विप्लवको बन्दले उपत्यकासहित देशभरको जनजीवन प्रभावित

विप्लवको बन्दले उपत्यकासहित देशभरको जनजीवन प्रभावित


प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले आज मंगलबार नेपाल बन्दको आहृवान गरेको छ । आफ्नो समूहका सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा विप्लवले बन्दको आह्वान गरेको हो । बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।

काठमाडौं उपत्यकामा बिहानैदेखि बन्दको प्रभाव परेको छ । बन्दकर्ता सडकमा नदेखिए पनि बन्दको असर भने परेको हो । काठमाडौका सडकहरु अन्य दिनकोभन्दा सुनसान देखिएका छन् । निजी सवारी भने फाट्टफुट्ट चलेका छन् ।

उता, काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी साधन भने ठप्प छन् । थोरै मात्रामा सवारी उपत्यकाबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बन्दको असर शैक्षिक संस्थामा पनि
नेपाल बन्दको असर शैक्षिक संस्थाहरुमा पनि परेको छ । त्रासका कारण काठमाडौं उपत्यकाका विद्यालय तथा क्याम्पसहरुले विदा दिएको बुझिएको छ । यस्तै, सवारी आवागमनसँगै कलकारखाना लगायतका क्षेत्रमा पनि बन्दको असर परेको छ ।

ललितपुरको जावलाखेलमा प्रेसर कुकर बम
बन्दको क्रममा ललितपुरको जावलाखेल खेल मैदान अगाडि प्रेसर कुकर बम भेटिएको छ । स्थानीयमा त्रास उत्पन्न भएपछि सेनाको टोली निष्कृय पारेको छ ।

विप्लव समूहका लमजुङ सेक्रेटरी पोखरामा पक्राउ
नेत्रविक्रम चन्द (विप्लव) समूहका लमजुङका जिल्ला नेता पोखरामा पक्राउ परेका छन् । सो समूहका लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए ।

यसैबीच आज बिहान पोखरा महानगरपालिका–१४ चाउथेमा फेला परेको शङ्कास्पद वस्तुलाई डिस्पोज गरिएको प्रहरीले जनाएको छ । हिजो साँझ पनि पोखरा–४ सिद्धार्थचोकस्थित तरकारी बजार नजिक शङ्कास्पद वस्तु फेला परेको थियो ।