‘एनसीसी बैंक’ र ‘आइएमई पे’बीच सम्झौता

‘एनसीसी बैंक’ र ‘आइएमई पे’बीच सम्झौता


आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र एनसीसी बैंकबीच बैंकिङ साझेदारसम्बन्धी सम्झौता भएको छ । दुई पक्षबीच हस्ताक्षरित सम्झौता पत्रअनुसार एनसीसी बैंक लिमिटेड आइएमई पेको बैंकिङ साझेदार संस्था हुनेछ । अब एनसीसी बैंकका खातावाहक सेवाग्राहीले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरूको भुक्तानी गर्न सक्नेछन् ।

काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रमका बीच ‘आइएमई पे’का तर्फबाट महाप्रबन्धक खिलेन्द्र पौडेल र एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

झन्डै २० हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आईएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको र आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी भएको सम्बद्ध पक्षको दाबी छ ।

आईएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत् विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा ‘क्युआर’मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्ने जनाकारी दिइएको छ । आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको बताइएको छ ।