मातृभूमिको सेवा हाम्रो अभीष्ट

मातृभूमिको सेवा हाम्रो अभीष्ट



प्रजातन्त्रको पुनर्स्थापनासँगै नेपालमा अभिव्यक्ति तथा प्रकाशन स्वतन्त्रताले मौलिक अधिकारको हैसियत पायो । २०४७ सालको संविधानले प्रकाशन तथा अभिव्यक्ति स्वतन्त्रतालाई नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरेपछि स्वतन्त्रताको अलग माहोल सिर्जना हुन पुग्यो भने व्यावसायिक पत्रकारिताको लागि सो परिवेश अनुकूल रहेको अनुुभूति हुनु अस्वाभाविक थिएन । त्यसबेलासम्म राज्यनियन्त्रित पत्रकारिताको एक धार थियो जसले वास्तविक अर्थमा पत्रकारिताको कर्तव्य निर्वाह गर्न सकेको ठानिँदैनथ्यो भने अर्को धार मूलतः प्रजातान्त्रिक परिपाटी स्थापनाको निम्ति ‘मिसन’को रूपमा चल्दै आएको थियो । तर, ‘मिसन जर्नालिज्म’ले अनेक बाधा–व्यवधान, समस्या र भयका बीच आफूलाई जीवित–जागृत तुल्याउनुपर्ने परिस्थितिका कारण न त्यो फस्टाउन सक्यो न त आमतहले पाठकीय स्वाद के हो भन्ने बुझ्न नै पाए । सीमित ‘पढे–लेखेका’ वा सचेत तप्कामा सीमित थियो ‘मिसन’ पत्रकारिताको सेरोफेरो !

यस्तोमा ०४६ सालपछि एकाएक स्वतन्त्रताको बाढी नै पस्यो । खासगरी नेपाली पत्रकारिताको निम्ति सम्भावनाको ढोका राम्रैसँग खुलेको ठानियो, जसलाई व्यावसायिक पत्रकारिता अघि बढाउने अवसरको रूपमा अवलम्बन गर्नेको लहर नै चल्यो । हो, त्यही लहरमा राष्ट्र, राष्ट्रियता, मुलुकको मौलिक धर्म–संस्कृतिको जगेर्ना गर्ने अभीष्टसहित सत्य, तथ्य र निष्पक्ष समाचार एवम् विचारको अवधारणा बोकी घटना र विचार साप्ताहिकको जन्म हुन पुग्यो । यस पृष्ठभूमिमा वि.सं. ०५२ असार ७ गतेदेखि प्रकाशन आरम्भ भएको घटना र विचार साप्ताहिक प्रकाशनको चौबीस वर्ष पूरा गरी २५औँ वर्ष प्रवेश गरेको छ ।

र, प्रेस वा प्रकाशन स्वतन्त्रताको दृष्टिबाट पछिल्लो यो कालखण्ड स्वयम्मा तीन दशक परिपक्व बनिसकेको छ । प्रजातन्त्र पुनर्प्राप्तिपछिका यी तीस वर्षमा मुलुकमा राजनीतिक आँधीबेरी नै चल्यो । प्रजातन्त्रलाई ‘लोकतन्त्र’मा रूपान्तरण गर्दै यतिबेला गणतन्त्रको हावा नेपाली आकाशमा कावा खाइरहेको छ । तर, तीस वर्षअघि प्राप्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग स्वाभाविक तवरमा गर्न सकिने माहोल नजानिँदो किसिमले खल्बलिन थालेको अनुभूति हुन थालेको छ । अधिनायकीको भोकमा वशीभूत शासन–सत्ता मिडियाको मौलिक चरित्रमाथि नै प्रहार गरी क्षतविक्षत तुल्याउन उद्यत् रहेको भन्दै यतिबेला चौतर्फी आवाज उठिरहेको छ । ‘लोकतन्त्र’को चरमावस्थामा यसरी मिडियाले उकुसमुकुस अनुभूति गर्नु र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लागि आन्दोलित हुनुपर्ने अवस्था सिर्जना हुनु आफैँमा विचित्र र विडम्बनाको सन्दर्भ हो ।

प्रकाशनको आरम्भदेखि नै अनेक प्रतिकूलता, बाधा–अड्चन, शासकीय तहबाटै विरोध–धम्की खेप्दै आएको घटना र विचार साप्ताहिकले उल्लिखित चुनौतीका बाबजुद आमपाठकबाट असीम स्नेह र साथ–समर्थन हासिल गर्दै आएको अर्को सुखद पाटो पनि छ । करोडौँ लगानीका मिडिया हाउसहरूको दबदबाबीच सानो लगानीमा सञ्चालित घटना र विचारजस्तो अखबारले एक अङ्क पनि नबिराई पच्चीस वर्षमा प्रवेश गर्न सक्नु हाम्रो सन्दर्भमा आफैँमा एक सुखदाश्चर्य नै हो । सञ्चारजगत्मा भएको अकल्पनीय प्रगति तथा क्रान्तिकारी परिवर्तनका आयाममा आफूलाई यथाशक्य समाहित गर्दै लैजाने प्रयत्नस्वरूप विद्युतीय माध्यम (अनलाइन पोर्टल) बाटसमेत घटना र विचारले सेवारम्भ गरेको पाठकवर्गमा विदित नै छ । सीमित स्रोत–साधन तथा जनशक्तिको अभावका बाबजुद समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, विचार एवम् विविध उपयोगी सामग्री पस्किँदै आएकोे र यसलाई पाठकहरूले रुचाइदिनुभएको सन्दर्भ हाम्रा निम्ति असीम खुसी र प्रेरणा साबित भएको छ ।

पाठक वर्गबाट प्राप्त यही स्नेह तथा साथ नै घटना र विचारको आगामी यात्राका लागि ऊर्जा हो । स्वतन्त्रताको नाममा स्वच्छन्दता हाबी हुँदै गएको र यसबाट मुलुकमा विकृति–विसङ्गति, भ्रष्टाचारलगायत यावत् बेथिति मौलाएको, अग्रगमनको नाममा सनातन धर्म–संस्कृति एवम् राष्ट्रको मौलिक पहिचान नै मेटिने उपक्रमले तीव्रता लिएको र देशको अस्तित्व नै अभूतपूर्व तवरले सङ्कटमा परेको यतिबेलाको तिक्त यथार्थ हो । व्यक्तिगत स्वार्थसिद्धिको निम्ति देशको पहिचान र अस्तित्वमाथि नै खेलबाड गर्न नहिच्किचाउने शासन तथा शासकहरूसँगकोे मुकाबिला अपरिहार्य बन्न पुगेको यस परिवेशमा घटना र विचारले आफ्नो जिम्मेवारी अझ फराकिलो, अझ सघन र अझ चुनौतीपूर्ण बन्न पुगेको महसुस गरेको छ । देशको अस्तित्व रक्षार्थको यस कठिन लडाइँमा आमपाठकको साथ, समर्थन, स्नेह र हौसला सञ्जीवनी बुटी साबित हुने हाम्रो बुझाइ छ । अनवरत यात्राको पच्चीसौँ वर्ष प्रवेशका अवसरमा हाम्रा पाठक, विज्ञापनदाता, शुभेच्छुक एवम् नेपालको माटोप्रति प्रेमभाव राख्ने समस्त जनबाट सदाझैँ साथ–सहयोग र स्नेहको अपेक्षा गर्दछौँ । जय मातृभूमि !