मायादेवीमा प्रधानमन्त्री रोजगार कार्यक्रम

मायादेवीमा प्रधानमन्त्री रोजगार कार्यक्रम


  • दिलिपकुमार यादव, कपिलवस्तु

कपिलवस्तुस्थित मायादेवी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम आरम्भ गरिएको छ । सोमबार मायादेवी गाउँपालिका ७ बनकासिहामा पानी संरक्षणको लागि पोखरी मर्मत कार्यका साथ कार्यक्रम आरम्भ गरिएको हो ।

गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मी र वडा अध्यक्ष जनार्दन प्रसाद कुर्मीले पोखरीमा कोदालो चलाएर कार्यक्रम शुरु गरेका थिए ।

स्थानीय स्तरमा रहेका बेरोजगार युवाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी प्रदान गरिँदै छ । यस कार्यक्रमअन्तर्गत ४ सय जनाले एक महिनाको अवधिसम्म काम गर्न पाउनेछन् ।

प्रत्येक कामदारको दैनिक ५१७ रुपैयाँ ज्याला रहेको रहेको गाउँपालिका प्रशासकीय अधिकृत रामचन्द्र ढकालले बताउनुभयो । युवाहरुले मायादेवी गाउँपालिकाको मन्दिर परिसर, मैदान, कुलो, नाली, पोखरी क्षेत्रमा रही काम गर्ने छन् ।

यो कार्यक्रमले मुलुकको आवश्यकतामा रोजगारी सिर्जना गर्दै विगतमा वैदेशिक रोजगारका नाममा बाहिरिँदै गरेका नेपाली श्रमिकलाई स्वदेशमै रोजगार दिने काम सरकारले गरेको र राष्ट्रबाट ठूलो मात्रामा विदेशिने रकमलाई रोक्न समेत सहयोग पुग्ने, साथै आएको बजेटको २५ प्रतिशत रकमको आवश्यक साम्रग्री खरिद गरिएको र बाँकी रमक ज्यालास्वरुप श्रमिकहरुलाई प्रदान गरिने गाउँपालिकाका अध्यक्ष कुर्मीले बताए ।

काममा खटिएका स्थानीयका अनुसार सरकारले यो कार्यक्रमको एकमहिने रोजगारी भन्दा दीर्घकालीन योजना जनाएर निरन्तर गाउमै रोजगारी दिन सके राम्रो हुनेछ ।

गाउँमा नै रोजगारी पाएपछि स्थानीय स्तरमा बेरोजगार रही बसेकाहरु खुसी बनेका छन् ।

गाउँपालिकाको ८ वटै वडाबाट ४ सय जना बेरोजगार युवाहरुले रोजगार पाउने जनाइएको छ । पहिलो चरणमा मायादेवी गाउँपालिकाका वडा नं. ७ हरनामपुरबाट कार्यक्रमको सुरुवात गरिए पनि क्रमशः सबै वडामा पु–याउने गाँउपालिकाको रोजगर कार्यक्रम संयोजक सञ्जु गैरेले बताए ।