माओवाद र विश्व–परिवेश





■ ध्रुवहरि अधिकारी

‘माओ जेदोङ बितेसँगै चीनमा माओवाद अतीत भइसकेको छ’– यस्तो निचोडमा पुगेका मानिसले अब चीनबाहिर पनि माओवाद इतिहासमा सीमित भएको ठान्न सक्छन्; यस्तो भनाइप्रति सहमति जनाउन सक्छन् । किनभने एक हिसाबले सिङ्गो विश्व नै माओवादबाट ‘मुक्त’ भएको ४० वर्ष नाघिसक्यो । ०३३ सालमा (सन् १९७६ सेप्टेम्बर) माओ बितेका हुन्; त्यसको नौ महिना पहिले उनका निकट सहयोगी (एवम् प्रधानमन्त्री) चाउ एनलाईको निधन भएको थियो भने माओको मृत्युको लगत्तै पछि विवादास्पद ‘सांस्कृतिक क्रान्ति’को पनि अन्त्य भएको थियो । माओकी कान्छी (चौथी) पत्नी र अन्य तीन सामेल भएको ‘चारको जत्था’को जगजगीले सांस्कृतिक क्रान्तिलाई विवादमा पारेको थियो ।

तैपनि माओवादको अवसान भइसकेको छैन भन्नेहरू छन् । चीनको राजधानी बेइजिङको चर्चित तियानमेन डबलीको मुख्य भित्तोमा माओको ठूलो तस्बिर देख्ने जोसुकैले पनि चीनभित्र माओवाद ज्युँदै रहेको यथार्थ औँल्याउँछन्; डबलीको अर्को कोणमा रहेको जीवित सङ्ग्रहालयमा माओको शरीर देख्नेहरूले यसै धारणाको पुष्टि हुने अर्को प्रमाण मान्दछन् । तीन वर्षअघि मात्र (सन् २०१६) हेनान प्रान्तमा ३७ मिटर अग्लो माओको सुनौलो सालिक अनावरण भएको थियो, यद्यपि कुनै रहस्यमय कारणवश केही साताभित्रै त्यो सालिक हटाइएको थियो । यसबीच, माओ विचारधारालाई मूलभूत रूपलाई जोगाइराख्न प्रतिबद्ध कम्युनिस्ट नेता सी चिङफिङ राष्ट्रपति हुनु–रहनुलाई समकालीन चीनमा माओवाद कायम रहेको आधार मान्नेहरू पनि प्रशस्त भेटिन्छन् ।

चीनबाहिर पनि माओवादको प्रभाव टड्कारो छ भन्ने अवधारणा स्वीकार गर्नेहरूको सङ्ख्या कम्ती आँक्न मिल्दैन । तिनैमध्येकी हुन् बेलायतकी लेखिका जुलिया लोवेल । लन्डन विश्वविद्यालयमातहतको एक कलेजकी प्राध्यापक (प्रोफेसर) रहेकी जुलियाको ‘माओवाद : एक विश्व इतिहास’ (Maoism-A Global History) नामक हालै प्रकाशित पुस्तकमा नेपाल, कम्बोडिया, भियतनाम, भारत र पेरूलगायतका देशमा भएका सशस्त्र आन्दोलनबारे विस्तृत चर्चा भएको छ । कम्बोडियामा हुन सेन विगत ३० वर्षदेखि लगातार ‘निर्वाचित’ प्रधानमन्त्री छन् भने नेपालमा माओवादको नामबाट गरिएको विद्रोहद्वारा कम्युनिस्टहरू सत्तासीन भएका छन् । इन्डोनेसियामा सन् १९६० दशकमै कम्युनिस्ट कब्जामा पर्न लागेको थियोस नक्सलपन्थी भनिने चारू मजुमदारको माओवादले भारत अझै आक्रान्त छ । यसबीच दक्षिण अमेरिकी देश पेरूमा ‘साइनिङ पाथ’ नामक हिंसात्मक विद्रोह भएको थियो जसमा करिब ७० हजार मानिसको ज्यान गयो । अफ्रिका महादेशमा ताञ्जानिया, जायर, जिम्बाबेसमेतका केही मुलुक माओवादको चपेटामा परे । युरोप पनि अछुतो रहेन ।

संयुक्त राज्य अमेरिकामा पनि अश्वेतहरूको युवापङ्क्तिलाई माओप्रति आकर्षित गर्ने कामहरू भए । रबर्ट एफ विलियम्सले चीनको यात्रा गरी माओको हस्ताक्षरयुक्त पुस्तक प्राप्त गरेको तस्बिर यस प्रसङ्गको एउटा झलक हो । यसरी, एकातिर माओ विचारको प्रचारमा छापेर बाँडिएका ‘सानो रातो किताब’ र अन्य मुद्रित प्रकाशनका दशौँलाखप्रतिले संसारभरि माओलाई चिनायो र आदरणीय व्यक्तित्वको रूपमा प्रस्तुत ग¥यो भने अर्कोतिर माओ नेतृत्वको ‘चिनियाँ कम्युनिस्ट पार्टी’ को सक्रियतामा विश्वका अनेक देशका उदीयमान क्रान्तिकारीहरूलाई चीनमा झिकाई तालिम, प्रशिक्षण दिइयो । कतिले आन्दोलन सफल पार्न धन र हात–हतियारको सहयोगसमेत पाए । चीनबाट हजारौँ कोस टाढा रहेको दक्षिण अमेरिकी मुलुक पेरूका प्रोफेसर त माओवादबाट लाभान्वित भए भने तिब्बतका कारण सिमाना जोडिएको नेपालका सक्कली–नक्कली क्रान्तिकारीहरूले माओवादबाट फाइदा उठाएनन् भनेर पत्याउने कुरो आएन ।

