गुट्खामा चुरोटको स्टिकर टाँसेर राजस्व छली, साढे ८७ करोडको विगो दाविसहित मुद्दा

गुट्खामा चुरोटको स्टिकर टाँसेर राजस्व छली, साढे ८७ करोडको विगो दाविसहित मुद्दा


उद्योगी र व्यवसायीले चुरोटको अन्तशुल्क स्टिकर गुट्खामा टाँसेर राजस्व छली गरेको पाइएको छ । राजस्व अनुसन्धान विभागले लुम्बिनी पान मसला तथा सुर्ती गुट्खा उद्योग र त्यसका उत्पादन बिक्री गर्ने व्यापारीविरुद्ध ८७ करोड ५५ लाख रुपैयाँ विगो दाविसहित नक्कली स्टिकर टाँसेर राजस्व छलीको आरोपमा मुद्दा दर्ता गरेको हो ।

लुम्बिनी पान मसला तथा सुर्ती गुट्खा उद्योगले पानकिङ्ग ब्राण्डको सूर्तिजन्य गुट्खामा नक्कली स्टीकर प्रयोग गरी वितरक तथा थोक बिक्रेतासमेतको मिलेमतोमा राजश्व चुहावट गरेकोल रु २९ करोड १८ लाख ५८ हजार बिगो र सोको दोब्बर जरिवानासमेत गरी रु ८७ करोड ५५ लाख ७४ हजार असुल गरी तीन वर्षसम्मको कैद माग दाबी लिई सञ्चालकविरुद्ध बारा जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

उद्योगका सञ्चालक अब्दुल्लाह मुसलमानविरुद्ध अन्तःशुल्क लाग्ने वस्तुमा अन्तःशुल्क टिकट टाँस नगरी तथा नक्कली अन्तःशुल्क टिकट लगाइ अन्तःशुल्क लगायतका अन्य कर छली राजश्व चुहावट गरेको दाबीसहित बिगोको दोब्बर कायम गरी रु ३३ करोड ६ लाख जरिवाना र तीन वर्ष कैद सजाय माग गरिएको छ ।

उता, सोही कार्यमा संलग्न न्यू पश्चिमाञ्चल ट्रेडर्स सञ्चालक मोहम्मद रेहानलाई बिगो र जरिवानासहित रु दुई करोड २९ लाख तथा साइन ट्रेडर्स सञ्चालक भरत अधिकारीलाई रु दुई करोड ३६ लाख बिगो र जरिवाना तथा तीन वर्ष कैद सजायको माग दाबीसहित बारा जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।