झरना र लोकेन्द्रको गफ- राजन घिमिरे

झरना र लोकेन्द्रको गफ- राजन घिमिरे


‘धाकभन्दा धक्कु ठूलो हिँड्न लाग्यो खुट्टा लुलो…’ यो उखान अहिले चरितार्थ हुन्छ एक समयका नायक लोकेन कार्की अनि नायिका झरना बज्राचार्यको कलाकारिता यात्रामा । कलाकार कम तर व्यापारी बढी उनी लोकेन नै हुन् तर, नेपाली सिनेमा क्षेत्रको बारेमा अरूभन्दा आफू नै बढी जानकार भएको गफ दिन्छन् लोकेन । लाग्छ, नेपाली सिनेमालाई नजिकबाट जानेका, चिनेका र बुझेका उनी नै हुन् । एकपटक त लोकेनले कम्तीमा पनि एक करोड रुपैयाँ काठमाडौंबाटै उठाउने गफ दिएछन् । ‘मैले बनाएको चलचित्र शासकले थोरैमा पनि एक करोड रुपैयाँ काठमाडौंबाट उठाउने छ,’ लोकेनले यसै भनेछन् ।
पचास लाख लगानी भएको चलचित्रले काठमाडौंबाट पाँच लाख उठाउन नसक्दा टाउकोमा हात राखेर विस्थापित हुने अवस्थामा पुगेका निर्माताहरूले लोकेनको कुरा सुने भने उनलाई के गर्लान् ती पीडित निर्माताले ? निकै ठूला गफ, हल्ला र सानका साथ आफ्नो उपस्थिति जनाउने लोकेन आफैंले निर्माण गरेको चलचित्र ‘शासन’ पनि पाँच वर्ष भइसक्यो बजारमा आउन सकेको छैन । अरूहरूको सिनेमाको बारेमा प्रतिक्रिया दिँदै जाने र सल्लाह बाँड्ने लोकेनले बरु आफ्नै सिनेमा बजारमा ल्याएर देखाएमा राम्रो हुन्थ्यो कि भन्ने सल्लाह उल्टै उनलाई दिन थालेका छन् अन्य चलचित्रकर्मीहरूले ।
यसैगरी हातमा काम छैन तर गफ र कुरा बढी गर्ने नायिकामा पर्छिन् झरना बज्राचार्य । घाँटी हेरेर हाड निल्दा राम्रो हुन्छ भन्ने भनाइ उनले आफ्नो जीवनमा कहिले पनि लागू गर्न सकिनन् । यस कारणले पनि आज झरना उनीभन्दा जुनियर नायिकाभन्दा पछि परेकी छिन् । एउटी सफल नायिकामा हुनुपर्ने सबै गुण उनमा छ तर एउटै गुणको अभाव झरनामा सधैं खड्किरह्यो- त्यो हो बजार हरेर पारिश्रमिक नमाग्ने । उनीहरू आफैंलाई थाहा छ कि नेपालमा कुनै पनि नायिकाको नामले फिल्म चल्दैन । तर, झरना नायकले भन्दा बढी पारिश्रमिक माग्ने गर्छिन् । ठीक छ, पारिश्रमिक माग्न पाउनु उनको अधिकार हो । तर, अधिकार माग्दा उनले थुप्रै सिनेमाबाट हात धुनुपरेको छ । ‘मैले खेलेको चलचित्र रामै्र हुन्छ र सफल हुन्छ पनि । त्यसकारण मैले आफ्नो पारिश्रमिकहरूको निर्धारण त गर्न पाउनुपर्‍यो नि होइन र ?’ उनको तर्क छ । यसरी पारिश्रमिकको मामिलामा अगाडि देखिएकी झरना लामो समयदेखि पारिश्रमिकमा नै अल्झिरहेकी छिन् तर काम भने अरू नायिकहरूले पाइरहेका छन् ।

सबैको आशा यिनीतिर
केकीलाई देख्ने जोकोही पनि उनको सौर्न्दर्यताको बखान गरेर थाक्दैनन् । समकालीन म्युजिक भिडियोका मोडलहरूको भीडमा बढी व्यस्त केकी अधिकारी यस्ता भिडियोका निर्देशक एवम् निर्माताको पहिलो छनोटमा पर्ने मोडल हुन् ।
