एनआरएन सोसल क्लब (एनसीसी) ओमानको राष्ट्रिय महाधिवेशन हुँदै

एनआरएन सोसल क्लब (एनसीसी) ओमानको राष्ट्रिय महाधिवेशन हुँदै


■ आरके श्रीवास्त, ओमान

एनसीसी ओमानको पाँचौ राष्ट्रिय महाधिवेशन आगामी शुक्रबार (२८ जुन शुक्रबार) मस्कटस्थित अल फलाज होटेल दार्सेट, रुवीमा हुने भएको छ । महाधिवेशनको अन्तिम तयारी भइसकेको एनआरएन ए ओमानले जनाएको हो । २७ तारिखदेखि अन्य देशबाट पाहुनाहरू आउन शुरु गर्ने र आमन्त्रित पाहुनाहरूको भिषा प्रक्रिया लगभग सकिएको जनाइएको छ ।

२८ डिसेम्बर २००९ मा स्थापना भएको एनआरएनए ओमान २७ फेब्रुअरी २०१७ मा ओमानमा विधिवत रुपमा दर्ता भएपछि एनआरएन सोसल क्लबको रुपमा कार्यरत रहेको छ ।

संसारमा ८० वटा मुलुकमा आफ्नो सञ्जाल विस्तार गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौँ विश्व सम्मेलन नजिकिँदैछ । एनआरएनए विश्व सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुँदैछ । विधानतः विश्वसम्मेलन हुने मितिले ६ महिनाअघि र एक महिनापछि नकट्ने गरी सबै एनसीसीले महाधिवेशन गरी नयाँ समिति बनाउनुपर्ने छ र सम्मेलनको मिति नजिकिँदै गर्दा अहिले विभिन्न देशमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्ले अधिवेशन गर्दै नयाँ नेतृत्व चुनिरहेका छन् । मध्यपूर्वमा यस कार्यकालको लागि महाधिवेशन गर्ने एनसीसी ओमान पहिलो पर्न गएको हुँदा विश्वभरी रहेका एनआरएन र आईसीसी केन्द्रिय पदाधिकारीहरू ओमान आउने तयारीमा रहेका छन् ।

अहिलेसम्म एनआरएनएन आईसीसी अध्यक्ष भवन भट्ट, उपाध्यक्षहरू कुुमार पन्त, कुल आचार्य, एनआरएनएन अमेरिका क्षेत्रीय संयोजक गौरीराज जोशी, मध्यपूर्व संयोजक आरके शर्मा, एनआरएनए मध्यपूर्व सहसंयोजक गोपाल कँडेल र प्रवीण गुुरुगं, एनआरएनए आईसीसी सदस्यहरू चित्र केसी, मनोज गोर्खाली, सुदिप कार्की, जोन आर्याल, एनआरएनए बेल्जियम अध्यक्ष लोकप्रसाद दाहाल, एनआरएनए यूएई अध्यक्ष रमेश श्रेष्ठ, एनआरएनए यूके उपमहासचिव विनय अधिकारी, एनआरएनए आईसीसी सदस्य विमल सुवेदी, विनोद भट्रराई, एनआरएनए भुतपुर्व मध्यपूर्व सहसंयोजक राजु सैयद, कुवेतबाट एनआरएनए आईसीसी सदस्य अमित राई, बहराइनबाट आईसीसी सदस्य कमल श्रेष्ठ, एनआरएनए बेल्जियमबाट गोविन्द सुवेदी, बहराइनबाट दुर्गा गिरी, एनआरएन आइसीसीको सामाजिक उद्यमशीलता विकास समितिको मध्यपूर्व संयोजक अब्दुल बासिद, मध्यपूर्वका भूतपूर्व सहसंयोजक धर्मराज गिरी साथै धेरै पत्रकारहरू पनि सहभागी हुने टुङ्गो लागिसकेको एनआरएनए ओमानका अध्यक्ष दिपक श्रेष्ठले जानकारी गराएका हुन् ।

मध्यपूर्वको महत्वपूर्ण एनसीसीमध्ये ओमान पनि एक हो । हालका केन्द्रीय सचिव डिबी क्षेत्री यही एनसीसीको नेतृत्व गर्दै मध्यपूर्वको संयोजक भएर आईसीसी सचिव ओहदामा पुगेका हुन् । ओमनको अधिवेशनमा विश्वभरिका केन्द्रीय नेताहरूको हुन लागेको आवागमनलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । प्रमुख अतिथि महामहिम राजदुत शर्मिला पराजुली ढकाललाई निमन्त्रणा गरिएको छ भने सपथ ग्रहणमा मिनिस्ट्री अफ सोसल डेभलपमेन्ट अफेयरअन्तर्गत असोसिएसन एन्ड क्लब कम्मुनिटीबाट प्रथम सचिबको उपस्थिति रहने पक्कापक्की भएको छ ।

महाधिवेशनमा चुनाव समिति संयोजक पुर्ण बिके पहाडी र सहसंयोजक ओमकार तामाङ रहेका छन् । चुनाव समितिका अनुसार कुनै पनि पदमा दोहोरो उम्मेदवारी नपरेको हुनाले सर्वसम्मत मनोनयन हुने गैरआवासीय सोसल क्लब ओमानले जनाएको छ ।