसैगरी चलखेल गरिरहेमा भने केपी जस्तोसुकै जोखिम उठाउन तयार भएको बुझिएको छ । यसरी प्रचण्ड रक्षात्मक अवस्थामा पुगेका त छन्, तर उनी एकपटक असफल हुँदैमा हार मान्ने व्यक्तिमा पर्दैनन् ।

नारायणकाजी श्रेष्ठ र सुरेन्द्र पाण्डे पार्टीमा विग्रह पैदा हुने प्रकारको कुनै कार्य गर्न तत्पर नरहेको र सरकार विस्थापित गर्नेभन्दा पनि सरकारलाई प्रभावकारी बनाउनुपर्छ भन्ने पक्षमा श्रेष्ठ र पाण्डे रहेको बुझिन्छ । त्यस्तै, वामदेव गौतम र योगेश भट्टराई पनि केपीले ‘एक्सेस’ नदिएकोले मात्र प्रचण्डतिर लागेको विश्वास गरिन्छ । यसबीचमा केपीले जब आफ्नो शैलीमा परिवर्तन ल्याए र पार्टीका नेताहरूसँग संवाद र परामर्श शुरु गरे त्यसपछि प्रचण्डको सपना चकनाचुर हुन पुगेको छ ।

प्रचण्ड यतिबेला करिब–करिब एक्लिएका छन् । केपी शर्मा ओली र प्रचण्डबीच पटक–पटक भएका संवादपछि प्रचण्ड आफूले चाल्न खोजेको भावी कदमबारे पुनर्विचार गर्ने स्थितिमा पुगेको बुझिएको छ । माधव र वामदेवदेखि योगेश भट्टराईसम्मले आफूसँगको सहकार्यलाई भन्दा केपीसँगको सहकार्यलाई प्राथमिकता दिएको र, नारायणकाजी श्रेष्ठ र सुरेन्द्र पाण्डे पार्टीमा आन्तरिक विग्रह उत्पन्न हुने प्रकारका कुनै पनि गतिविधि नगर्ने मनस्थितिमा रहेकोले प्रचण्ड एक्लिने अवस्थामा पुगेका हुन् । यसरी एक्लिने अवस्था आएपछि प्रचण्ड अहिले रक्षात्मक भूमिका निर्वाह गर्दै छन् ।

केपी ओलीले आफ्नो ‘फेससेव’मात्र गराइदिने स्थितिको खोजीमा प्रचण्ड रहेका छन् । माधव नेपालको संयोजकत्वमा बनेको दश सदस्यीय समितिले तयार गरेको प्रतिवेदन प्रकाशित गर्ने र तत्काल ‘जनताको बहुदलीय जनवाद’को प्रचारमा पार्टी नेताहरू लागिदिएनन् भने त्यसबाट आफ्नो ‘फेससेभ’ हुन्छ भन्ने प्रचण्डको ठम्याइ छ । केपीले जबजको सट्टा ‘जनताको जनवाद’ स्वीकार गर्नुलाई पनि प्रचण्डले आफ्नो ‘फेससेभ’ गरिदिएको भनेर बुझेका छन् । त्यस्तै, मन्त्रिमण्डल पुनर्गठन गर्दा बुहारी बिना मगरलाई मन्त्रिमण्डलमा यथावत् राखिनुलाई पनि प्रचण्डले आफ्नो ‘नाक’ जोगाइदिएको ठान्ने स्थिति छ ।

प्राप्त जानकारीअनुसार केपी शर्मा ओली प्रचण्डको इज्जतसम्म राखिदिन तयार देखिन्छन्, प्रचण्डले आफ्नोविरुद्ध यसैगरी चलखेल गरिरहेमा भने केपी जस्तोसुकै जोखिम उठाउन तयार भएको बुझिएको छ । यसरी प्रचण्ड रक्षात्मक अवस्थामा पुगेका त छन्, तर उनी एकपटक असफल हुँदैमा हार मान्ने व्यक्तिमा पर्दैनन् । त्यसैले अहिले प्रचण्डलाई एक्ल्याउन र असफल तुल्याउन केपी सफल भए पनि कुनै पनि निहुँमा कुनै पनि दिन प्रचण्डले केपीसँग बदला लिने सम्भावनालाई इन्कार गर्न सकिँदैन ।