गुठियारले मागे तीन मन्त्रीको राजीनामा

गुठियारले मागे तीन मन्त्रीको राजीनामा


सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठी सम्बन्धी विधेयकको विरुद्ध संस्कृतिप्रेमीहरु सडक आन्दोलनमा उत्रिएका छन् । उनिहरुले आन्दोलन नरोकिने र खबरदारी जारी राख्ने निर्णय गरेका हुन् ।

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको बुधबार बसेको बैठकले आन्दोलन जारी राख्दै अन्य नयाँ कार्यक्रम गर्ने घोषणासमेत गरेको छ । सरकारले संस्कृति मास्ने कदम चालेपछि संस्कृतिप्रेमीहरुले आन्दोलन चर्काएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली यूरोप भ्रमणका बेला संस्कृतिप्रेमीहरुमाथि प्रहरीले दमन गरेको थियो । प्रधानमन्त्री ओली यूरोप भ्रमणबाट फर्किएपछि गुठी विधेयक खारेज हुने र गुठीको पक्षमा बोल्ने आश धेरै संस्कृतिप्रेमीहरुको थियो । यसैकारण पनि उनिहरु प्रधानमन्त्रीप्रति नरम थिए । तर प्रधानमन्त्री नेपाल आएपछि विमानस्थलबाटै संस्कृतिप्रेमीहरुको विपक्षमा बोल्न थालेका थिए । जसका कारण संस्कृतिप्रेमीहरु ओलीप्रति खिन्न छन् ।

मन्त्रीहरु थापा, बाँस्कोटा र अर्यालले राजीनामा दिनुपर्छ
संस्कृतिप्रेमीहरु अहिले गृहमन्त्री रामबहादुर थापा, सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटा र सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालप्रति चिढिएका छन् । र उनिहरुले मन्त्रीहरु थापा, बाँस्कोटा र अर्यालको राजीनामा माग गरेका छन् । समितिका संयोजक गणपतिलाल श्रेष्ठले जारी गरेको विज्ञप्तीमा अभिव्यक्ति स्वतन्त्रता खबरदारीका साथै शान्तिपूर्ण आन्दोलनले लोकतन्त्रलाई मजबुत बनाउन सहयोग पुग्ने भएकोले भोलिका दिनमा हुने आन्दोलनहरु शान्तिपूर्ण हुने उल्लेख छ ।

शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन संविधानको मर्म विपरित
२६ जेठको दिन काठमाडौंमा गुठियारहरुले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन गरिनु संविधानको मर्म विपरित रहेको भन्दै समितिले जनाएको छ । यसैकारण पनि उनिहरुले गृहमन्त्री थापाको जोडदार रुपमा राजीनामा माग गरेका छन् । त्यस्तै, सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता बाँस्कोटाले पनि गुठीलाई सामन्ती भनेर धर्म संस्कृतिमाथि असंवैधानिक अभिव्यक्ति दिएको भन्दै उनको पनि राजीनामा माग गरिएको छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति चिन्तित
आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले गुठियारहरुलाई भाडाका आन्दोलनकारी भनेपछि उनिहरु थप आक्रोसित बनेका छन् । केही आश गरेका प्रधानमन्त्रीले नै संस्कृतिमाथि धावा बोलेपछि गुठियारहरु चिन्तित बनेका छन् ।