के सहमतिमा होला एनआरएनए बेल्जियमको आगामी नेतृत्व ?

के सहमतिमा होला एनआरएनए बेल्जियमको आगामी नेतृत्व ?


■ डिल्लीराम अम्माई

‘यदि राम्रो परिस्थिति बन्यो भने हामीले जित्छौँ’– सबै संगठनहरूको ‘कफी गफ’को निचोड यत्ति हो । जहिले पनि यस्तै कहिन्छ तर हुन्छ अर्कै ! ‘राम्रो परिस्थिति’ भन्ने कुरा भनेर हुने हैन ब्यवहारमा प्रयोग गरेर देखाउने कुरा हो । अहिलेसम्मका प्रयासलाई हेर्दा त्यो त्यति सहज देखिएको छैन र बेल्जियमभित्र रहेका संघ–संगठनहरूको गतिविधि र रवैयालाई हेर्दा अबको परिस्थिति पनि सहमतिको लागि सहज हुने देखिँदैन ।

नेपालमा ठुला बाम दल मिलेका छन्, त्यसैको प्रभावस्वरुप बेल्जियममा पनि दुई ठुला बाम संगठन भौतिक रुपमा एक भएका छन् । त्यसैले बेल्जियममा रहेका उनीहरूका भातृ संगठनमा देखिएका अन्तरविरोधहरूलाई चुनावी माहोलमा मजाले जमाउन सके भने अहिले एनआरएनए बेल्जियमको अध्यक्ष जित्ने सम्भावना तिनकै बढी छ । तर भर्खरै एक भएका बाम संगठनहरूको भित्री–बाहिरी जुँगाको लडाइँलाई नियालेर हेर्दा सामुहिक निर्णयलाई मान्ने र कार्यान्वयनमा लैजाने संकल्पहरू सुकेको च्याउ जस्तो खुम्चिएको देखिन्छ ।

ब्याक्तिगत ‘जुँगाको सिँगौरीले आफ्नै जुँगामा खोइरो लाग्ने हो’ भन्ने जान्दाजान्दै पनि एनआरएनएको भूमरीमा यी संगठनहरूले ब्यक्तिगत इगो बोकेर हिँड्नु दुखदायी कुरो हो । भलै भोलि यो प्रवृत्तिलाई सम्बन्धित संगठनको नेतृत्वले हल गर्ला वा गर्दै जाला र संगठनभित्रको मजबुत एकताले एनआरएन नेतृत्व जित्ने परिस्थिति बन्ला । यदि त्यो दिशातर्फ उनीहरू गए भने बामहरूका लागि त्यो सुखद हुनेछ । तर अहिले त दृश्य सन्तोष गर्न लायक देखिँदैन ।

यदि चुनाव जित्ने हो वा सहमतिको पहलकदमी आफ्नो हातमा लिने हो भने यी बामपन्थीहरूले असीम त्यागसहित आफूलाई तयार गर्न अब ढिला गर्नु हुँदैन । किनकि एनआरएनए बेल्जियमको चुनाव ढोकाअगाडि आइसकेको छ । त्यसलाई तात्कालिक रुपमा भए पनि समाधान गर्न ढिलाई गर्नु भनेको प्रगतिशील खेमाको लागि आफ्नो खुट्टामा बन्चरो हान्नु जस्तै हो ।

बाम खेमाबाट चित्र सुवेदी, अर्जुन गुरुङ, गङ्गा शर्मामध्ये एक र साझा सहमतिको सूत्राधारको रुपमा बहालवाला अध्यक्ष लोक दाहाल एनआरएनए बेल्जियमको नेतृत्वमा आउन सक्ने चर्चा चलेको छ । नेतृत्वमा जो आए पनि जित्ने सम्भावनाको मुख्य सूत्र संगठनभित्रकै जनमत र सन्तुलित एकता नै हो । कार्यकर्ताबीचको मजबुत एकता र संकल्पित नेतृत्वबिना जित असम्भव छ । त्यसपछि जित्नाको लागि सहायक हतियार भनेको जनसम्पर्क समितिभित्रको फुट र उनीहरूको गुणस्तरहीन रणनीतिबीच खेल्न सक्नुलाई मानिएला ।