झट्ट हेर्दा कुनै सामान्य परिवारबाट मोडलिङ क्षेत्रमा आएकी जस्तो लाग्ने केकीको रगतमा नै अभिनय थियो भन्दा फरक नपर्ला । नेपाली सिनेमा र कलाकारिता क्षेत्रमा नै आफ्नो सम्पूर्ण जीवन बिताउन लागिसकेका निर्देशक बद्री अधिकारीकी छोरी केकी अधिकारी अब भिडियोबाट क्रमश: चलचित्रतिर पनि प्रवेश गर्न थालेकी छिन् ।
केकीलाई पहिलोपटक दर्शकहरूले टेलिभिजन स्त्रिmनमा ‘क्लोज अफ’ टुथपेस्टको विज्ञापनमा हेरेका हुन् । पहिलोपटक सोही विज्ञापनमार्फत बजारमा छाएकी उनले पहिलो स्त्रिनको प्रवेशमा नै सबैको मन जितिन् र आज विज्ञापन हुँदै म्युजिक भिडियो र ठूलो पर्दाको चलचित्रमा पनि आफ्नो उपस्थिति जनाइसकेकी छिन् उनले । केही भाग त उनले एबीसी टेलिभिजनबाट प्रसारण हुने एउटा सांगीतिक कार्यक्रममा पनि उद्घोषिकाको रूपमा आफूलाई प्रस्तुत गरेकी थिइन् ।
स्वर नामक चलचित्र केकी अधिकारीले अभिनय गरेको चलचित्र हो । विशेष गरेर नृत्य र अनुहारको हाउभाउले दर्शक तानेकी छिन् उनले । त्यसो त चलचित्र र म्युजिक भिडियोमा चाहिने क्षमता पनि यिनै हुन् । उचाइले भने उनी थोरै मारमा परेकोजस्तो लागे तापनि आकर्षक अनुहार र मिल्दो जिउडालले यो कमजोरीलाई छोपेको छ ।
थोरै उमेरमा नाम र दाम कमाउन सफल उनी दामको कुरा गर्दा भने अलि लजाउँछिन् । ‘यतिबेला दामको कुरा नगरौँ । म दामका लागि होइन, पहिले त नामकै लागि अगाडि लागेकी छु । राम्रो काम गरेपछि नाम भइहाल्छ र नाम भएपछि दाम कमाइहालिन्छ नि,’ उनको तर्क छ । केही अवसर र काम पाउनासाथ दामको पछि लागियो भने भोलि त्यो दिगो नहुने विचारकी केकी अधिकारीले नेपाली मोडलिङ र चलचित्र क्षेत्रको बारेमा निकै बुझेकी रहिछिन् र संयमित अनि सजगताका साथ अगाडि बढेकी छिन् भन्दा फरक नपर्ला ।

ओरालोतिर धीरेन
‘कसैलाई खातैखात कसैको रित्तो हात’ यतिबेला नायक धीरेन शाक्य आफ्ना साथीभाइसँग यसै भन्ने गर्छन् ।
कुनै समय नायक भनेपछि उनको नाम आउँथ्यो पहिलो नम्बरमा । तर, आज उनलाई चलचित्र उद्योग र चलचित्रकर्मी सबैले बिर्सन लागिसके । एक समय थियो कि धीरेन नायक राजेश हमालको भन्दा बढी पारिश्रमिक लिने नायकमा पर्थे तर आज कम चलचित्र मात्र होइन थोरैभन्दा पनि अति थोरै पारिश्रमिकमा अभिनय गर्न बाध्य छन् उनी ।
त्यसो त चलचित्रमा काम पाउन पनि उनका लागि ठूलै युद्ध जित्नुजस्तै भएको छ अहिले । राजेश हमाललाई गाली गरेमा माथि पुगिन्छ र ‘वाहवाही’ हुन्छ भन्ने गलत भ्रमका साथ हमाललाई गाली गर्न अगाडि बढेका धीरेन अहिले सबैभन्दा पछि छन् । पहिल्लो जानकारीअनुसार उनले एउटा चलचित्र पाएका छन्- भन्नै सकिनँ । चिरञ्जीवी बस्नेतको यो चलचित्रमा धीरेनले लिएको पारिश्रमिक सुन्दा सबै हाँस्छन् । सो चलचित्रको युनिटले दिएको जानकारीअनुसार धीरेनले भन्नै सकिनँबाट बीस हजार पारिश्रमिक पाएका थिए । ‘यतिबेला त उनले फिल्म पाउनु पनि ठूलो कुरा हो, त्यसमाथि पारिश्रमिक पनि त पाएका छन् नि,’ उक्त चलचित्रका अर्का एक सदस्यले बताए ।
