पूर्वको विद्युत माग २ सय मेगावाट पुग्यो

पूर्वको विद्युत माग २ सय मेगावाट पुग्यो


गर्मी बढेपछि नेपालको पूर्वी क्षेत्रको विद्युत खपत पनि ह्वात्तै बढेको छ । विशेष गरी तराईका जिल्लामा गर्मीबाट जोगिने विद्युतीय उपकरणको प्रयोग बढेपछि माग बढ्न गएको हो ।

गर्मी बढेसँगै एसी, कुलर, फ्रिजलगायत विद्युतीय उपकरणको प्रयोग बढ्दा विद्युतको माग बढेर २ सय मेगावाट नाघेको नेपाल विद्युत प्राधिकरण दुहबी ग्रिड शाखाले जनाएको छ । शाखाका अनुसार हिउँदमा यस क्षेत्रको विद्युत माग करिब १ सय ३० मेगावाट मात्रै थियो ।

अहिले पूर्वी क्षेत्रमा भारतबाट १ सय ८८ मेगावाट विद्युत आयात गरेर माग व्यवस्थापन गरिएको र बाँकी माग निजी क्षेत्रले निर्माण गरेका जलविद्युतगृहबाट उत्पादन हुने विद्युतबाट परिपूर्ति हुँदै आएको शाखाले जनाएको छ । यस क्षेत्रमा खपत हुने विद्युत १३२ केभी कुशाहा–कटैया प्रसारण लाइनबाट आइरहेको छ । प्राधिकरणले यो विन्दुबाट अहिले १ सय ३० मेगावाट विद्युत आयात गरिरहेको छ । करिब ५८ मेगावाट विद्युत ढल्केबर–मुजफ्फरपुर लाइनको विद्युत पनि दुहबी ग्रिडमा पुग्छ ।