अबोध पाखण्डी र नम्र पाखण्ड





■ स्वयम्भूनाथ कार्की

हिप्पोक्रेट अर्थात् पाखण्डी अबोध हुने अनि हिप्पोक्रेसी अर्थात् पाखण्ड नम्र हुने कुरा विरोेधाभाषी हुन्, तर असम्भव भने होइनन् । अन्त कतै यस्तो अपूर्र्व संगम देख्न–भोग्न पाइन्छ कि पाइन्न त्यो त थाहा भएन, तर मेरो समाजमा, मेरो मुलुकमा अबोध पाखण्डीहरूको बाहुल्य छ जो आफू पाखण्डी भएको पत्तै पाउँदैनन् । त्यस्तै अनेकौँ नम्र पाखण्ड छन् जसलाई उन्नत व्यवहार, उच्च सभ्यता भनेर अपनाउन लालयित हुने गरिन्छ । यसको अर्थ यो होइन कि मेरो परिवेशमा अबोधबाहेकका पाखण्डी छैनन् र अस्वीकृत योग्य पाखण्ड छैन । तर, यी कुराहरू सर्वसाधारणमा छैनन् ।

अमूर्त कुरा धेरै भयो त्यसैले केही यस्ता अबोध पाखण्डी र नम्र पाखण्डका उदाहरणहरू हेरौँ । हुनत यस्ता उदाहरणमा सीधै आफूतर्फ लक्षित भनेर आरोप लाग्न सक्छ, किनभने यस्ता स्वभाव धेरथोर हामी सबैमा छ । त्यसैले एक अबोध पाखण्ड मेरो पनि कि ‘यो मेरो कल्पना हो वास्तविक होइन, कसैसँग मेल खाएमा संयोग मात्र हुनेछ’ । यो कानुनी रूपमा कुनै कारबाहीबाट बच्न गरिने नम्र पाखण्ड हो र यो घोषणा सत्य होइन भनेर जान्दाजान्दैै आफूले सामना गर्नुपर्ने सम्भावित कठिनाइबाट बच्ने मेरो प्रयत्न अबोध पाखण्ड हो । जानेर नै प्रहार गरिसकेपछि त्यो भूलवश भएको भनेर क्षमा माग्नु अबोध पाखण्ड नै हो । अनि क्षमा दिएर अझ बारम्बार क्षमा दिएर आफू उदार भएको महसुस गर्नु पनि अबोध पाखण्ड नै हो । गल्ती गर्नेभन्दा क्षमा दिने ठूलो हुन्छ भन्ने उक्तिअनुसार आफूलाई ठूलो बनाउने पाखण्ड ।

तर, यहाँ यस्ता झिनामसिना पाखण्डको कुरा उठान गर्न खोजेको होइन । यस्ता कुराले कसैलाई खासै हानि पनि गर्दैनन् । तर, आफू मात्र सही भनेर गरिने कति काम, कति व्यवहारहरू यही अबोध पाखण्डभित्र पर्छन् त्यसले भने समाजमा, व्यक्तिमा नकारात्मकता फैलाउँछन् । यस्तो नकारात्मकताले व्यक्ति वा समाजको हानि गर्दछ । तर, जो यो पाखण्ड देखाउँछ ऊ भने आफूले व्यक्ति, समाज वा विश्वलाई नै ठूलो योगदान गरेको भ्रममा हुन्छ । उसले कसैको आत्मसम्मानमा प्रहार गरिरहेको हुन्छ, कसैको आस्थामा प्रहार गरिरहेको हुन्छ । तर, त्यसमा आफूले गल्ती गरेको महुुस गर्दैन, उल्टो ऊ उल्लेखनीय काम गरेको भ्रममा रहन्छ ।

धेरै मान्छेहरू खै यो मुलुकमा मुलुकको भलो सोच्ने इमानदार भेटिएनन् । यस्तो कुरा गर्ने लाखौँ भेटिन्छन्, के उनीहरू आफूलाई पनि मुलुकको भलो नसोच्ने बेइमान ठान्छन् ? पक्कै होइन । उनीहरूले यसो भन्दा उनको भित्र रहेको पाखण्डले भनिरहेको हुन्छ ‘मबाहेक’ । अब आफूलाई मुलुकको भलो सोच्ने इमानदार ठान्ने जब लाखौँ छन् भने कसरी भेटिएनन् । आपसमा एकले अर्काको अस्तित्व स्वीकार गर्नेबित्तिकै त लाखौँ इमानदार भेटिन्छन् । तर, यो गर्न उनीहरूभित्र भएको अबोध पाखण्डले दिँदैन । आफू पाखण्डी भएको पत्तो पनि पाउँदैनन् । कोही आफूबाहेक अरू सबैलाई घमण्डी देख्छन् । त्योभन्दा ठूलो घमण्ड अर्को के होला ? अनि आफ्नो घमण्ड नदेख्ने अबोध पाखण्ड नभए के हो त ? यस्ता पाखण्डले जनमानसमा निराशा फैलाउँछ र सामजलाई पक्षघात हुन्छ ।

एकपटक म बसमा कतै जाँदै थिएँ । एक महिला बच्चा च्यापेर बसमा चढिन् । बसमा बस्ने ठाउँ थिएन । उनी उभिएको स्थाननेरको सिटमा एक युवक बसेको थियो । ऊ भन्दै थियो, ‘बिचरी यिनलाई कति कष्ट भयो, कसैले सिट दिए पनि हुन्थ्यो ।’ यो कुरामा कसैले ध्यान दिएन, किनभने ऊ आफैं ती महिलालाई सिट दिन समर्थ थियो । उसले यही कुरा दशौँपल्ट भनिरह्यो । मलाई असह्य भयो, तीन सिट पछाडि बसेको मैले उनलाई बोलाएर आफ्नो सिट दिएँ । अनि ऊ शेखी बघार्न लाग्यो– ‘देख्नुभयो त मैले कति सहायता गरेँ ।’ यो उसको अबोध पाखण्डको नमुना हो । त्यसैले हेर्नुस्, कतै तपाईं पनि यस्तै पाखण्डको सिकार त हुनुभएको छैन ? म त फेरि पाखण्डी भएँ, अर्थात् यो अर्तीजस्तो लाग्ने कुरा लेखेर ठूलो पल्टिन खोजेँ ।

प्रतिक्रिया