सडक दुर्घटनामा नगरप्रवक्ता भट्टको मृत्यु

सडक दुर्घटनामा नगरप्रवक्ता भट्टको मृत्यु


बैतडीको पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता गौतमप्रसाद भट्टको बिहीबार बिहान मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–४ का वडाध्यक्षसमेत रहेका भट्टको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा बुधबार बिहान मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।

वडाध्यक्ष भट्ट वडा कार्यालयबाट घर जाँदै गर्दा गत बुधबार वडा नं. ४ को चक्कीबगड भन्ने स्थानमा बा.२ब २५२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेका थिए । दुर्घटनामा परी गम्भीर घाइते भट्टको जिल्लामा उपचार हुन नसक्दा थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको थियो । कोहलपुर मेडिकल कलेजमा सघन उपचारकक्ष (आईसीयू) राखेर उपचार हुँदाहँुदै भट्टको बिहान ३ बजे मृत्यु भएको हो ।

यसैबीच वडाध्यक्ष तथा नगर प्रवक्ताको निधन भएपछि पुर्चौडी नगरपालिकाले बुधबार शोकसभा पारित गर्दै आज नगरपालिकाका सम्पूर्ण काम स्थगन गरिने नगरप्रमुख रणबहादुर कुँवरले बताए । मृतक भट्ट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बैतडी जिल्ला कमिटी सदस्यसमेत हुन् ।