काङ्ग्रेस कार्यसमिति बैठकमा घेराबन्दीमा पर्दै देउवा

काङ्ग्रेस कार्यसमिति बैठकमा घेराबन्दीमा पर्दै देउवा


विचार पुनस्र्थापनाप्रति उदासीन रहेको नेपाली काङ्ग्रेस कम्युनिस्ट सरकारप्रतिको जनअसन्तुष्टिलाई ‘क्यास’ गर्दै साङ्गठनिक गतिविधि बढाउन लागिपरेको छ । नयाँ वर्षको शुरुवातसँगै जनजागरण अभियानका नाममा कार्यकर्ता जागरण अभियान चलाएको काङ्ग्रेसले गत साता अभियानमा खटिएका प्रतिनिधिहरूको भेला गरी उनीहरूको सुझाव पनि सङ्कलन गरेको छ ।

अब यही असार २२ गतेदेखि काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक हुने भएको छ र, बैठकले साङ्गठनिक दृष्टिले केही महत्वपूर्ण विषयमा टुङ्गो लगाउने बुझिएको छ । उक्त बैठकले पार्टीको नियमावली पारित गर्ने निश्चित भएको छ । बैठकमा पार्टीको आन्तरिक संरचनाहरूबारे पनि व्यापक छलफल गरी निर्णय लिइने भएको छ ।

काङ्ग्रेसको नयाँ विधानमा केही सङ्क्रमणकालीन प्रावधान राखिएको छ । हालको वडा, गाउँ, नगर र जिल्ला समितिहरू तेह्रौँ महाधिवेशनबाट चयन भएका हुन् । तिनै समितिहरूलाई मिलाएर आगामी महाधिवेशनसम्म काम चलाउने या सम्मेलनमार्फत नयाँ समितिहरू गठन गर्ने भन्ने विषयको निर्णय काङ्ग्रेसको आगामी बैठकले गर्ने भएको छ ।

तेह्रौँ महाधिवेशनबाट निर्मित समितिहरूलाई मान्यता दिने, त्यसैलाई मिलाएर लैजाने भन्ने पक्षमा अधिकांश नेताहरू छन् भने पार्टीका एकथरी नेताहरूचाहिँ अब महाधिवेशनमा जानुपर्छ र गाउँ अधिवेशन शुरु गरिनुपर्छ भन्ने धारणा राख्दछन् । सभापति शेरबहादुर देउवामाथि महाधिवेशन टार्न खोजेको र आफ्नो कार्यकाल लम्ब्याउन प्रयास गरेको आरोप लागेको छ । देउवामाथि यस्तो आरोप लगाउनेहरूले गाउँ–नगर अधिवेशन शुरु गरेर नयाँ समितिहरू निर्माण गर्नुपर्ने धारणा बनाएका छन् । यस विषयलाई लिएर काङ्ग्रेस बैठकमा निकै चर्काचर्की पर्ने सम्भवना रहेको छ ।

यसै विषयलाई लिएर एकथरी नेताहरूले बैठकमा देउवालाई घेराबन्दी गर्ने योजना बनाएको पनि बुझिएको छ । आगामी बैठकले पार्टीको भ्रातृ सङ्गठनहरूको विवाद सुल्झाउने, अधिवेशन गराउने या तदर्थ समितिहरूको गठनबारे पनि निर्णय लिने भएको छ । साङ्गठनिक दृष्टिले अत्यन्त महत्व राख्ने यस बैठकमा नेताहरूबीच उत्पन्न हुन सक्ने टक्कर र मतभिन्नताले काङ्ग्रेसको आन्तरिक जीवनमा तनाव बढाउने सम्भावना देखिएको छ ।