तीन रुसीसहित चारजनामाथि मलेसियाली विमान खसालेको आरोप

तीन रुसीसहित चारजनामाथि मलेसियाली विमान खसालेको आरोप


मलेसियन एयरलाइन्स एमएच १७ को विमान खसालेको सम्बन्धमा छानबिन गरिरहेका अनुसन्धानकर्ताहले तीनजना रुसी र एकजना युक्रेनियाली नागरिकलाई दोषी ठहर गरेको छ ।

युक्रेनको आकाशमा उडिरहेको उक्त विमान पाँच वर्षअघि गोली हानी खसाल्दा विमानमा यात्रारत सबै २९८ जनाको मृत्यु भएको थियो । अर्को वर्ष मार्चदेखि दोषी ठहर गरिएका सैनिक तथा जासुसी कार्यमा संलग्न चारैजनामाथि नेदरल्यान्डमा मुद्दा चलाइनेछ । तर, रुसी र युक्रेनी दुवै मुलुकले चार व्यक्तिलाई नेदरल्यान्ड सुपुर्दगी गर्न अस्वीकार गरेका कारण अनुपस्थितिमै मुद्दाको सुनुवाइ हुनेछ ।

रुसले विमान खसालिएको सम्बन्धमा आधारहीन आरोप लगाएको भन्दै आफ्ना नागरिक निर्दोष रहेको जनाएको छ । उक्त विमान नेदरल्यान्डको आम्स्टर्डमबाट मलेसियाको क्वालालम्पुर जाँदै थियो । रुस समर्थित विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी युक्रेनको आकाशमा उक्त विमानलाई क्षेप्यास्त्र प्रहार गरी खसालिएको थियो ।

नेदरल्यान्डको अनुसन्धान टोलीको सिफारिसबमोजिम दोषी ठहर गरिएका चारैजनाविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरिएको छ । दोषी ठहर गरिएका रुसी नागरिकमा आइगोर गर्किन, सर्गेई डुबिन्स्की र ओलेग पुलाटोभ तथा युक्रेनी नागरिक लियोनिद खार्चेन्को रहेका छन् । दोषी ठहर गरिएका चारैजना डोनेस्क पिपुल्स रिपब्लिकका पृथकतावादी सैनिक तथा जासुसी नेता रहेका छन् ।

नेदरल्यान्डका अनुसन्धाता फ्रेड वेस्टरबेकले पूर्वीयुक्रेनमा रुसबाट अत्याधुनिक बियुके क्षेप्यास्त्र प्रणाली भित्र्याउन ती चार व्यक्ति मुख्य रूपमा जिम्मेवार रहेको बताउँदै तर उनीहरूले नै क्षेप्यास्त्र प्रहार गरेको भने पुष्टि हुन बाँकी रहेको जानकारी दिए ।
‘हामी ती चारजनालाई सुपुर्दगी गर्नुपर्छ भन्दैनौँ, किनभने रुस र युक्रेनको कानुनमै आफ्ना नागरिक सुपुर्दगी गर्ने प्रावधान छैन । तर, हामी यस अनुसन्धानमा दुवै मुलुकले सहयोग गर्नुपर्नेमा जोड दिइरहेका छौँ,’ फ्रेडले बताए । एमएच१७ मा यात्रारत व्यक्तिका आफन्तले दोषीमाथि कारबाही गर्न गरेको सिफारिसलाई स्वागत गरेका छन् ।