अहिलेसम्म बनेका सदस्य संख्याको निराशापुर्ण अवस्थालाई हेर्दा अझै पनि यसै हुन्छ भन्न सकिने अवस्था छैन । यदि जनसम्पर्क समितिभित्र जेलिएको अन्तरविरोध समाधान भयो र एक भए भने उनीहरूको उम्मेदवार पनि कमजोर हुँदैन । जित्ने सम्भावना उनीहरूको पनि उत्तिकै रहन्छ । जनसम्पर्कवालाका हालसम्म देखिएका ससक्त उम्मेदवारहरूमा सुवास जोशी, कमल पन्थी, अनुजा प्रधान लगायत नै चर्चामा ल्याइएका छन् । आफूलाई स्वतन्त्र जस्तै देखाउन प्रयत्नशील प्रजातान्त्रिक खेमाका अर्का सशक्त उम्मेदवार पदम गुरुङको पनि अध्यक्षमा उठ्ने ब्यापक चर्चा छ । उनीहरूको बीच जुनखालका अन्तरविरोधहरू छन् त्यसलाई मिलाउन हम्मे–हम्मे पर्ने उनीहरूले नै बताउँदै आएका छन् । तर नेतृत्वले असीम त्यागसहित प्रयास गर्ने हो भने आन्तरिक अन्तरविरोध समाधान गर्ने कार्य असम्भव भने छैन ।

विपरीत रणनीति :

बेल्जियममा आम सहमतिको सम्भावना हुँदैनभएको हैन, सहमतिको सम्भावना छ । तर राजनैतिक संगठनबीचको प्रतिस्पर्धा सन्तुलित हुँदाहुँदै पनि यहाँ रहेका ठुला संगठनभित्र बुझिनसक्नुका गुट–उपगुट झाङ्गिँदो अवस्थामा छन् । ब्यक्तिगत इगोबाट जन्मिएका यिनै उपगुटहरूको कारणले नेतृत्वलाई निर्णयमा पुग्न र निर्णय भैहाले पनि कार्यान्वयनमा जान बाधा उत्पन्न गरिरहेको छ ।

जनसम्पर्क खेमामा त झन् आफ्नो इमानदार कार्यकर्तालाई अर्को खेमाको कुनै एकले पदको लागि प्रस्ताव गऱ्यो भने पनि शङ्का गर्ने अवस्था छ । भन्नैपर्छ, ‘गुट हाबी हुनुहुन्न’ भन्नेहरू नै स्वार्थवश बनेका गुटको हर्ताकर्ता छन् । त्यसैले संगठनभित्रको मुख्य समस्या उनीहरूका कार्यकर्तामा हैन नेतृत्वमा देखिन्छ । यो अवस्थामा सबैले मानेका न्युट्रल नेतृत्वले कसैको प्रस्ताव लग्यो भने वा जनसम्पर्क समितिको सामुहिक समर्थनमा बनेको उम्मेदवार आइहाल्यो भने त्यसले बाजी मार्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।

जनसम्पर्क समिति समर्थित साझा उम्मेदवारले जित्नको लागि, एकीकृत बनेको बाम खेमाको अन्तरविरोधमा मजाले खेल्न सक्नुपर्छ, चुनाव जितिन्छ भन्नेहरू पनि छन् । आफ्नो जितको मुख्य आधार बाहिर–बाहिर खोज्नु कदापि जायज हैन । बाहिरको कमजोरीमा खेल्न सक्नु राम्रो हो तर जित्नाको लागि आन्तरिक एकता मजबुत बनाइनु नै मुख्य कुरा हुन्छ । ध्रुवीकृत बाम खेमामा विगतदेखिका अन्तरविरोधहरू समाधान हुने दिशातर्फ गए, प्रतिष्पर्धी खेमाले आफ्नो एकतालाई मजबुत बनाउन सकेन र प्रतिष्पर्धी खेमाको उम्मेदवारलाई हेरेर ‘जस्तालाई तस्तै’को रणनीति अक्तियार गरे भने प्रगतिशील उम्मेदवारले जित्ने सम्भावना प्रवल नै देखिन्छ ।

त्यसमा जनजातिको रणनीतिले पनि भूमिका खेल्ने छ । त्यसैले महिलाको प्रतिष्पर्धी महिला, जनजातिको प्रतिष्पर्धी जनजाति र अन्यको प्रतिस्पर्धी अन्य भयो भने सबैका मत सबैतिर बाँडिने सम्भावना बढी हुन्छ । सहमति नहुने परिस्थिति बन्यो भने खेल सायद यसरी नै जाने सम्भावना प्रबल रहला ।

सहमतिको सम्भावना :

