मन्त्रालयकै त्रुटिले रक्षाका ११३ कर्मचारी अन्योलमा

मन्त्रालयकै त्रुटिले रक्षाका ११३ कर्मचारी अन्योलमा


रक्षा मन्त्रालयले संगठनात्मक स्वरूप निर्धारण (ओएण्डएम) बनाउँदा गरेको त्रुटिका कारण ११३ कर्मचारी अहिले अन्योलमा परेका छन् ।

मन्त्रालयले संगठन संरचना निर्माणका बेला नेपाली सेनाका विभिन्न १७ वटा एकाइमा रही विशेष सेवा दिइरहेका निजामती सेवाकै कर्मचारीलाई बेवास्ता गरिएका कारण मन्त्रालयमातहतकै केही कर्मचारीलाई समस्या आएको विभागीय कार्यसमिति रक्षा मन्त्रालयका अध्यक्ष पूर्णकान्त घिमिरेले जानकारी दिए ।

मन्त्रालयको सांगठनिक संरचनामा नपरेपछि अन्योलमा परेका कर्मचारी पछिल्लो समय दैनिक रूपमा मन्त्रालयमा आएर हारगुहार गरिरहेको उनी बताउँछन् । सांगठनिक संरचना बनाउँदा सिंहदरबारस्थित मन्त्रालयको मात्र दरबन्दी र पदस्थापनलाई नहेरिएका कारण ती कर्मचारी मर्कामा परेका हुन् ।

सैनिक मुख्यालयदेखि गठ्ठाघर, सुन्दरीजल, स्वयम्भू बारुदखानालगायतका ब्यारेकमा प्राविधिक (जोखिमपूर्ण) कामका लागि भनी १३६ जनाको दरबन्दी कायम गरिएकोमा हाल उक्त दरबन्दीमा ११३ जना निजामती कार्यरत छन् । उनीहरू प्रशासन, शिक्षा र प्राविधिक सेवाका जनशक्ति हुन् ।
‘संगठन संरचना बनाउँदा हामीले बिर्सियौँ अब तिमीहरू जहाँ जान्छौ जाओ भनेर मन्त्रालयले भन्नु भएन, हाम्रो दरबन्दी संघअन्तर्गत छ, हामीलाई विषयविज्ञका रूपमा खटाएर काम लगाइएको छ, सेनाले पनि हाम्रो माग गरिरहेको छ,’ सुन्दरीजल आर्सनलका मेकानिकल सुपरभाइजर वसन्त थापा भन्छन् । ती ११३ मध्ये एकतिहाइ महिला कर्मचारी छन् । कार्यालय समय शुरु हुनासाथ मन्त्रालयको कोठाकोठा पुगेर गुनासो पोख्ने र ढोका ढकढक्याउने अहिले उनीहरूको दैनिकी बनेको छ ।

०७५ मा संगठन संरचना बनाइए पनि उनीहरूको अभिलेख निजामती किताबखाना पठाउन छुट भएको मन्त्रालयले स्वीकार गरेको छ । पछिल्लो कर्मचारी समायोजनमा पनि उनीहरूलाई नसमेटिएको बुझिएको छ ।

‘गत चैतअघि भएको संगठन संरचनामा उहाँहरूको छुटेको छ, फेरि गरेर अर्थ र सामान्य मन्त्रालयमा पठाएका छाँै, सचिव तहमा पनि यसलाई कसरी छिटो व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ, उप्रधानमन्त्री एवं रक्षामन्त्रीबाट समेत यो विषयलाई छिटो निष्कर्षमा पु¥याउन चासो व्यक्त भएको छ,’ रक्षा मन्त्रालयका प्रवक्ता बाबुराम गौतमले भने । पछिल्लो संगठन संरचनाले रक्षा मन्त्रालयको दरबन्दी सय कायम गरे पनि हाल ६३ जना कार्यरत रहेको बुझिएको छ ।