यसरी पनि मानिस मर्छन् !?

यसरी पनि मानिस मर्छन् !?


६ महिनाअघि मात्र उनले ‘होलबडी चेकअप’ गराउँदा शरीरमा कुनै रोग देखापरेको थिएन, चिकित्सकले ‘सबै ठीक छ’ भनेका थिए । ६ महिना अघिदेखि नै उनी साकाहारी बनेका थिए । नियमित ‘मर्निङवाक’ गर्थे र, त्यस दिन अर्थात् जेठ ३१ गते शुक्रबार पनि ताजा हावामा ‘वाक’ गरेर घर फर्किएका थिए ।

अघिल्लो दिन मात्र घरको ढलान भएको थियो र, आँगनको छेउमा गिटी–बालुवा असरल्ल थिए । मर्निङवाकबाट फर्कनेबित्तिकै उनी बेल्चा समाएर आँगनमा छरिएका गिटी–बालुवा सोहोर्नतिर लागे । घरको पिँढीमा बसेर बाबुआमा छोराको गतिविधि नियालिरहेका थिए ।

‘परिवार’ किस्तीमा चियाको कप राखेर ‘लौ हजुर चिया पिउनुपऱ्यो’ भन्दै बाहिर आउँदा उनले ‘चिया त्यहीँ राख, म एकछिनमा लिन्छु’ भन्दै बेल्चाले गिटी सोहोरेझैँ गर्न थाले । तर, त्यति नै बेला उनी अचानक भूइँमा ढले र दुईपटक हिक्क–हिक्क गरे ।

‘के भयो’ भन्दै बाबुआमा छोरा भएको ठाउँमा पुगे, छोरालाई बोलाए, उनी बोलेनन् र चलाउँदा पनि कुनै प्रतिक्रिया जनाएनन् । परिवारका सदस्य र छिमेकीहरू सबै जम्मा भए र अस्पतालतर्फ लिएर गए । वास्तवमा उनले तत्काल प्राण त्यागिसकेका रहेछन्, आत्मसन्तुष्टिका निम्ति मात्र उनलाई अस्पतालतर्फ दौडाइएको थियो ।

यसरी प्राण त्याग्ने व्यक्ति हुन्– नेकपाका युवा नेता एवम् पूर्वमन्त्री डीआर (धनीराम) पौडेल । चितवनको माडीस्थित आफ्नै घरमा यसरी उनको इहलीला समाप्त भएको हो । चिकित्सकले पौडेलको निधन ‘हार्टएट्याक’बाट भएको बताएका छन् ।

पौडेलको रक्तचाप ठीक थियो, सुगर र कोलेस्टोरल पनि सामान्य थियो । उनी कुनै औषधि खाँदै थिएनन् र नियमित मर्निङवाक पनि गर्थे । तथापि त्रिपन्न वर्षकै उमेरमा उनले संसार छोड्नुपऱ्यो । त्यसैले शास्त्रले यस्तो निष्कर्ष निकालेको हुनुपर्छ– ‘जन्म, विवाह र मृत्यु कसैको हातमा पनि हुँदैन ।’