सदस्यसचिवको चारवर्षे कार्यकाल समाप्त हुँदै

सदस्यसचिवको चारवर्षे कार्यकाल समाप्त हुँदै


राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केसवकुमार विष्टको चारवर्षे कार्यकाल आज (९ असार) सकिँदैछ । विष्टको चारवर्षे कार्यकाल सकिन केहि घण्टा मात्रै बाँकी रहेको अवस्थामा समेत राष्ट्रिय खेलकुद परिषदले उनको विदाइका लागि कुनै कार्यक्रमको तयारी गरेको छैन । यतिबेलासम्म पनि विष्ट आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को समीक्षा बैठकमा व्यस्त रहेका बुझिएको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव आफ्नो कार्यकाल समाप्त हुनुअघि लामो समय विदा बस्ने र खेलकुदको कार्यमा निस्कृय हुने गर्छन् । सदस्यसचिवको कार्यकाल ६ महिना बाँकी रहँदा राखेपका कर्मचारीले अटेर गर्ने र सदस्यसचिवलाई उपेक्षा गर्ने चलन खेलकुदको परम्परा नै हो ।

तर यो पटक सदस्यसचिव विष्टको कार्यकाल सकिन केही घण्टा बाँकी रहँदासमेत राखेपका कर्मचारीहरूले ‘चुँ’समेत गरेका छैनन् । उल्टै अन्तिम समयमा समेत सदस्यसचिव गर्ने हरेक कार्यमा होस्टेमा हैंसे गरिरहेका छन् । आखिर किन त ? यसको पछाडि ठूलो रहस्य लुकेको अनुमान गर्न सकिन्छ ।

प्राप्त जानकारीअनुसार यतिबेलासम्म विष्टले खेलकुदमा सक्रियता देखाउनु केसवकुमार विष्ट नै पुनः राखेपको सदस्यसचिव भएर आउन लागेको अनुमान लगाउन सकिन्छ । अहिले प्रायःजसो खेलकुदका कर्मचारी, पदाधिकारी र खेलाडीहरुको अनुमान पनि यस्तै छ । विष्ट नै दोहरिएर आउने सम्भावना प्रबल भएकोले कर्मचारीहरुले पनि मौनता साँधेको हुन् भन्दा अन्यथा नहोला ।

अहिले राखेपको सदस्यसचिवको लागि दर्जनौं आकांक्षीले सिंहदरबारदेखि बालुवाटारसम्म दौडाहा गरिरहेको कसैबाट छिपेको छैन । सकेसम्म आफु हुने नसके आफुले चाहेको व्यक्तिलाई सदस्यसचिव बनाउने कसरतमा अहिले थुुप्रै आकांक्षीहरू लागेका छन् ।

यस्तो अवस्थामा आफ्नो कार्यकालको अन्तिम घण्टामा समेत विष्ट ढुक्क भएर खेलकुदको विकास र विस्तारको कार्यमा लाग्नुले खेलकुदमा विदाई र स्वागत विष्टकै हुने प्रबल सम्भावना देखिएको छ । तर यो नेपालको खेलकुद हो, यहाँ कति राजनीति हाबी छ, त्यो सबैले बुझेका छन् । भोलि विष्टभन्दा अर्कै व्यक्ति राखेपको सदस्यसचिव भएर आएमा पनि अन्यथा मानिने छैन ।