यस बर्षको दशैंमा चिनीको अभाव हुने सङ्केत

यस बर्षको दशैंमा चिनीको अभाव हुने सङ्केत


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी आयातमा परिमाणात्मक बन्देज ३ महिना थप्ने तयारी थालेको छ । मन्त्रालयले आगामी दशैंसम्मका लागि समय थप्न लागेको हो ।

सरकारले गत वर्ष असोज २ गते चिनीको आयातमा परिमाणात्मक कोटा निर्धारण गरिदिएको थियो । आयातमा परिमाणात्मक बन्देज लगाउँदा स्वदेशी चिनी उद्योगलाई सजिलो होस् भन्दै सरकारले यस्तो निर्णय गरेको हो । असोजदेखि चैतसम्मका लागि परिमाणात्मक बन्देजलाई अहिले दोस्रो पटक तीन महिना थप हुन लागेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । हो । सरकारले दोस्रोपटक गत वैशाखमा ३ महिना अर्थात् यसै असार मसान्तसम्मका लागि परिमाणात्मक बन्देज लगाएको् थियो ।

सरकारले चिनी उत्पादक संघको मागबमोजिम गत वर्ष मन्त्रिपरिषद्को बैठकबाट वार्षिक १ लाख मेट्रिक टन मात्रै चिनी आयात गर्न पाइने गरी कोटा निर्धारण गरिदिएको थियो । सोही मापदण्डमा रहेर चिनीमा कोटा प्रणाली लागु गरिएको हो । स्रोतका अनुसार कोटा प्रणालीका कारण यसबर्षको दशैं तिहारमा चिनी महङ्गो हुने छ । दशैं र तिहारका बेला चिनीको माग अत्याधिक हुने तर आयातमा कडाई गर्दा व्यापारीले चलखेल गर्ने हुनाले मूय बृद्धि हुने र चिनीको अभाव हुने मन्त्रालयका एक कर्मचारीले बताए ।

त्यसबेलामा चिनीको माग उच्च हुने हुँदा व्यापारीले आपूर्ति न्यून भएको बहानामा मूल्य बढाउने अवस्था हुने एक व्यवसायीले बताए । व्यापारीले चिनीको कृत्रिम अभाव सिर्जना गराएको खण्डमा पनि मूल्य बढ्न सक्ने ती व्यवसायीको तर्क छ । अन्य समयको तुलनामा दसंैमा चिनीको दोब्बर कारोबार हुन्छ ।

नेपालको आन्तरिक माग धान्ने चिनी स्वदेशी उद्योगीसँग भएपनि उनिहरुले उत्पादन लागत पनि नउठ्ने खालको सरकारी दररेटका कारण उद्योगीसँग चिनी मौजदात रहेको छ । यसअघि स्वदेशी चिनीलाई बजार उपलब्ध गराउन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उद्योगीले आयातमा कडाई गर्न अनुरोध गरेका थिए । तर उद्योगीले बजारमा चिनी नपठाएपछि प्रधानमन्त्रीले उद्योगीले आफूलाई ठाँटेको बताएका थिए । नेपालमा वार्षिक झन्डै ३ लाख मेट्रिक टन चिनीको माग छ ।