जागरण अभियानका सम्बन्धमा आज अन्तरक्रिया गर्दै काङ्ग्रेस

जागरण अभियानका सम्बन्धमा आज अन्तरक्रिया गर्दै काङ्ग्रेस


नेपाली काङ्ग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को प्रथम चरणमा खटाएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग आज (बुधबार) छलफल एवं अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालयमा जागरण अभियानको प्रथम चरणका सबै केन्द्रीय प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम गर्ने जनाउँदै मुख्य सचिव कृष्णप्रसाद पौडेलले कार्यक्रममा अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरूले आफूले तयार गरेको प्रतिवेदन र अनुभवका बारेमा केन्द्रीय नेतृत्वसँग छलफल गर्ने जानकारी दिएक हुन् ।

अभियानको एक महीनामा सबै जिल्ला, क्षेत्र, गाउँ–नगर र वडास्तरमा दुई हजारभन्दा बढी बैठक, भेला, आन्तरिक सभाहरू, खुला सभा, ऱ्याली, विचार–बहसलगायत कार्यक्रम सम्पन्न भएका पार्टी कार्यालयले जनाएको छ । जागरण अभियानको प्रथम चरण गत वैशाख २५ मा प्रारम्भ भई जेठ २५ गते सम्पन्न भएको थियो ।

अभियानको दोस्रो चरण आगामी भदौ २४ गते (बिपी जयन्तीका दिन) प्रारम्भ भई असोज ७ गतेसम्म चल्ने र तेस्रो चरण आगामी पुस ७ गते प्रारम्भ भई पुस १६ गते मेलमिलाप दिवसमा समापन गरिनेछ । काङ्ग्रेसले जागरण अभियानको प्रथम चरणको समीक्षालगायत अन्य विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही असार २२ गते बोलाएको छ ।