विप्लव नेतृत्वको नेकपाभित्र शङ्काको बादल

विप्लव नेतृत्वको नेकपाभित्र शङ्काको बादल


एकपछि अर्को गर्दै पार्टीका तल्लादेखि उपल्ला तहका नेता–कार्यकर्ता पक्राउ पर्ने, इन्काउन्टरको नाममा मारिने घटनाले विप्लव नेतृत्वको नेकपालाई हायलकायल तुल्याइरहेको अवस्थामा पार्टीभित्र पैदा भएको शङ्का–आशङ्काले थप समस्या निम्तिएको बुझिएको छ । यस क्रममा आफ्नो पार्टी र नेताहरूविरुद्ध सुराकी गर्न पार्टीबाट निष्कासित पात्रहरू सक्रिय रहेका सो पार्टीले खुलासा गरेको छ ।

पार्टीका नेता र कार्यकर्ताहरू लगातार गिरफ्तारीमा पर्ने र मुठभेडको बहानामा मारिने क्रम बढ्न थालेपछि नेकपासम्बद्ध एक जिम्मेवार नेताले यस्तो खुलासा गरेका हुन् । उनका अनुसार ‘कारवाहीमा परेका झुण्ड’हरूले पार्टी र क्रान्तिलाई सिध्याउन सुराकीको काम गरिरहेका छन् ।

‘पार्टीबाट निष्कासन र पलायन भएका तिनै झुण्डहरू सुराकी बन्दै प्रहरी–प्रशासन, विभिन्न सञ्चारमाध्यम र पत्रकारलाई गुहार्दै पार्टी र क्रान्तिविरुद्ध ती कम्मर कसेर लागेका छन्’– उनले ठोकुवा गरे । यसरी एउटा क्रान्तिकारी पार्टी र उसका नेतालाई सुनियोजित तवरबाट गिरफ्तार गराउने र उनीहरूको जीवनलाई सङ्कटमा पार्ने कार्य कुनै हालतमा सैह्य नहुने पनि उनले बताए ।

स्मरण रहोस्, नेपाल कम्युनिस्ट पार्टीले केही महिना अगाडि पार्टीको नाममा गुटबन्दी गर्ने, आर्थिक चलखेल गर्ने र सुचना चुहाउने काम गरेको अभियोग लगाएर पत्रकार कमल बुढालगायतको पार्टी सदस्यता खारेज गरेको थियो । हाल हिरासतमा रहेका तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका मध्य केन्द्रिय कमाण्डका इन्चार्ज सुदर्शनले पार्टी निर्णयविरुद्ध अराजकता मच्याएको, सुचना चुहाएको, पार्टी नेतृत्वविरुद्ध सामाजिक सञ्जालहरूमा भ्रामक समाचार दिएको लगायतका आरोप लगाउँदै कमल बुढालगायतलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेका थिए । निष्काशनमा परेकाहरूले पार्टी र क्रान्तिमा क्षति पुऱ्याउने देखेपछि नेपाल कम्युनिस्ट पार्टीले पत्रकार सङ्गठनको नाम परिवर्तन गरि जनपत्रकार सङ्गठन गठन गरेको थियो ।