उत्पादनमै कमी आएपछि आँपको मूल्य दोब्बर

उत्पादनमै कमी आएपछि आँपको मूल्य दोब्बर


आँपको उत्पादनमा कमी आएपछि यसको मूल्यमा दोब्बरले वृद्धि भएको छ । यस वर्ष उदयपुरलगायत यस क्षेत्रमा आँपको उत्पादनमा कमी आएपछि अहिले काँचो आँपको मूल्यमा समेत गत वर्षभन्दा दोब्बरले वृद्धि भएको छ । फूल फुलेर फल लाग्ने मौसममा आँपको राम्रो फल लागेको भए तापनि पटक–पटक आएको हावाहुरी र असिनाले उदयपुरमा आँप उत्पादनमा ठूलो क्षति भएपछि उत्पादनमा कमी भएको कारण मूल्यवृद्धि भएको आँप उत्पादक व्यावसायी कृषक र व्यापारीको भनाइ छ ।

गत वर्ष यो समयमा काँचो आँपको मूल्य प्रतिकिलो ४० देखि ५० रुपैयाँसम्म रहेकोमा यस वर्षको सोही समयमा काँचो आँपको मूल्य प्रतिकिलो रु. १०० देखि १२५ सम्म पुगेको छ । गाईघाटका आँप व्यापारी दुर्गेश दासले अहिले बोटमा नै काँचो आँपको मूल्य प्रतिकिलो सय रुपैयाँभन्दा बढी पर्ने गरेको बताए । ‘यसपटक हावाहुरी र असिनाले चैतमा धेरै आँपका चिचिला खसाल्यो, प्रायः आँपका बगानमा २५ प्रतिशत आँप मात्र बाँकी रहेको छ, अब सस्तो मूल्यमा बिक्री गर्न नसकिने अवस्था छ,’ चौदण्डी नगरपालिका–३ हँडियाका आँप उत्पादक कृषक धीरेन्द्र चौधरीले बताए ।

यसपटक फागुनको अन्तिम हप्ता र चैतको पहिलो हप्तामा नै हावाहुरी र असिनाले फल लाग्दै गरेको आँपमा ठूलो क्षति पु¥याएकाले आँप उत्पादक कृषकले ठूलो घाटा व्यहोर्नुपरेको त्रियुगा नगरपालिका–१ जोगीदहका अमर खड्काले बताए ।

खड्काले भने, ‘व्यापारीले बाहिरबाट रासायनिक पदार्थ मिसाएर ल्याएको सस्तो आँप अहिले बजारमा सस्तो मूल्यमा बिक्री हुने गरेको हामीले सुनेका छौँ, तर हामीले उत्पादन गरेको आँप अर्गानिक भएकोले घाटा व्यहोरेर सस्तोमा बिक्री गर्न सक्दैनाँै ।’ आँप उत्पादक कृषकले नै आँपको मूल्य सस्तोमा बिक्री गर्न नसकिने भने पनि यसपटक उदयपुरलगायतका स्थानमा काँचो आँपको मूल्य नै महँगो पर्न थालेको उपभोक्तासमेत बताउँछन् ।

यस वर्ष आँपको मूल्य गत वर्षको तुलनामा दोब्बरले वृद्धि भएको चौदण्डीगढी नगरपालिका–२ बेल्टार बजारका कुमार परियारको धारणा छ । काँचो आँपको मूल्य नै प्रतिकेजी सय रुपैयाँ पर्न थालेपछि यसपटक ग्राहकले आँप किनेर खान निकै महँगो पर्ने अवस्था आएको गाईघाट बजारका राजकुमार राउतको भनाइ छ ।

उदयपुर जिल्ला बेलका नगरपालिकाको पुरनदह, भागलपुर, तपेश्वरी, चौदण्डी नगरपालिकाको हँडिया, सुन्दरपुर तथा त्रियुगा नगरपालिकाको जोगीदह, मोथ्याई, विषणपुर, पोर्ताह, बगाहा, श्रीपुर क्षेत्रमा व्यावसायिक रूपमा आँप उत्पादन हुँदै आएको छ । यस्तै जिल्लाको पहाडी क्षेत्रको पञ्चावती दनुवारबेसी र कटारीको त्रिवेणी, रिस्कु क्षेत्रमा व्यावसायिक रूपमा आँप उत्पादन हुँदै आएको जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ । उदयपुरमा झन्डै १५० हेक्टर क्षेत्रफलमा आँप खेती हुँदै आएको छ ।

rss