जिपसहित बेपत्ता भएका १० जना अझै भेटिएन

जिपसहित बेपत्ता भएका १० जना अझै भेटिएन


हुम्लामा मङ्गलबार अपराह्न दुर्घटनामा परेको जिप र जिपमा सवार यात्रुहरु अझै भेटिएको छैन् । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा लु१ज ७१६६ नंको जिप बेपत्ता भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जिपको खोजीकार्यका लागि कुरिनटारबाट गोताखोरसहित सशस्त्र प्रहरी बल निरीक्षक लक्ष्मण बस्नेतको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगेको जानकारी दिए । उनका अनुसार नदीमा पानीको बहाव बढी भएका कारण पत्ता लगाउन समस्या भएको छ ।

स्थानीयवासीले जिप दुर्घटना भएको स्थानदेखि कर्णालीको किनारैकिनार खोज्दै जाँदा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु हमाल शाहीको एउटा झोला भेट्टाएको बताएका छन् । झोलामा रु ६४ हजार, नागरिकता, अन्य कागजात फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिप र सवारयात्रुको कुनै पत्ता नलागेपछि जिल्ला प्रशासन कार्यालय हुम्ला, सामाजिक विकासमन्त्री दल रावल, कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीको पहलमा कुरिनटारबाट गोताखोर हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित दुर्घटनास्थलमा पुगेको हो ।

सिमकोटदेखि १८ किलोमिटर कच्ची सडक रहेको भए पनि अपत्यारिलो स्थानमा जिप दुर्घटना भएको हो । जिप दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्षसहित १० बेपत्ता हुँदा हुम्ला यतिबेला शोकमा डुबेको छ ।