मौद्रिक नीति अघि नै पर्ला त ठूला बैंकबीच ‘लभ’ ?

मौद्रिक नीति अघि नै पर्ला त ठूला बैंकबीच ‘लभ’ ?


नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकहरुलाई मर्जरमा जान तयार रहन निर्देशन दिएका छन् । सोमबार मौद्रिक नीतिमार्फत बिग मर्जरको व्यवस्था गरिने भएकाले बैंकहरुलाई तयार रहन उनले यस्तो निर्देशन दिएका हुन् । यतिबेला राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०७६/७७ का लागि मौद्रिक नीति बनाउने अन्तिम तयारीमा छ ।

वित्तीय बजारमा तरलता अभाव देखिएको र यसलाई कम गर्न ‘बिग मर्जर’ आवश्यक रहेको भन्दै बजेट भाषणसँगै मर्जरको दिनगन्ती सुरु भएको उनले प्रष्ट पारे । मर्जर नीति आउन नदिन राजनीतिक लबिङ समेत भइराखेको जानकारी दिदै गभर्नर नेपालले बजेटमा व्यवस्था भइसकेकाले मर्जरलाई कसैले रोक्न नसक्ने बताए ।

बैंकर्सहरुले भने मर्जरका लागि बैंकहरु तयार रहेको तर केही नीतिगत विषयहरु मिलाउन पर्नेमा जोड दिएका छन् । बढ्दो तरलता कम गर्न बैंकर्सहरुले डिजिटल बैंकिङमा जोड दिनुपर्ने बताएका छन् । कार्यक्रममा उद्योगी व्यवसायीहरुले बैंकमा तरलता अभाव भएको र त्यसमा केन्द्रिय बैंकले चासो नदिएको आरोप लगाए । तरलता नभएको अवस्थामा जबरजस्त मर्जरमा जाने व्यवस्था गरिएमा अर्को ठुलो दुर्घटना हुन सक्ने टिप्पणी गरेका छन् ।

अहिले देखिएका अधिकांश समस्या समाधानका लागि ‘बिग मर्जर’ आवश्यक हुने भन्दै फोर्सफुल मर्जरमा जाने संकेत गभर्नर नेपालले गरेका हुन् । उनले मर्जरपछि बैंकहरुको सुचना प्रविधि बलियो हुने र तरलता अभावसँग धेरै जुध्न नपर्ने फाइदा हुने पनि स्पष्ट पारे ।

विगतमा आलोचना खेपेपनि सफल भयो राष्ट्र बैंक
राष्ट्र बैंकले विगतमा एक्कासी चार गुणा चुक्ता पुँजी बढाउने निर्णय गरेको थियो । बाध्यकारी निर्णयले बैंकहरुमा हलचल र राष्ट्र बैंकको व्यापक आलोचना गरिएपनि अनततः राष्ट्र बैंक सफल भएको थियो । यस वर्ष पनि ठूला बैंकहरुको मर्जरका लागि विशेष नीति अख्तियार गरिने राष्ट्र बैंकका अधिकारीहरुले बताउँदै गर्दा बैंकहरुमा मर्जरबारे बहस सुरु हुन थालेको हो । राष्ट्र बैंकको गोप्य स्रोतले ‘बिग मर्जर’ लाई आगामी वर्षका मौद्रिक नीतिको मूख्य आकर्षण बनाउने गरी तयारी भइरहेको बताएको छ ।

पुँजी वृद्धिको अस्त्र ‘ख’ र ‘ग’ वर्गका विकास बैंक र फाइनान्समाथि झापड
राष्ट्र बैंकको पुँजी वृद्धिको अस्त्रले ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरुमाथि गतिलो प्रहार भयो । जसका कारण ६ दर्जनको हाराहारीमा रहेका विकास बैंकहरु ३ दर्जनको वरीपरी आइपुगेका छन् । यही वरीपरीमा पुग्न लागेका फाइनान्स कम्पनीहरु १९ को संख्यामा झरेका छन् । यो संख्या पनि अझै घट्ने क्रममा छ ।

मौद्रिक नीति अघि ‘लभ’, पछि बिहे
राष्ट्र बैंक मौद्रिक नीतिको तिब्र तयारीमा छ । तयारीका बीच गभर्नर नेपालले मर्जरमा जानुपर्ने बैंक तथा वित्तिय संस्थाहरुले ‘लभ’ गर्न सुरु गर्नुपर्नेमा जोड दिएका छन् । ‘एकआपसमा लभ गर्ने भए मौद्रिक नीति अघि नै सुरु गर्दा हुन्छ ।’ उनले भने, ‘मौद्रिक नीति आएपछि त बिहे गर्नुपर्छ ।’ साङ्केतिक रुपमा भनिएको यो भनाईले केन्द्रिय बैंक जसरी पनि ठूला बैंकहरुको मर्जर गराएर बैंकहरुको संख्या घटाउने योजनामा छ ।