यी घटनालाई पृष्ठभूमिमा राखेर लेखिका जुलिया लोवेल भन्छिन्– चीनले अरू देशको मामिलामा हस्तक्षेप गर्दैन भन्ने मान्यता गलत हो किनभने माओको चीनले निर्यात गरेको ‘क्रान्ति’ले विश्वका कतिपय भाग अशान्त हुन पुगे, अझै अस्थिर छन् । जुलिया यसै सिलसिलामा थप्छिन्– माओवादका प्रचारकहरूले देश–विदेशमा अर्को के भ्रम छर्ने गरेका छन् भने चीनमा हुर्केको माओवाद नै अल्पसङ्ख्यक र किनारामा परेका समुदायहरूको पक्षमा लड्ने ‘वाद’ हो । नाङ्गो सत्य अर्कै (उल्टो) छ जसको उदाहरण हो तिब्बती समुदाय जसको एउटा ठूलो हिस्सा नेपालमा बस्दछ । तर, माओवादप्रति एकोहोरिएका कतिपय नेपाली आफ्नो देशमा तिब्बती शरणार्थीको उपस्थिति के कुराको परिणाम हो भनेर बुझ्न सकिरहेका छैनन् । यस्तोमा माओवाद अल्पङ्ख्यक समुदायको पक्ष लिने वाद नै होइन भन्ने वास्तविकता तिनलाई सम्झाइदिने कसले ?

वास्तवमा चर्चित पुस्तकमा नेपालबारे एउटा छुट्टै अध्याय छ जसमा प्रोफेसर जुलिया लोवेलले रक्तरञ्जित माओवादी विद्रोह (सन् १९९६–२००६) का परिणतिबारे विशद् चर्चा र विश्लेषण गरेकी छिन् । मलेसिया (साबिकको मलाया) इन्डोनेसिया, भारत र पेरूजस्ता देशमा सत्तारुढ हुन सफल नभएको माओवाद नेपालमा किन र कसरी सत्ताधारी बन्न पुग्यो त ? पुस्तकको नेपाल अध्यायमा मोहन वैद्य किरण, प्रचण्ड, बाबुराम, विप्लव, कमरेड कमलाजस्ता पात्रको चर्चा र धारणा मात्र होइन आफूलाई राजनीतिक जानकार, अनुवादक र विश्लेषक कहलिन रुचाउने सत्जनहरूका विचार र विवेचना पनि समेटिएका छन् । ‘म धेरै गतिलो इन्जिनियर मानिन्थेँ’ भन्ने चिनारीका साथ लेखिकासमक्ष प्रस्तुत हुँदा सी.के. लालले आफूलाई ‘पूरा समय क्रियाशील टिप्पणीकार’ भनेर परिचय गराएका छन् । भन्छन्– (नेपालमा) माओवादी विद्रोह असली क्रान्ति थिएन, त्यो त पढालेखा मध्यमवर्गी बाहुनहरूको सत्तामा उक्लिने भऱ्याङ मात्र थियो । (हिसिला ब्राह्मणकी पत्नी भएकीले होला, त्यसै श्रेणीमा परेकी छिन् यहाँ !) । मोहनविक्रम सिंहले भने प्रचण्डलाई बाठो ब्राह्मण नभनेर विचार र सिद्धान्तलाई भन्दा बढी निजी आकाङ्क्षालाई महत्व दिने मानिसको रूपमा उल्लेख गरेका छन् ।

के साँच्चिकै कथित जनयुद्ध सी.के. लालले सङ्केत गरेझैँ छिट्टै सत्तामा पुग्न लालयित बाहुनहरूले सञ्चालन गरेको नाटक मात्र थियो त ? (स्वर्गीय रामनारायण मिश्रको स्मृतिमा प्रकाशित स्मारिकामा कुन कुलको कुन परिवारमा जन्म हुने भन्ने कुरा जन्मिने बच्चाको इच्छा वा काबुमा हुने होइन भनेर स्वीकार गर्ने सी.के. लाल यहाँ ब्राह्मणप्रति किन पूर्वाग्रही भएका हुन् त्यो छुट्टै विवेचनाको विषय हुनसक्छ) तर, सी.के. लालको व्याख्याले लेखिकाको चित्त बुझ्न सकेको देखिँदैन । लेख्छिन्– बाठाहरूको अवसरवाद मात्र नेपालमा माओवादी आन्दोलनको सफलताको ‘पर्याप्त’ आधार मानिन सक्दैन ।

