युवतीको ‘फ्रेन्ड रिक्वेस्ट’देखि ठगीको जालसम्म…

युवतीको ‘फ्रेन्ड रिक्वेस्ट’देखि ठगीको जालसम्म…


फेसबुकमा सुन्दर र जवान युवतीको ‘फ्रेन्ड रिक्वेस्ट’ आउँदा दङ्ग परेर तत्काल अनुरोध स्वीकार गर्ने र सोचविचार नगरी सम्बन्ध अघि बढाउने पुरुषहरूको कमी छैन । यस्ता व्यक्तिले अब त्यस्ता अपरिचितको साथी बन्ने अनुरोध स्वीकार गर्नुअघि सयपटक सोच्नैपर्ने भएको छ । अपरिचित युवतीको मोहमा परेर आफूलाई लुटाउने कि संयमता अपनाएर आफ्नो जीवन, पेसा–व्यवसाय तहसनहस हुनबाट बच्ने ? निर्णय आफ्नै हातमा छ ।

गत साता प्रहरीले खुलासा गरेको एक घटनाले फेरि एकपटक यसबारे सबैलाई घचघच्याएको छ कि सामाजिक सञ्जालमार्फत हुने ठगीबाट बच्न हरेकले आफूलाई निकै सचेत बनाइराख्नु अपरिहार्य भइसकेको छ । महोत्तरीकी एक २२ वर्षीया युवतीले भारत मुम्बईका व्यापारीलाई फेसबुकमार्फत साथी बनाएर लाखौँ रकम ठगी गरेको घटना उजागर भएपछि सामाजिक सञ्जालमार्फत हुने ठगी, विकृति तथा विसङ््गतिप्रति जागरुक भई व्यवहार गर्न प्रहरीले नै आमनागरिकलाई आग्रह गरेको छ ।
महोत्तरीकी डायना स्मार्ट त थिइन् नै, फरर्र अङ्ग्रेजी बोल्ने र सोहीअनुसारको फेसन पनि गर्ने भएकीले पुरुषहरूलाई प्रभावित गर्ने पर्याप्त खुबी उनीसँग थियो । त्यसमाथि बेलाबेला दुबई आउजाउ गरिरहने हुँदा उच्चस्तरका व्यक्ति वा व्यापारी–व्यवसायीहरूलाई कसरी प्रभावित तुल्याउन र उनीहरूसँग नजिक हुन सकिन्छ भन्ने पनि उनले निकै सिकिसकेकी थिइन् ।

प्रहरीले जनाएअनुसार आफूलाई भीआईपी परिवारकी छोरी भएको भ्रम दिएर डायनाले मुम्बईका व्यवसायीबाट सजिलै २३ लाख रकम फुत्काउन सफल भएकी थिइन् । आफूले बहिनीसरह मानेर व्यवहार गरेको महिलाबाट आफू ठगीमा परेको भन्दै पीडित भारतीय व्यापारी श्रीपाल जैनले टेकुस्थित अपराध महाशाखामा उजुरी गरेपछि डायना गत शुक्रबार प्रहरीको फन्दामा परेकी हुन् । उजुरी परेकै दिन अर्थात् शुक्रबार राति उनी ललितपुरको बालकुमारीस्थित डेराबाट प्रहरीको नियन्त्रणमा पुगेकी थिइन् । डायनाले जैनसमक्ष आफूलाई उच्च घरानाकी छोरीको रूपमा प्रस्तुत गररेर विश्वास जितेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको प्रहरी बताउँछ । जैनबाट ठगी गरिएको २३ लाखमध्ये २० लाख रुपैयाँसमेत डायनाबाट प्रहरीले बरामद गरेको छ । तीन लाखचाहिँ उनले महोत्तरीस्थित आफ्नो परिवारलाई पठाउन भ्याएकी थिइन् ।

