प्रधानमन्त्री नभएको मौका पारेर किन सुटुक्क आए ट्रम्पका विशेष दूत ?

प्रधानमन्त्री नभएको मौका पारेर किन सुटुक्क आए ट्रम्पका विशेष दूत ?


नेपालका कतिपय कम्युनिस्ट नेताहरू उत्तर कोरियाको कनेक्सनमा भएको बुझिएपछि संयुक्त राज्य अमेरिका असन्तुष्ट बनेको जानकारी प्राप्त भएको छ । इन्डो–प्यासिफिक कमान्डसँगको सहकार्यबारे सरकारले दोहोरो भूमिका निर्वाह गरेपछि अमेरिका वर्तमान सरकारसँग असन्तुष्ट बनेको अनेक सङ्केतहरू देखिएका छन् ।

६ महिनाअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई अमेरिका भ्रमणको निम्ता दिएर वासिङ्गटनमा भएको द्विपक्षीय छलफलमा ज्ञवालीले इन्डो–प्यासिफिक कमान्डसँग सहकार्य गर्न सकिने सैद्धान्तिक सहमति दिएका थिए । अमेरिकास्थित नेपाली राजदूत अर्जुनबहादुर कार्कीले इन्डो–प्यासिफिक कमान्डसँग सम्बन्धित कतिपय बैठकहरूमा सहभागिता जनाउने गरेको बुझिएको छ ।

यसरी सहकार्यका निम्ति नेपाल तयार रहने सङ्केत देखिएपछि अमेरिकाले ‘नेपाललाई अब आफ्नै आँखाले हेर्ने’ घोषणा गरेको थियो । तर, त्यसलगत्तै नेपाल आफैँले दिएको वचनबाट पछि हटेको महसुस अमेरिकाले गरेको छ । त्यसैले नेपाल सरकारमाथि दबाब पैदा गर्ने प्रयास यसबीचमा अमेरिकाबाट भइरहेको महसुस यहाँ गरिएको छ ।

यसैक्रममा दुई साताअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषदूत मार्क ल्याम्बर्ट (Mark Lambart) अचानक नेपाल आएर फर्किएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । विशेष विमान लिएर अप्रत्यासित रूपमा नेपाल आएका मार्कले सत्तारुढ दलका नेताहरू प्रचण्ड, माधवकुमार नेपाल, रामबहादुर थापा बादल तथा सांसद पवित्र निरौलालगायतलाई भेटेर विशेष वार्तालाप गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा रहेको समय पारेर नेपाल आएका मार्कले काठमाडौंमा उपलब्ध कम्युनिस्ट नेताहरूसँगको भेटमा केही गम्भीर कुराहरू बताएका छन् । उनले नेपालमा वैदेशिक लगानी आउने अवस्था नरहेको बताउँदै यदि लगानी भित्र्याउने हो भने नेपालले केही महत्वपूर्ण कदम चाल्नुपर्ने सुझाव दिएको बताइएको छ । मार्कले नेताहरूसँगको भेटमा नेपालस्थित उत्तर कोरियाली राजदूतावास बन्द गरिनुपर्ने, उत्तर कोरियाबाट नेपाल आएर व्यापारमा संलग्न व्यक्तिहरूलाई देश निकाला गर्नुपर्ने र संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को निर्णयलाई नेपालले पालना गर्नुपर्नेलगायतका अति संवेदनशील ‘सुझाव’ दिएका छन् ।

उत्तर कोरियाले विभिन्न मुलुकमा आफ्ना नागरिक परिचालन गर्दै बैंकको खाता ह्याक गरी रकमान्तर गर्ने गरेको पाइएको छ । बंगलादेशको एक बैंकबाट ८१ मिलिएन र भारतको कसमस बैंकबाट १५ मिलिएन अमेरिकी डलर रकमान्तरण गरी उत्तर कोरिया पुऱ्याइएको समाचार यसअघि नै सार्वजनिक भइसकेको छ । ज्ञातव्य छ, उत्तर कोरिया र अमेरिकाबीच संवाद शुरु भए पनि सम्बन्ध सुमधुर बन्न सकेको छैन । उत्तर कोरियाले आफ्ना नागरिकलाई लागूपदार्थको कारोबार तथा ह्याकिङमार्फत बैंकमा भएका रकम ‘लुट्ने’ गरेको प्रति अमेरिका निकै गम्भीर भएको छ । नेपालका केही कम्युनिस्ट नेताहरूको उत्तर कोरियासँग घनिष्ट सम्बन्ध रहेको विषय पनि अमेरिकाका निम्ति ‘आँखाको कसिङ्गर’ बन्न पुगेको छ ।

सत्तारुढ दलका माधवकुमार नेपाल र रामबहादुर थापा बादललगायत केही नेताहरूको उत्तर कोरियासँग राम्रो सम्बन्ध रहेको बताइन्छ । नेपालको कम्युनिस्ट सरकारले उत्तर कोरियाबारे सुरक्षा परिषद्ले लिएको निर्णय कार्यान्वयन गर्न नखोज्नुलाई अमेरिकाले गम्भीरतापूर्वक लिएको देखिन्छ । विशेष विमान लिएर अमेरिकी राष्ट्रपतिका विशेष दूतको दुई दिनका लागि नेपाल आगमन हुनु र कम्युनिस्ट नेताहरूसँग गम्भीर वार्तालाप गर्नुले पनि अमेरिकी संवेदनशीलताको सङ्केत मिलेको छ । तथापि नेपाली कम्युनिस्टहरू उत्तर कोरियाप्रति अधिक संवेदनशील रहँदै आएकोले उनीहरू उत्तर कोरियालाई बिझाउने कुनै कदम चाल्न तयार होलान् भनी विश्वास गर्न सकिने स्थिति छैन । मार्कको नेपाल आगमनबारे सरकारले अहिलेसम्म कुनै औपचारिक जानकारी गराएको छैन ।