पूर्वखोलाका १७ बुहारी सम्मानित

पूर्वखोलाका १७ बुहारी सम्मानित


पाल्पाको पूर्वखोला गाउँपालिका–२ को कार्यालयले सासू–ससुरालाई राम्रो हेरचाह गरेको भन्दै यहाँका १७ बुहारीलाई सम्मान गरेको छ । उमेर ढल्कँदो अवस्थामा रहेका सासू–ससुराको राम्रो हेरविचार गर्ने बुहारीलाई नगद र दोसल्ला ओढाएर सम्मान गरेको हो ।

ढल्कँदो उमेरमा रहेका सासू–ससुराको स्याहारसुसार गरेर सम्मानका साथ जिउने आधार बनोस् र आफ्ना सन्तान हुँदाहुँदै कोही पनि ज्येष्ठ नागरिक वृद्धाश्रममा जान नपरोस् भनेर यो कार्यक्रम गरेको वडाध्यक्ष नीरबहादुर सारुले बताए । शारीरिक रूपमा अशक्त सासू–ससुराको पालनपोषण गर्ने दायित्व भएको सम्मानित बुहारी शान्ति देवकोटाले बताइन् ।

‘सासू–ससुरा भनेका आफूलाई जन्मदिने बुबाआमा जस्तै हुन्, उहाँहरूलाई ढल्कँदो उमेरमा मायाममता, स्याहारसुसारको खाँचो छ, उहाँहरूलाई स्याहारसुसार गर्न पाउँदा आनन्द लाग्छ,’ उनले भनिन् । परिवारको संरक्षक अभिभावकबाट अगाडि बढ्न आशीर्वाद लिँदै सन्ततिले घृणा होइन, माया र ममताका साथ पालनपोषण गर्न उनले अनुरोध गरिन् ।

त्यसैगरी ८० वर्षभन्दा माथिका ४१ ज्येष्ठ नागरिकलाई पनि सम्मान गरिएको छ । वडाले गरेको यस कार्यप्रति खुसी र रमाइलो लागेको १०० वर्षीया चन्द्रकला न्यौपानेले बताइन् । यो उमेरमा आएर सम्मानित हुन पाउँदा उनी दंग छिन् । एक सय वर्षीया हजुरआमासँगै असल नातिनी बुहारीका रूपमा सम्मानित हुन पाउँदा खुसी लागेको पम्फा न्यौपानेले बताइन् । उनले अरूलाई पनि सासूससुराको राम्रो हेरचाह गर्न अनुरोध गरिन् ।

समाजमा ज्येष्ठ नागरिकलाई सम्मान दिनुका सट्टा हेयको रूपमा हेर्ने सन्तति पनि छन् । उनीहरूले यो कार्यको पाठ सिक्न सके भने बुढेसकालमा ज्येष्ठ नागरिकले दुःख भोग्नुपर्ने थिएन । यसैगरी निस्दी गाउँपालिका–६ को कार्यालयले पनि असल छोराबुहारीलाई सम्मान गरेको छ ।