एनआरएनए बेल्जियमको चुनावमा सहमतिको सम्भावना नै छैन भन्न सकिँदैन । तर उम्मेदवारहरूको चाहना, संगठनभित्रका अन्तरविरोध र आन्तरिक गुट–उपगुटहरूको कारण सहमतिको सम्भावना उच्च छ भनेर दाबी नगर्दा हुन्छ । एउटै संगठनभित्रका गुटहरूबीच कटु अवस्था यथावत छ । जनसम्पर्क समितिभित्रको विगत एक दशकदेखिको झगडा मिलाउने प्रयत्नहरू नभएका हैनन् तर ती सबै प्रयत्नहरूमा सधैजसो चिसो पानी पोखिँदै आएको छ । मिल्ला कि जस्तो हुन्छ तर अर्को कुनाबाट एउटा किच्चडको फोहरा निस्कन्छ र सम्हाल्नै मुस्किल हुने गरी सबैलाई निथ्रुक्क पार्छ । विगतको त्यो अवस्थाले गर्दा एकीकृत उम्मेदवारमा सहमति भैहाले पनि उसमाथि फेरि पनि अन्तर्घात नहोला भन्ने अवस्था रहेन ।

यता केही समयअघि एकता भएको बाम खेमामा उनीहरूले नस्विकारे पनि गुट–उपगुटरुपी समस्याहरू देखिएका छन् । एकतापछि उनीहरू धेरै बलिया भएको देखिए पनि आन्तरिक इगोको कारण कार्यकर्ताहरू दुई–तीन धारमा विभक्त देखिएका छन् । बामहरूले आफ्ना यी आन्तरिक समस्या समाधानको दिशामा लागे भने उनीहरूले यही अवस्थामा जनसम्पर्कको अध्यक्ष उम्मेदवारमा सहमति हुने अवस्था देखिँदैन । ‘एकीकृत शक्ति भएकोले हामीले अध्यक्ष पाउनुपर्छ’ भन्ने उनीहरूको अन्तसम्म जिकीर रहनेछ । अतः सहमतिको लागि पनि प्रजातान्त्रिक खेमाले आफ्ना घरभित्रका आन्तरिक समाधान गरी एकताबद्ध रुपमा प्रस्तुत हुन आवश्यक देखिन्छ ।

अर्कोतिर प्रगतिशील खेमाको अवस्था पनि झण्डै त्यही हो । सहमति नै हुने हो भने दुवै पक्षले ‘गोला थुतौँ’ भन्न सक्ने अवस्था आउनुपर्छ । अर्थात सांगठनिक सन्तुलन झन्डै बराबरी जस्तै हुनुपर्छ जसले मनोवैज्ञानिक रुपमा दुवै पक्षलाई असुरक्षित महसुस होस् ।

एक खेमाबाट यदि जनसम्पर्क समिति समर्थित साझा उम्मेदवार सुवास जोशी भैहाले भने उनको लागि मात्र अन्तिम सहमतिको बार्गेनिङ सम्भावना उत्तिकै छ । उनी एकपटक अध्यक्षमा हारेको उम्मेदवार भएकोले सर्वसाधारणहरूबाट सहानुभूति पाउने सम्भावना रहे पनि बामहरूले यो अवस्थामा उनलाई समर्थन गर्ने कुराले बामहरूको नेतृत्वलाई धरापमा पार्छ भन्नेहरू पनि छन् । त्यो अवस्थामा अर्को समूह स्वतन्त्र उमेदवारीको तयारीमा जाने सम्भावनालाई नकार्न सकिँदैन । समस्या यहीँनेर हुने देखिएको स्थितिले चुनावको आमन्त्रण गर्ने नै प्रवल सम्भावना छ ।

फेरि पनि जनसम्पर्क समितिको घर झगडा मिल्यो भने र बामहरूले निर्विवाद रुपमा अध्यक्षको उम्मेदवारलाई टुङ्गो लगाउन सके भने तात्कालीक शक्ति सन्तुलनले सहमतिको लागि सकारात्मक मोड लिने कुरालाई नकार्न चाहिँ सकिँदैन । किनकि त्यसपछि जित्नाको लागि दुवै पक्षले कठिन प्रतिस्पर्धाको सामना गर्नुपर्ने हुन सक्छ र जित्ने पूर्ण विश्वास दुवै पक्षलाई हुँदैन । हो, त्यही बिन्दुमा सहमतिको लागि निर्णायक वार्ताले सार्थकता पाउने सम्भावना रहन्छ । अन्यथा गुट–उपगुटहरूको जालो नच्यातीकन गरिने सहमतिको वार्ता केवल कफी गफ मात्र हो ।