रुकुम (पूर्व) का गाउँमा बैंक पुगेसँगै आर्थिक गतिविधिमा वृद्धि

रुकुम (पूर्व) का गाउँमा बैंक पुगेसँगै आर्थिक गतिविधिमा वृद्धि


तीनवटा मात्र स्थानीय तह रहेको रुकुम (पूर्व)को सबै स्थानीय तहमा बैंकका शाखा स्थापना भएका छन् । स्थानीय तहमा बैंक स्थापना भएसँगै ग्रामीण क्षेत्रका आर्थिक गतिविधि पनि बढ्न थालेको छ ।

सरकारले प्रत्येक स्थानीय तहमा बैंक पुऱ्याउने नीति अवलम्बन गरेपछि बैंकका शाखा स्थापना भएसँगै स्थानीय तहबाटै कारोबार गर्न सजिलो भएको छ । भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले भने, ‘बैंक स्थापना भएसँगै बैंकिङ कारोबार गर्न सजिलो हुनाका साथै ग्रामीण अर्थतन्त्रमा पनि सुधार हुँदै गएको छ ।’ गाउँपालिका भरको ८० प्रतिशत काम बैंकबाटै हुने गरेको र गाउँपालिकामा बाँकी रहेका काम सदरमुकाम रुकुमकोट तथा अन्य क्षेत्रबाट पनि हुँदै आएको उनले बताए ।

विगतमा चेतनाको अभावका कारण सर्वसाधारणले बैंकिङ प्रणाली झन्झटिलो मान्दै आएकामा त्यसलाई अन्त्य गरी विश्वसनीय एवं चुस्त बनाउन बैंकले सहजीकरण गर्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठको भनाइ थियो । गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता बैंकबाटै लिन अनिवार्य बनाइएपछि वृद्धभत्ता र अपांगता भएका व्यक्तिलाई घरघरमा पुगेर बैंकले सेवा पुऱ्याउँदै आएको छ भने वित्तीय सुशासनमा समेत सहयोग पुगेको उनले जानकारी दिए ।

प्रदेश नम्बर ५ को एक मात्र हिमाली तथा विकट जिल्ला रुकुम (पूर्व)को तीनवटै स्थानीय तहमा बैंकको शाखा स्थापना भएपछि स्थानीय तह, विद्यालय, उपभोक्ता समिति, सहकारी संस्थालगायतको वित्तीय सुशासन एवं आर्थिक पारदर्शी बनाउन उल्लेख्य सहयोग पुग्दै आएको छ ।

स्थानीय तहमा खुलेका बैंकले कृषि कर्जामा दिएको प्राथमिकताबाट ग्रामीण भेगमा कृषि क्षेत्रको विकासमा सुधार, लगानी वृद्धि र व्यावसायिक कृषिको वातावरण बनाएको बताइएको छ । भौगोलिक दृष्टिकोणले विकट क्षेत्र रुकुम(पश्चिममा)मा भने पर्याप्त मात्रामा बैंक स्थापना हुन सकेको छैन । एक गाउँबाट अर्को गाउँ पुग्न पनि एकदेखि दुई दिनसम्म लाग्ने ठाउँका बासिन्दा भने अझै पनि बैंकको पहुँचबाट टाढा छन् ।

जिल्लाको सिस्ने गाउँपालिकामा नेपाल बैंक लिमिटेड, वाणिज्य बैंक, प्रभु बैंक, भूमे गाउँपालिकामा सिटिजन बैंक र पुथा उत्तरगंगा गाउँपालिकामा सिद्धार्थ बैंकका शाखा स्थापना भएका हुन् ।

रासस