पुसदेखि ठप्प मेलम्चीको काम पुनः शुरु

पुसदेखि ठप्प मेलम्चीको काम पुनः शुरु


इटालीयन ठेकेदार कम्पनी सीएमसीले अलपत्र पारेर छाडेको मेलम्ची खानेपानी आयोजनाको काम पुनः शुरु भएको छ । सरकारले सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेको छ । आयोजनाको काम गत पुसदेखि ठप्प छ । निर्माण ठप्प रहेको यस आयोजनाको कामलाई तीव्र गतिले अगाडि बढाउन खानेपानी मन्त्रालयअन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले गृहकार्य शुरु गरेको छ ।

आयोजनाका सुरुङभित्र गरिने ‘भेन्टिलेसन साफ्ट’को कामलाई समितिले अगाडि बढाएको छ भने सुन्दरीजलमा बढी भएको पानी बागमतीमा खसाल्ने ‘आउट फल’को काम पनि शुरु भएको छ । समितिले मेलम्ची आयोजनाको सुरुङ ‘फिनिसिङ’ र ‘हेड वक्र्स’ निर्माणको कार्य अघि बढाउन दुईवटा मुख्य प्याकेजको राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । जसमा सुरुङ फिनिसिङका लागि गरिएको बोलपत्र (टेन्डर) आह्वानको समय सकिएकाले यसको मूल्यांकन भइरहेको छ ।

हेडवक्र्स (मुहानको संरचना) निर्माणका लागि गरिएको बोलपत्रको अन्तिम समयावधि असार १६ गतेसम्म रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । ‘अब मेलम्चीको काम शुरु भइसकेको छ । शुरुआती चरणमा ‘भेन्टिलेसन साफ्ट’का लागि ‘ड्रिलिङ’को काम शुरु भएको छ,’, प्रवक्ता शाक्यले भने, ‘उता सुन्दरीजलमा पानीको आउट फलका लागि काम अघि बढाइएको छ ।’

मन्त्रालयका प्रवक्ता शाक्यका अनुसार मेलम्ची आयोजनाको बाँकी कामलाई मुख्य दुईवटा प्याकेजमा विभाजन गरिएको र त्यसभित्र स–साना गरी १० वटा प्याकेजमा बाँडिएको छ । ‘पहिलो प्याकेजमा हेड बक्सअन्तर्गत ड्याम निर्माण र पुल निर्माणलगायत छन्,’ उनले भने, ‘दोस्रो प्याकेजमा सुरुङभित्रको फिनिसिङ, गेट निर्माण र भेन्टिलेसन साफ्टलगायत निर्माणकार्य छन् । अब मेलम्चीमा देखिएको अन्योल समाप्त भएको छ ।’

सुरुङ फिनिसिङ कार्यका लागि गरिएको बोलपत्र आह्वानमा बोलपत्र दर्ता गरेका कम्पनीको मूल्यांकन गरी छिट्टै अन्य बाँकी काम सञ्चालन गर्ने तयारी मेलम्ची समितिले गरिरहेको छ । एक महिनाअघि मन्त्रिपरिषदको बैठकले विशेष परिस्थितिको कानुनी आधारमा टेकेर बाँकी काम अघि बढाउने निर्णय गरेको थियो । सोहीअनुसार मन्त्रालयले समितिलाई मेलम्चीको काम तत्काल शुरु गर्न निर्देशन दिएकाले काम अघि बढेको हो ।

गत पुसमा इटालीयन कम्पनी सीएमसी दि राभेनाले आफू आर्थिक रूपमा टाट पल्टेको घोषणा गर्दै एकतर्फी काम छाडेर गएपछि मेलम्चीको काम रोकिएको थियो । रोकिएको मेलम्चीको काम अघि बढाएर तोकिएको समयभित्रै काठमाडौंमा पानी ल्याउन सरकार गम्भीर भएर लागेको प्रवक्ता शाक्यले बताए । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याइनेछ । यांग्र्री र लार्के खोलाको पानी ल्याउन मेलम्चीको पहिलो चरणको सुरुङ निर्माणको काम अघि बढ्ने भएपछि एसियाली विकास बैंक (एडीबी) यांग्र्री र लार्केको सुरुङलगायत अन्य संरचनामा लगानी गर्न इच्छुक देखिएको छ । यसअघि एडीबीले पहिलो चरणको मेलम्चीको काम सम्पन्न गर्न सरकारलाई आग्रह गरेको थियो ।

मन्त्रालयले अब दोस्रो चरणको मेलम्ची आयोजनाको काम अघि बढाउने तयारीसमेत गरेको छ । परामर्शदाता कम्पनी इप्टिसाले यांग्री र लार्केको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मेलम्ची खानेपानी विकास समितिलाई बुझाइसकेको छ । इप्टिसाले डीपीआरलाई अन्तिम रूप दिएर समितिलाई बुझाएको हो । सिन्धुपाल्चोकको यांग्र्री र लार्के खोलाबाट दैनिक १७–१७ करोड लिटर पानी उपत्यकामा ल्याउने लक्ष्य आयोजनाको छ । ती खोलाबाट थप पानी काठमाडौं ल्याउन निर्माणको कार्य शुरु गर्न लागिएको हो । मेलम्चीदेखि लार्केबीच निर्माण गर्नुपर्ने सुरुङको लम्बाइ ११ किलोमिटर छ ।

मेलम्चीको अम्बाथान (हेडबक्स) बाट दुई किलोमिटर पर लार्के खोला छ । लार्केबाट यांग्र्रीको मुहानसम्म दुई किलोमिटर सुरुङ बनाएर ल्याइने पानी सीधै मेलम्चीको हेडबक्स अम्बाथानमा मिसाइन्छ । तीनवटै खोला मेलम्ची, यांग्र्री र लार्केबाट गरी दैनिक ५१ करोड लिटर पानी सुरुङका माध्यमबाट अम्बाथानदेखि २७ किलोमिटर टाढा सुन्दरीजलमा ल्याइनेछ ।

rss