जुडो च्याम्पियनसिपमा सेनाको वर्चश्व

जुडो च्याम्पियनसिपमा सेनाको वर्चश्व


सेनाका सुस्मिता लवट र सुशिला ‘आजीवी फस्ट क्लोज जुडो च्याम्पियनसिपमा’ महिला तर्फ स्वर्ण हात पार्न सफल भएका छन् ।

ओलम्पिक डे २०१९ को अवसरमा नेपाल जुडो संघको आयोजनामा गरेको च्याम्पियनसिपको ५७ केजीमुनिको तौल समूहमा सेनाकी सुस्मिताले सेनाकै लक्ष्मी तामाङलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । सेनाकै रोशना दङ्गाल र सुस्मिता थारुले संयुक्त रुपमा कास्य प्राप्त गरे ।

त्यस्तै ५७ केजी माथिको तौलमा सुशीलाले सेनाकै विनीता मगरलाई हराउँदै स्वर्ण जितिन् । सेनाकी सुमित्रा मगर र सिपिजेका भवानी आचार्यले कास्य पाए ।

पुरुष ६० केजीमुनिको तौलमा सिपिजेका शीतल थापाले सेनाका कर्मा तामाङलाई पछाडि पार्दै स्वर्ण जिते । सेनाका तिलकबहादुर देउजा र सिपिजेका दीपक रासकोटीले कास्य पाए । ६६ केजीमुनिको तौलमा सेनाका राजेश चौधरीले सेनाकै सुदीप बोहरालाई पराजित गर्दै स्वर्ण हात पारे । तेश्रो स्थानमा सिपिजेका अनिल बलामी र टोपबहादुर पुन रहे ।

७३ केजीमुनिमा सेनाका जंगबहादुर सारुले स्वर्ण, सिपिजेका अकल भण्डारीले रजत तथा सेनाका भीष्म बराल र सिपिजेका भरत तामाङले कास्य पाए । ७३ केजीमाथिको तौलमा सेनाका रमेशबहादुर चन्दले स्वर्ण हात पार्दा सिपिजेका शिबबहादुर बोहराले रजतमा चित्त बुझाए । सेनाका अनिल भण्डारी र सिपिजेका दिनेश प्रधानले कास्य पाए ।

नेपाली सेनाका रथी शरदकुमार गिरीले उद्घाटन गरेको च्याम्पियनसीपका विजयी खेलाडीहरूलाई समापन समारोहका प्रमुख अतिथि उपत्यका पृतनापति उपरथी निरञ्जनकुमार श्रेष्ठ, विशेष अतिथी बिष्णुगोपाल श्रेष्ठ, नेपाल जुडो संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सदस्य दीपकहर्ष बज्राचार्य, सैनिक तालिम तथा डक्टिन महानिर्देशक उपरथी शशीचन्द्र बहादुर सिंहले पुरस्कार वितरण गरेका थिए ।