२४ घन्टाका लागि विदेशी च्यानलका प्रसारण बन्द

२४ घन्टाका लागि विदेशी च्यानलका प्रसारण बन्द


सरकारले विदेशी च्यानलमा विज्ञापन देखाउन नपाइने व्यवस्था (क्लिन फिड) लागू गर्न खोजेको भन्दै यसको विरोधस्वरूप केबल टेलिभिजन व्यवसायीले नेपालमा प्रसारण हुने विदेशी च्यानल २४ घन्टाका लागि बन्द गरेका छन् ।

सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मका लागि विदेशी च्यानलको प्रसारण बन्द गरिएको उनीहरूले जनाएका छन् । केबल टीभी व्यवसायी महासंघ र इन्टरनेट सेवा प्रदायकहरूको संलग्नतामा गठन भएको इन्टरनेट तथा डिजिटल समन्वय समितिले सूचना जारी गर्दै सो कुरा जनाएको हो ।

सरकारले राष्ट्रिय सभामा दर्ता गरेको विज्ञापनसम्बन्धी विधेयकमा क्लिन फिड लागू गर्ने र विदेशी विज्ञापनलाई डबिङ गरी नेपाली भाषामा प्रसारण गर्न नपाइने व्यवस्था राखेपछि यसको विरोधस्वरूप २४ घन्टाका लागि विदेशी च्यानल बन्द गरिएको उनीहरूको भनाइ छ ।

नेपालमा प्रसारण हुने विदेशी च्यानल क्लिन फिड लागू भए सञ्चालन गर्न नसकिने इन्टरनेट तथा डिजिटल समन्वय समितिले जनाएको छ ।