जैनको भनाइ एवम् प्रहरी अनुसन्धानबाट खुलासा भएअनुसार डायनाले करिब तीन महिनाअघि मुम्बईका व्यापारी जैनलाई फेसबुकमा साथी बन्न रिक्वेस्ट पठाएकी थिइन् । उनको प्रोफाइल पिक्चर अत्यन्त आकर्षक तथा सुन्दर थियो । दायाँबायाँ सोच्दैनसोची जैनले डायनालाई साथी स्वीकार गरेका थिए । आफू दुबईमा रहेको बेला उनले जैनलाई ‘फेसबुके जाल’ हानेकी थिइन् भने जैनचाहिँ मुम्बईस्थित आफ्नै निवासमा थिए । यसरी साथी बनेपछि जैन र डायनाबीच दिनहुँ फेसबुकमार्फत कुराकानी हुन थाल्यो । यहाँसम्म कि छिट्टै उनीहरूबीच दुबईमा भेटघाट हुने मितिसमेत तय भयो । जैन व्यावसायिक कामको बहानामा दुबई पुगे । डायनाले आफू अमेरिकाबाट पढाइ सकेर व्यवसायमा लागेको बताएकी थिइन् भने जैनले पनि आफ्नो व्यवसायबारे पूरै खुलस्त गर्न भ्याएका थिए । भेटघाट हुनुअघि नै एक–अर्काको मोबाइल नम्बरसमेत लिन भ्याएका थिए उनीहरूले । यसरी दिन दुईगुणा रात चौगुणा गरेर फस्टाएकोे मित्रताका कारण यही जुनको शुरुताक जैन डायनालाई भेट्न दुबई पुगेका थिए ।

दुबईमा डायनासँग भेटघाट भएपछि जैन थप विश्वस्त हुन पुगेका थिए । उनी साँच्चै उच्च व्यापारिक घरानाकी छोरी हुन् भन्नेमा जैनको मनमा कतै शङ्का बाँकी रहेको थिएन । डायनालाई जैनले बहिनीतुल्य माने र मुम्बईस्थित घर नै पु¥याए । श्रीमती तथा परिवारजनसँग चिनाए । केही दिन मुम्बई बसेपछि डायना जैनलाई लिएर गता साता बिहीबार मात्र काठमाडौं आएकी थिइन् । आफ्नो घरपरिवारसँग परिचय गराउने भन्दै ल्याएको भए पनि डायनाले काठमाडौं ल्याएपछि जैनमाथि ठगीको अस्त्र चलाउने सुनियोजित योजना बुनिसकेकी थिइन् । जैनलाई काठमाडौंमा साधारण होटेलमा राखेर आफू घर जाने भन्दै डायना हिँडेपछि थोरै आशङ्का जन्मेको थियो जैनको मनमा । किन घर नलगेर यस्तो सामान्य होटेलमा राखिन् भनी उनी झस्किएका थिए, तर तत्काल कुनै प्रतिक्रिया दिएका थिएनन् ।

आशङ्कैआशङ्कामा रात बितेपछि शुक्रबार बिहानै जैनलाई डायनाले फोन गरेर दुबईबाट आफ्नोे सुन आइपुगेको, तर कामविशेषले बुबा काठमाडौंबाहिर जानुभएकोले आर्थिक समस्या परेको खबर गरिन् । बुबा दुई–चार दिनमा फर्केर आएपछि सापटी फर्काउने भन्दै उनले ४० लाख रकम मागिन् । असमञ्जसमा परेका जैनले अन्कनाई–अन्कनाई भए पनि काठमाडौंकै कुनै साथीलाई गुहारेर २३ लाख रकमको जोहो गरिदिएका थिए । त्यसपछि शुक्रबार नै २३ लाख मध्ये तीन लाख मोहत्तरी घर पठाएर डायनाले जैनसँगै मुम्बई जाने गरी टिकटसमेत खरिद गरेकी थिइन् । आफूसँगै मुम्बई जान टिकट काटेको र मुम्बई पुगेर रकम फिर्ता गरिदिने भनी विश्वास दिलाएपछि उनी आश्वस्त भएका थिए ।

तर, मुम्बई जान विमानस्थल पुगेपछि जैनलाई छक्याएर डायना उम्किँदै बालकुमारी डेरा पुगेकी थिइन् । यसपछि आफू सुनियोजित ठगीमा परेको जैनले महसुस गरेका थिए । त्यसपछि उनी मुम्बईको टिकट रद्द गी टेकुतिर हानिएका थिए । सबै व्यहोरा खुलाएर उजुरी दिएपछि घटनाको गम्भीरतालाई महसुस गर्दै प्रहरी एक्सनमा गएको थियो । फलतः सोही राति डायना प्रहरीको नियन्त्रणमा परेकी थिइन् ।