नेपालमा हुने भयो अर्कों सुन्दरी प्रतियोगिता

नेपालमा हुने भयो अर्कों सुन्दरी प्रतियोगिता


■ राजन घिमिरे

नेपालमा सुन्दरी प्रतियोगिता आयोजनाको श्रृङ्खला लामै छ । यस्ताखाले प्रतियोगिताको आयोजनाले लोकप्रियता पनि पाइरहेका छन् । विशेष गरेर युवा पुस्तामाझ राम्रो छवि बनाइरहेको यस्ता प्रतियागितामा अर्कों एक थपिने भएको छ । नयाँ सुन्दरी प्रतियोगिताको नाम हो– ‘मिस ग्राण्ड इन्टरनेशनल ।’
भेनेजुएलामा आयोजना हुने ‘मिस ग्राण्ड इन्टरनेसनल २०१९’ का लागि नेपाली प्रतिनिधि खोज्ने उद्देश्यले ‘मिस ग्राण्ड नेपाल २०१९’ आयोजना हुने भएको छ । बलि क्लब ग्रुपले बलिउड शो–डाउन कम्पनीमार्फत नेपालमा पहिलोपटक यो प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै शो–डाउन कम्पनीले प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको छ । प्रतियोगितामा १७ देखि २७ वर्षसम्मका न्युनतम ५ फिट ५ इन्च उचाई भएका नेपाली युवतीले मात्र सहभागिता जनाउन पाउने प्रावधान राखिएको छ ।

प्रतियोगिताको लागि धरान, धनगढी, चितवन, पोखरा, काठमाडौं लगायत स्थानबाट अडिसनमार्फत २५ प्रतियोगी छानिने छन् । २० दिनको आन्तरिक ग्रुमिङ कक्षालगायत विभिन्न तालिमसहित प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धामा उतारिने आयोजक कम्पनीका निर्देशक ह्यानसन गौचनले बताए । मिस ग्राण्ड इन्टरनेसनलको नेपाल निर्देशक सुरेश तामाङ रहेका छन् ।

प्रतियोगितामा सहभागीका लागि कुनै पनि शुल्क नलाग्ने कार्यक्रममा आयोजकले जानकारी दिएको छ । प्रतियोगिताका लागि आवेदन फाराम अनलाइन www.missgrandnepal.com मार्फत भर्न सकिने जनाइएको छ ।

प्रतियोगिताका विजेताले केही समयपछि भेनेजुएलामा आयोजना हुने ‘मिस ग्राण्ड इन्टरनेसनल २०१९’ नेपालको प्रतिनिधित्व गर्न पाउनुका साथै विभिन्न उपहार समेत जित्न सक्ने मिस ग्राण्ड इन्टरनेशनलको नेपाल निर्देशक सुरेश तामाङले बताए ।