महाधिवेशनले नेकपाको मार्गदर्शक सिद्धान्तको टुङ्गो लगाउँछ : मन्त्री ज्ञवाली

महाधिवेशनले नेकपाको मार्गदर्शक सिद्धान्तको टुङ्गो लगाउँछ : मन्त्री ज्ञवाली


परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले अवलम्बन गर्ने सिद्धान्तका विषयमा कुनै विवाद नरहेको बताएका छन् । मदन भण्डारी बौद्धिक मञ्चले आयोजना गरेको ‘समाजवादउन्मुख अर्थ व्यवस्था, आजको आवश्यकता’ विषयको गोष्ठीमा उनले पार्टीको अबको महाधिवेशनले मार्गदर्शक सिद्धान्तका बारेमा टुङ्गो लगाउने बताए ।

नेकपाको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ वा ‘जनताको जनवाद’ विषयमा विवाद बढिरहेको भन्ने खबर आइरहेका बेला मन्त्री ज्ञवालीले सिद्धान्तका कारणले नेकपामा कुनै समस्या नआउने बताए । उनले पार्टीमा कुनै वैचारिक अन्योलता नरहेको जिकिर गर्दै कम्युनिष्ट अन्दोलनका विषयमा कुनै प्रश्न आएमा उत्तर खोज्न तयार रहनुपर्ने बताए ।

उनले मदन भण्डारीले प्रतिपादन गरेको जबजको सिद्धान्तका कारण सङ्कटमा पर्दै गइरहेको कम्युनिष्ट आन्दोलनले सार्थकता पाउन सकेको बताए । ‘मदन भण्डारीले अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलनका कमजोरीलाई समेत औँँल्याउन सफल भए’, उनले भने, ‘माक्र्सवादको सिद्धान्तलाई सिर्जनात्मक ढङ्गले विकास र प्रयोग गर्नमा जोड दियो ।’ नेकपाका स्थायी समिति सदस्यसमेत रहेका ज्ञवालीले भण्डारीकै नीति र सिद्धान्त अवलम्बन गरेकै कारण नेपालमा कम्युनिष्ट पार्टीको लोकप्रियता उच्च रहेको बताए ।

‘बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थाका कारण आज नेपालमा दुई तिहाइको कम्युष्टि सरकार निर्माण भएको छ’, उनले भने, ‘क्रान्ति र हिंसा कम्युनिष्ट पार्टीको पर्यावाची शब्द हुन नसक्ने कुरामा भण्डारी सधैँ दृढ रहे ।’ शान्तिपूर्ण राजनीतिक प्रणालीलाई अवलम्बन गरेकै कारण देश कम्युनिष्टमय बनी दुई तिहाइको सरकार निर्माण भएको उनले बताए । उनले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकता भई एउटै विशाल पार्टी बन्नुमा पनि भण्डारीको सिद्धान्तले काम गरेको बताए । उनले अब बन्ने समाजवाद नेपालको परिवेश अनुकूल लोकतान्त्रिक विशेषतायुक्त हुने बताए ।

मन्त्री ज्ञवालीले सरकारले प्रभावकारी ढङ्गले कार्यसम्पादन गरिरहेको दाबी गरे । ‘सरकार गठन हुँदा सङ्घीयताले खुट्टा टेक्ने अवस्था थिएन’, उनले भने, ‘६० वटा कानून निर्माण भइसकेका छन्, आधारभूतरुपमा सरकारले काम गरिरहेको छ ।’ उनले राष्ट्रिय पूँजी निर्माण कमजोर रहेका कारण खर्च धान्न सरकारलाई हम्मेहम्मे परिरहेको बताए । उहाँले स्रोतसाधन नहुँदा अर्थतन्त्रमा छ मिलियन डलरको अभाव रहेको बताए । ज्ञवालीले सरकारले ७.१ प्रतिशतले आर्थिक वृद्धि दर हासिल गरेको जानकारी दिँदै प्रतिकूलताका बाबजुद पनि अपेक्षित प्रगति हासिल गर्न सफल भएको बताए ।