सत्ता–खिचातानी छताछुल्ल !

सत्ता–खिचातानी छताछुल्ल !


स्वर्गीय मदन भण्डारीको ६८औँ जन्मजयन्तीका अवसरमा आयोजित विचारगोष्ठीमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच रोचक घोचपेच चल्यो । मदन भण्डारीको नाम लिँदै पुष्पकमल दाहालले उहाँ आग्रह–पूर्वाग्रहबाट माथि उठेको, आफूले भनेकै हुनुपर्छ भन्ने जड र सङ्कीर्ण सोच–शैलीबाट माथि उठेको, परिस्थितिअनुसार बदलिन सक्ने उदात्त व्यक्ति हुनुहुन्थ्यो भन्ने आसययुक्त अभिव्यक्ति दिए । दाहालको अभिव्यक्ति सुन्नेले ती शब्द स्वर्गीय भण्डारीको प्रशंसामा भन्दा सँगै उपस्थित प्रधानमन्त्री केपी ओलीप्रति लक्षित छ भनी लख काट्न बेर लगाएनन् । मदन भण्डारीको विशेषतालाई विम्ब बनाएर केपीलाई अनुदार, सङ्कीर्ण, पूर्वाग्रही, हठी साबित गर्न उद्यत् बनेका थिए दाहाल । जोसुकैले बुझ्ने गरी अभिव्यक्त भएका दाहालको नियत केपीजस्ता चतुर राजनीतिजीवीले नबुझ्ने सवाल नै थिएन । आफ्नो बोल्ने पालोमा दाहाललाई उस्तै घोच्ने गरी केपी ओलीले शब्दबाण चलाए– ‘हो ! मदन भण्डारी निहित स्वार्थसिद्धिका लागि बोली फेरिरहने, नक्कली सिद्धान्त अपनाउने गर्नुहुन्नथ्यो ।’

उल्लिखित सन्दर्भलाई कुनै दलका शीर्ष नेताहरूद्वारा सार्वजनिक कार्यक्रममा दिइएको औपचारिक भाषण मात्रको रूपमा बुझेर उपेक्षा गर्न सकिन्न, देशकै नेतृत्व गरिरहेको दलभित्र पन्पिएको असमझदारी, समूहगत खिचातानी, सत्ताको भोकले जन्माएको छटपटी र समग्रमा सत्तासीन पार्टीभित्र हुर्किरहेको विसङ्गति–बेथितिको एउटा ज्वलन्त सङ्केत हो यो । पार्टी एकीकरण प्रक्रियाको झन्डै दुईवर्षे अवधि गुज्रन लाग्दा एकीकरण प्रक्रियाले पूर्णता नपाएको, एकता–प्रक्रिया सम्पन्न भएको औपचारिक घोषणाअगावै एकैभाँडोमा भए पनि एमाले र माओवादी कित्ता तेल र पानीजस्तैै छुट्टिने तहमा पुगेको यथार्थको चित्रण हो यो ।

जनतालाई खुसी दिने दाबीका साथ विपरीत ध्रुवका दुई ‘कम्युनिस्ट’ एक हुने घोषणा गरिँदाको सन्दर्भ सम्झिँदै जन–जन यतिबेला ‘एमाले–माओवादी दोहोरी’ देखेर मनोरञ्जन मात्र लिइरहेका छैनन्, दुईतिहाइ शक्तिको सरकार हाँक्ने दलको दुर्दशा देखेर उत्तिकै चिन्तित पनि बनेका छन् ।

शासन–सत्ताको बागडोर नियन्त्रणमा लिएको दलको आन्तरिक किचलोबाट उत्पन्न तरङ्ग यतिबेला आमनागरिक तप्कासम्म पुगिसकेको छ । स्थिर एवम् स्वप्नदर्शी सरकारको जगमा मुलुक समृद्ध भएको हेर्ने उत्कट अभिलाषा झरीको पानीका फोकाझैँ फुट्न थालेपछि सर्वसाधारण नेपाली आफ्नै भाग्यमाथि धारेहात लगाउन बाध्य भएका छन् । नेताहरूप्रति गुनासो र गाली जति नै वर्षाए पनि निरर्थक साबित भएपछि जनता अब थाकेका छन् र वर्तमान नेतृत्वको भरमा सुदिन देख्न नपाइने निचोडमा पुगेका छन् । जागरुक जनता एकाएक यसरी निराशाको अँध्यारोले घेरिनु कुनै पनि मुलुकका लागि अत्यन्त अशुभ सङ्केत हो ।

मुलुकको सुखद भविष्य वा सुख–समृद्धिसँग सोझै सम्बन्धित रहने शिक्षा, स्वास्थ्य, रोजगारी तथा अर्थतन्त्रका समग्र अवयवहरूप्रति राजनीतिक नेतृत्व असंवेदनशीलताको उत्कर्षमा देखिँदै छ । समस्या चिनेर निराकरणको इमानदार प्रयास गर्नुपर्नेमा समस्या नै नदेख्ने, उल्टै समृद्धिको मार्गमा हुइँकिरहेको दाबी गर्ने नेतृत्वबाट अस्तित्वरक्षाकै निम्ति जुझ्नुपर्ने अवस्थामा पुगेको राष्ट्रको उद्धार हुन सक्नेमा पूरापूर सन्देह पैदा भएको छ । साम्यवादको सपना देखाएर सत्ताको शिखरमा पुगेकाहरू पुँजीवाद प्रवर्द्धनमा यसरी लिप्त हुन पुगेका छन् कि निजी सम्पत्ति आर्जन गरी नवधनाढ्य बन्ने यिनका ‘नग्न’ प्रतिस्पर्धाले कथित सामन्ती–पुँजीपतिहरूले नै उदेक मान्नुपर्ने अवस्था छ । आमनागरिकलाई अभाव र गरिबीकै गर्तमा डुबाएर आफूहरू समृद्धिको शिखर नाघ्न उद्यत् ‘कम्युनिस्ट’ नेताहरूको महत्वाकाङ्क्षाले देश र जनताको अस्तित्व जोगाउनुपर्ने अहम् दायित्वप्रति नै यी पूरै उदासीन छन् भन्न बाध्य तुल्याएको छ ।

प्रतिपक्षीको कमजोरी वा निकम्मापनलाई नै आफ्नो शक्तिको स्रोत बनाएको सत्तापक्षले अब बुझ्नैपर्छ कि अर्काको कमजोरीको आडमा सधैँ बलवान कहलिन सकिन्न । यस्तो ‘बुद्धि’ले खास मौकामा धोका दिन सक्छ । किनकि, निकम्मा पक्षको नियतिमाथि एकपटक त जनताले थपडी मारिदिन सक्छन्, तर निरन्तर त्यसैमा रमेर रहन सक्दैनन् । यसर्थ, जुन जनतालाई हतियार तुल्याएर सत्तारोहण गरियो, तिनलाई देखाएको मोहक सपना यथार्थमा परिणत गर्न नसक्दा माउ माकुरोको नियति व्यहोर्न नपर्ने ग्यारेन्टी कसैले गर्न सक्दैन । देश र जनताको सेवाका निम्ति सहयात्री बनेको ढोंग गर्दै शत्रुवत् प्रतिस्पर्धीको रूपमा देखिएका पात्रहरूलाई हेक्का रहोस् ।