विप्लवपुत्र प्रकाशद्वारा स्वास्थ्य शिविर आयोजना

विप्लवपुत्र प्रकाशद्वारा स्वास्थ्य शिविर आयोजना


■ नारद कोहार,कपिलबस्तु

सरकारद्वारा प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लबको गाउँ कपिलवस्तुको शिवगढीमा उनका छोरा प्रकाश चन्दले स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।

विप्लवको पार्टीसम्बद्ध जनवर्गीय संगठन जनस्वास्थ्यकर्मी महासंघका महासचिवसमेत रहेका प्रकाश चन्दको नेतृत्वमा आयोजित स्वास्थ्य शिविरमा त्यस क्षेत्रका २ हजार ६ सय बिरामीले सेवा लिएका छन् ।

कपिलवस्तुस्थित शिवगढी नगरपालिका ३ भगवानपुरको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा असार ७ र ८ गते दुई दिन स्वास्थ्य शिविर चलाएको प्रकाशले जानकारी दिए । करिव ७ किलोमिटर परबाट समेत सेवा लिनका लागि स्थानीयहरु शिविरमा आएका उनको भनाई थियो ।

प्रकाशले जनाएअनुसार पानीमा रुझ्दै र चर्को घाममा उभिएर पनि बिरामीहरुले सेवा लिएका थिए । दुई दिनमा दुई हजार ६ सयको संख्यामा सर्वसाधारण जनता स्वास्थ्य परीक्षणका निम्ति आएका उल्लेख गर्दै यसबाट आम नागरिकमा स्वास्थ्यसम्बन्धी ठूलो समस्या रहेको पुष्टि भएको भन्दै प्रकाशले दुःख व्यक्त गरे । यसैलाई मध्यनजर गर्दै आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने प्रतिबद्धता उनले जनाए ।

प्रकाशले बताए अनुसार स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती, बालरोग, दाँतरोग, हाडजोर्नी, छाला रोग तथा यौनरोग, नाक कान घाँटी, प्रयोगशाला र भिडियो एक्सरे सेवा उपलब्ध गराइएको थियो । शिविरबाट जनतालाई थोरै भए पनि राहत महसुस गराउन खोजेको उनले बताए । सो गाउँमा एउटा मात्रै स्वास्थ्य चौकी रहेको छ ।

अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको पहल र शहिद स्मृति प्रतिष्ठानको आयोजनामा आयोजित शिविरमा विप्लवका छोरा प्रकाशसहित १९ जना स्वास्थ्यकर्मीहरु जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउन खटिएका थिए । पुरानो मेडिकल कलेज भरतपुरबाट १९ जना स्वास्थ्यकर्मी शिविरमा गएका थिए ।

ज्ञातव्य छ, अर्थोसर्जरी विषयमा चितवन मेडिकल कलेजमा एमबीबीएसको पढाइ सकेका प्रकाश यतिबेला प्रशिक्षार्थी चिकित्सकका रुपमा काम गरिरहेका छन् ।