१८ सय ट्याङ्करले पेट्रोलियम पद्धार्थ बोक्न नपाउने

१८ सय ट्याङ्करले पेट्रोलियम पद्धार्थ बोक्न नपाउने


मूल्य अभिवृद्धि कर (भ्याट)मा आवद्ध एकसय वटा ट्याङ्करलाई मात्रै प्रडक्ट डेलिभरी अर्डर (पीडीओ) जारी गर्ने नेपाल आयल निगमको तयारी छ । सरकारले ढुवानीमा भ्याट लगाएपछि त्यसको कार्यान्वयन गर्नुपर्ने भन्दै यस्तो तयारी थालिएको हो ।

निगमको प्रडक्ट डेलिभरी अर्डर जारी गर्ने तयारीले भ्याटमा आवद्ध नभएका अन्य १ हजार ८ सय पेट्रोलियम ट्याङकर व्यवसायीमा खैलाबैला सुरु भएको छ । अहिले निगमसँग १ हजार ९ सय ट्याङ्कर आवद्ध छन् । दैनिक एक हजार ९ सय ओटा ट्याङ्करले नियमित तेल ढुवानी गर्दा देशको मागलाई सहजै सम्बोधन गर्न नसकिरहेका बेला अबका दिनमा एक सय ट्याङ्करले मात्रै तेल ढुवानी गर्दा आवश्यक माग सम्बोधन हुनेमा निगमकै कर्मचारी शंका ब्यक्त गर्छन् । निगम स्रोतका अनुसार आइतबार अर्थात असार ८ गतेसम्म एकसय ट्याङ्कर मात्रै भ्याटमा दर्ता छन् ।

निगमले असार १२ गतेसम्म सबै ट्याङ्कर व्यवसायीलाई भ्याटमा जान अनुरोध गर्दै आएको छ । तर अब ४ दिनमात्रै बाँकी रहँदा अन्य १ हजार ८ सय ट्याङ्कर भ्याटमा दर्ता हुन असम्भव भएको निगमका कर्मचारीको भनाई छ ।

यता, निगमका प्रवन्ध निर्देशक सुरेन्द्र पौडेलले पनि सरकारले ल्याएको भ्याटलाई निगमले कुनैपनि हालतमा कार्यान्वयन गर्ने बताएका छन् । ‘हामी असार १२ गतेदेखि प्रडक्ट डेलिभरी अर्डर (पीडीओ) कार्यान्वयनमा ल्याउँछौं ।’ उनि भन्छन्, ‘४ दिनमा भ्याटमा आबद्ध हुनेलाई पनि समेट्छौं ’

उनले व्यवसायीको सबै माग पूरा भएकोले अन्य विषयमा सहयोग गर्न निगम तयार भएपनि भ्याटमा भने कुनै ‘कम्प्रमाइज’ नगर्ने बताउँदै आएका छन् । उता, ढुवानी व्यवसायी भने तत्काल भ्याटमा जान नसक्ने बताउँछन् । उनिहरुले यदि सरकारले जबरजस्ती गरे, ट्याङ्करको चाबी सरकारलाई नै बुझाउने बताउँदै आएका छन् ।