दशौँ हजार मानिसको ज्यान लिने हिंसात्मक आन्दोलनका सञ्चालकहरूले दश वर्षसम्म कसरी क्रूर, पासविक तरिकाले मान्छे मारे तिनलाई शारीरिक र मानसिक यन्त्रणा दिए त्यसको लेखाजोखा गर्ने विवेकशील मानिसले यी घटनाक्रमप्रति आँखा चिम्लिन सक्दैन । सोझा सरल किसान र शिक्षकका घर–घरमा पसेर लुटेर खाने, तिनका नावालिग सदस्यलाई थुतेर लाने र बाल–सैनिक बनाउनेलगायतका काम गरेर सिङ्गो समाजलाई घाइते तुल्याएको हुनाले नेपालका माओवादीको साइनो चीनसम्म पुगेको हो । पुस्तकमा उल्लेख भएका घटनामध्ये एउटा ती ग्रामीण बालिकासँग गाँसिएको छ जसलाई सात वर्षको उमेरमा विद्रोहीहरूले अपहरण गरेर लगेका थिए । पहिले तिनलाई २५० जनाको समूह बसेको ओडारमा राखियो– नाम मात्रको आहार दिएर । शुरुमा तिनलाई पालो–पहराको काममा लगाइयो, त्यसपछि हतियारको तालिम लिन लगाइयो । उनी भक्कानिँदै सम्झिन्छिन्– गर्न नसक्ने काम अह्राउँथे, गर्न सक्दिनँ भन्यो भने पिट्थे । जब कमाण्ड गर्नेहरूले ‘अपराधी’ भनेर मानिस पक्रेर ल्याउँथे तिनलाई मुस्लिम शैलीमा दण्ड दिएको देख्नुपर्थ्यो…घाँटी रेटेर मार्ने, खुकुरीले अङ्ग–अङ्ग टुक्र्याएर घाउमा नुन–खोर्सानी दलिदिने; आदि, इत्यादि । मेरो आफ्नै आँखाले त्यस्ता दृश्य देखेकी छु…. कमाण्डरले त मलाई ती सब कर्तुत हेर्न बाध्य गराउँथ्यो– मुटु दह्रो होओस् भनेर । अनि जति पटक मलाई रुँदै गरेको देख्थे त्यतिपटक दण्डित गर्थे, यन्त्रणा दिन्थे ।

पुस्तकमा भेटिन्छ; ‘तृषा’ नाम राखिएकी ती बालिकालाई बाबु–आमाले कुनै उपायद्वारा माओवादीबाट छुटाएर घर त लगे, तर तिनी सामान्य पारिवारिक जीवनमा फर्किन सकिनन् । उल्टो, घरका गरगहना चोरेर भागिन् । र, फेरि माओवादी जत्थामा सामेल हुन पुगिन्; हतियार चलाउने, ग्रिनेड बनाउनेजस्ता घातक कामप्रति आकर्षित भइन् । यस्तो बहकिने सोच पलायो– म पनि भविष्यमा धेरै मान्छे मार्न सक्ने हुनेछु !

तर, खाराको घटनापछि युद्धको बाटोबाट सत्ताकब्जा गर्न नसकिने देखेर माओवादी शान्तिप्रक्रियातिर लागेका हुन्; तीमध्ये कतिपयलाई यसमा चित्त बुझेको थिएन । यसै क्रममा हो, कालान्तरमा फुटेर अर्कै माओवादी समूह गठन गर्ने ‘विप्लव’ले अनमिनको निगरानीमा पुग्न लागेका हतियारबाट एकतिहाइ भाग उतिखेरै अन्यत्र लगेर लुकाए… आफ्ना विकल्प खुला राख्ने ध्येयले । अहिले माओवादी सत्तामा पनि छ, विपक्षमा पनि देखिन्छ !

किरण र विप्लवको सोच १२बुँदेजस्ता सहमतिअनुकूलको रहेन । किरणले पुस्तककी लेखिकालाई सन् २००५ मा आन्दोलन ‘राज्यकब्जा’को निकट पुगिसकेको, तर आफ्नै एउटा समूहले गद्दारी गरेकोले त्यो विफल भएको मन्तव्य दिएका छन् । यता माओवादीले सरकार गठन गरिसकेपछि उता चीनको कम्युनिस्ट पार्टीको नेतृत्व तहबाट सन्देश आएको थियो– ‘माओवादी’ भन्ने बिल्ला अब छोडिदिनोस्, प्रचण्डपथ भने पुगिहाल्ला ।

कस्तो काकताली ! सन्देश पाएपछि माओवादीको प्रचण्ड धार क्रमिक रूपले एमालेमा मिसिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा परिणत भई पनि सकेको छ । ‘डबल नेकपा’ भन्ने अभिव्यक्तिबारे कुनै कमरेड पनि शायद अब अनभिज्ञ छैनन् ।

प्रतिक्रिया