धीरेन शाक्य पनि नायक थिए रे † भन्ने अवस्थामा आइपुगेका धीरेन अहिले भने लोकगीततिर खेल्न थालेका छन् । कुनै बेला त उनी ‘लोकगीतमा पनि के खेल्नु’ भन्दै लोकगीतको अवहेलना गर्थे तर आज लोकगीत नै उनका लागि टेलिभिजनमा देखापर्ने राम्रो माध्यम बनेको छ । ‘त्यसैले धीरेनजी कहिलेकाहीँ… पुछेको ढुङ्गा पनि काम लाग्छ’ भनेको यही हो’ यस्तै भयो छ धीरेनको बारेमा चलचित्र क्षेत्रमा ।
सिनेमातिर अफर आए तापनि धीरेनलाई नायकमा होइन खलनायक वा नायिकाको दाजु एवम् नायकको दाजु वा त्यस्तै चारित्रिक भूमिकाबाट मात्र अफर आउने गरेको छ । आफ्नो अवस्था यस्तो भएपछि उनी भन्न थालेका छन्, ‘कलाकार भएपछि भूमिकाप्रति यो र ऊ भनेर छुट्याउन मिल्दैन ।’

सलमानप्रति दिपीका किन हुरुक्कै
पहिलोपटक नै बलिवुड सुपुरस्टार शाहरूख खानसँग काम गरेकी र पहिलो फिल्म ‘ओम शान्ति ओम’ बाटै आफ्नो प्रतिभा परिचय दिएकी बलिवुड नायिका दिपीका पादुकोषलाई नचिन्ने सिनेप्रेमी सायद कोही होलान् । तर, यस्तो ‘ग्ल्यामर गर्ल’ पनि केही पुरुषविशेषसँग नजिक हुनका लागि व्यग्र बन्नुपरेको छ भन्ने सुन्नुपर्दा उदेक लाग्न सक्छ । तर, यो यथार्थ हो कि उनी अर्का बलिवुड सुपरस्टार सलमान खानसँग काम गर्नका लागि जेसुकै गर्न तयार रहेको ‘मुड’ मा छिन् यतिबेला । उमेरले पैंतालीस नाघे पनि सलमानप्रति युवतीहरूको आकर्षण कायमै रहेको त यसबाट बुझिन्छ नै तर के दिपीकाजस्ती २३ वर्षीया सुन्दर र प्रतिभावान युवतीलाई पनि सफलताका लागि कुनै चल्तीको हिरोको सहारा नै चाहिएको हो त भन्ने सवाल पनि यसबाट जन्मिएको छ । कि पहिलो प्रेमी रणवीर कपुरले धोका दिएकाबाट रन्थनिएकी दिपीकाले रणवीरलाई तड्पाउनकै निम्ति सलमानको नजिक हुन चाहेकी हुन् ? बलिउडमा यतिबेला यस्तै गाइँगुइँ चल्न थालेको छ ।

देश-विदेशका नौजनालाई नइ पुरस्कार
नइ प्रकाशनका मानार्थ सदस्य तथा पुरस्कार संस्थापक खनुपरुदे ‘रामबाबु’ले काठमाडौंमा आयोजित एक समारोहमाझ नेपाल राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रका नौजना महानुभावलाई २०६७ सालको विभिन्न पुरस्कार प्रदान गर्नुभयो ।
खनुपरुदे ‘रामबाबु’ले तीन लाख रुपैयाँ राशिको नइ देरुख अन्तर्राष्ट्रिय पुरस्कार पाकिस्तानकी प्रा.डा. ताहिरा निगत नैयरलाई प्रदान गर्नुभएको छ । उहाँलाई सो पुरस्कार साहित्य र शिक्षा सेवामा समर्पित भएबापत प्रदान गरिएको हो । यसैगरी नेपाली वाङ्मयको श्रीवृद्धिका लागि निरन्तर जागरुक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएबापत दुई लाख रुपैयाँ राशिको नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार भारतका इन्द्रबहादुर राईलाई प्रदान गरिएको छ ।
