काण्डैकाण्डबीच तङ्ग्रिन जोडबल !

काण्डैकाण्डबीच तङ्ग्रिन जोडबल !


ऋणको बोझले थिचिएको यथार्थ छताछुल्ल हुँदै गर्दा नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय गन्तव्य बढाउन विभिन्न प्रयास थालिएको दाबी गरेको छ । निगमले जनाएअनुसार दिल्ली सेक्टरका लागि हप्ताको १४ उडान भइरहेकोमा २१ बनाउने योजना अनुसार स्लट प्राप्त भइसकेको छ । दिल्लीका लागि प्रतिहप्ता ११ उडान रहेकोमा हाल १४ पुऱ्याइएको निगमको भनाइ छ । हप्ताको १४ उडानमध्ये ७ उडान न्यारोबडीमार्फत र ७ उडान वाइडबडीमार्फत गरिएको छ भने युनाइटेड अरब इमिरेट्सको दुबईमा प्रतिहप्ता तीन उडान गरिँदै आएकोमा एक थप गरी चार पुऱ्याइँदै छ ।

निगमको पछिल्लो दाबीअनुसार आन्तरिक उडानका पाइलटको तालिम सञ्चालन गर्न ‘अप्रुभ्ड ट्रेनिङ अर्गनाइजेसन’सम्बन्धी संस्थागत कार्य अघि बढाई नेपालमै तालिम सञ्चालन गर्ने व्यवस्था गरिएको छ । वाई १२ ई उडान गर्न दुईजना वरिष्ठ पाइलटको असार मसान्तभित्रै तालिम सम्पन्न गरी वाई १२ ई जहाज सञ्चालन गर्न सक्रियता दर्शाइएको छ । निगमको ट्विनअटर जहाज सञ्चालन गर्ने आवश्यक जनशक्ति व्यवस्था गर्दै जाने योजनाअनुरूप निगमले हाल एकजना वरिष्ठ क्याप्टेन नियुक्त गरी तालिम गरिरहेको छ भने दुई वर्षदेखि रोकिएको को–पाइलटहरूको तालिम सुचारु गराई एकजनाको तालिम सम्पन्न गरी नागरिक उड्डयन प्राधिकरणबाट लाइसेन्स इन्डोर्समेन्ट गर्ने कार्य भइरहेको छ ।

न्यारोबडीमा लाइन क्लियरेन्स भएका जनशक्ति पर्याप्त मात्रामा तयार भएपछि न्यारोबडी जहाजबाट वाइडबडी जहाजमा आवश्यक तालिम गराई वाइडबडीमा समेत नेपाली जनशक्ति तयार गर्नेतर्फ निगमले कार्य गरिरहेको जनाइएको छ । अन्तर्राष्ट्रिय कम्पनी बीसीटीले गरिरहेको विमान मर्मतसम्भार कार्य जुलाई महिनादेखि स्वयम् ने.वा.नि.का इन्जिनियरहरूबाट गर्ने प्रक्रियासमेत अगाडि बढाइएको छ । जसले गर्दा प्रतिमहिना ५० देखि ६० लाख रुपैयाँसम्म बचत हुने उसको दाबी छ । बाहिरी हल्ला जे चले पनि सुरक्षित एवम् गुणस्तरीय सेवामा सक्षम रहेको निगमको दाबी छ ।