इलामका बाउन्न चिया उद्योग बन्द

इलामका बाउन्न चिया उद्योग बन्द


स्थानीय तहले निर्धारण गरेको चियाको मापदण्डअनुसार आफूहरूले किसानले उत्पादन गरेको चिया किन्दा घाटा हुने भन्दै इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग नै बन्द गरेका छन् ।

नगरपालिकाको मापदण्डअनुसार आफूहरूले चिया किनेमा चियामा करोडौँ घाटा हुने भन्दै ‘सूर्योदय टी प्रोडक्सन’मा आबद्ध ५२ चिया उद्योग बन्द भएका हुन् । नगरपालिकाले लागू गरेको कार्यविधिमा किसानको चियाकोे कम्तीमा प्रतिकिलो ४० रुपैयाँ दिनुपर्ने मापदण्ड आफूहरूलाई मान्य नहुने भन्दै उद्योगीले विरोधस्वरूप उद्योग बन्द गरेका हुन् ।

नगरपालिकाको मापदण्डमा चियाको मूल्य प्रतिकिलो ४० रुपैयाँ नघटाई किसानलाई दिनुपर्ने भए पनि उद्योगीले सबै सिजनको चिया त्यो मापदण्डमा दिन नसकिने भन्दै आपत्ति जनाएका हुन् । सूर्योदय टी एसोसिएसनका सचिव गोपाल कट्टेलले ने, ‘सिजनको राम्रो चियालाई हामीले ४० मात्रै होइन ५० भन्दा माथि पनि प्रतिकेजी दिएका हौँ, तर कुनै सिजनको चिया साह्रै थोरै मूल्यको मात्र हुन्छ, त्यो चियालाई त कसरी ४० रुपैयाँ दिनु र ?’

उनका अनुसार अहिले चियाको गुणस्तर र बजार समस्याका कारण पनि किसानको चियाको उचित मूल्य दिन नसकिएको हो । किसानले उत्पादन गरेको चियाको उद्योगले किनिदिनैपर्ने समस्याले पनि कम गुणस्तरको चिया पनि लिनुपर्नाले तोकिएको मापदण्डअनुसार मूल्य दिन नसकिएको हो ।

‘हामी अहिले चियाको बजार अभाव झेलिरहेका छौँ । यो अवस्थामा तयारी चिया भारत पु¥याउन पनि धेरै समय लाग्छ अनि कष्ट पनि । तैपनि किसानको चियाको मूल्य दिएकै छौँ,’ सचिव कट्टेलले भने, ‘स्थानीय तह, संघसंस्था सबै मिलेर चियाको बजार खोज्नुपर्ने बेला आएको छ । हामी उद्योगीले मात्र कहाँ चियाको बजार धान्न सक्छौँ ।’

चियाको मापदण्डअनुसार आफूहरूले मूल्य दिने तर तोकिएको मापदण्डअनुसार मूल्य दिन नसकिने भएकाले चिया उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको एसोसिएसनमा आबद्ध उद्योगीको भनाइ छ । नगरपालिकाले कुनै पनि हिसाबले चियाकिसान मारमा पर्न नहुने बताएको छ । नगरले चियासम्बन्धी मापदण्ड सबै पक्षसँगको छलफल र परामर्शबाटै आएकाले किसाले तोकिएको मूल्य पाउनुपर्ने नगरपालिकाको भनाइ छ ।

रासस