त्यस्तै प्रा.डा. भीष्मराज प्रर्साईं र प्रा.डा. भगवान कोइरालालाई संयुक्त रूपमा एक लाख रुपैयाँ राशिको ‘नइ खरा सुकीर्ति पुरस्कार’ प्रदान गरिएको छ । उहाँहरूलाई चिकित्सा क्षेत्रमा निस्वार्थ रूपमा समर्पित हुँदै अन्तर्राष्ट्रियस्तरको समेत सेवा प्रदान गरेर नेपालको प्रतिष्ठा बढाउनमा महत्वपूर्ण योगदान गरेबापत सो पुरस्कार प्रदान गरिएको हो ।
त्यसैगरी इतिहासकार चित्तरञ्जन नेपाली र प्रा.डा. उषा ठाकुरलाई जनही पचास हजार रुपैयाँ राशिको ‘नइ खरा प्रदीप्ति पुरस्कार’ प्रदान गरिएको छ । नेपालीलाई नेपाली भाषाको श्रीवृद्धिमा महत्वपूरर््ण्ा योगदान दिँदै नेपालको इतिहासलेखनको आधिकारिकता कायम गरेर गौरवमय ऐतिहासिक गाथालाई लिपिबद्ध गरी संरक्षण र सर्म्बर्द्धन गरेबापत र प्रा.डा. ठाकुरलाई शिक्षासेवा तथा नेपाली भाषासाहित्यको साधनामा समर्पित रहँदै समालोचना, निबन्ध, कविता आदि विधामा योगदानका निम्ति सो पुरस्कार प्रदान गरिएको हो । समाजसेवाको क्षेत्रमा मन, वचन र कर्मले समर्पित हुँदै नारी जागरणका क्षेत्रमा उल्लेखनीय र महिमाशाली योगदान पुर्‍याउनुहुने श्रीमती लिली थापालाई पच्चीस हजार रुपैयाँ राशिको ‘नइ खरा गौरव पुरस्कार’ प्रदान गरिएको छ भने जनही पन्ध्र हजार रुपैयाँ राशिको ‘नइ खरा पौरख पुरस्कार’ डा. होसिम प्रर्साईं थापा र कुशल केसीलाई प्रदान गरिएको छ । शैक्षिक यात्राका क्रममा कक्षा एकदेखि एमबीबीएससम्म प्रथम हुनुका साथै भाग लिएका जुनसुकै अतिरिक्त क्रियाकलापमा समेत सधैं उत्कृष्ट स्थान प्राप्त गर्नुहुने अद्वितीय प्रतिभा डा. होसिमलाई र किशोरभावना, जोस र शक्तिलाई वैज्ञानिकीकरणमा केन्द्रित गर्दै सोलार मोटरको निर्माण गरेर देश-देशान्तरमा नेपालको इज्जत बढाउनुहुने कुशल केसीलाई सो पुरस्कार प्रदान गरिएको हो । नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसार्इंको सभापतित्व र काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. सुरेशराज शर्माको प्रमुख आतिथ्यमा सञ्चालित सो समारोहलाई पाकिस्तानका राजदूत सयाद अब्रर हुसेनले सम्बोधन गर्नुभएको थियो ।
समारोहमा माओवादी नेता तथा संविधानसभाका सदस्य नन्दकुमार प्रर्साईं, नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति वैरागी काइँला, उपकुलपति गंगाप्रसाद उप्रेती, सत्यमोहन जोशी, सुरेशजग शाह, नइ प्रकाशनका उपाध्यक्ष प्रा.डा. रामप्रसाद उप्रेती र सदस्यसचिव नरेन्द्रराज प्रसार्इंले मन्तव्य प्रकट गर्नुभएको थियो ।