टेबलटेनिसमा छात्र टिमतर्फ न्यू समिटलाई स्वर्ण

टेबलटेनिसमा छात्र टिमतर्फ न्यू समिटलाई स्वर्ण


न्यू समिट स्कुलले त्रियोग अन्तरस्कुल टेबलटेनिस प्रतियोगिताको छात्र टिम इभेन्ट्स्मा स्वर्ण हात पार्न सफल भएको छ । न्यू समिटले फाइनलमा एलआरआईलाई ३–२ ले पराजित गर्दै स्वर्ण हात पारेको हो ।

ओलम्पिक डे २०१९ को अवसरमा आयोजना गरिएको प्रतियोगिताको कक्षा ७–८ को छात्र एकल तर्फ पिएसबिएसका सिद्धार्थ तामाङले आफ्नै स्कुलका सुप्रिम नेपालीलाई ११–८, ११–८, ९–११ र ११–९ ले पराजित गर्दै स्वर्ण हात पारे । यस्तै छात्रातर्फ आयोजक त्रियोगकी प्रत्युशा थापाले अरुणी सेकेन्डरी स्कुलकी स्नेहा बस्नेतलाई ६–११, ८– ११, ११–४, १२–१०, ११–८ को जित निकाल्दै स्वर्ण कब्जा गरिन् ।

यसैगरी ९–१० कक्षातर्फको खेलमा न्यू समिटका आसङ्ग रिमालले एलएका प्रज्वल चन्दलाई ११–२, ११–४ र ११–५ ले तथा छात्रातर्फ आयोजक त्रियोगकी आश्मा पाण्डेले भानुभक्तकी श्रीषा तुलाधरलाई ११–८, ११–५, ११–५ ले पाखा लगाउँदै स्वर्ण हात पारे ।

छात्र युगलतर्फ पिएसबिएसका सिद्धार्थ र सुप्रिमको जोडीले न्यू समिटका आसाङ्ग र आसुतोषको जोडीलाई ११–८, ११–७, ११–९ तथा छात्रा युगलतर्फ आयोजक त्रियोगका आश्मा र आयुष्माको जोडीले अरुणी सेकेन्डरीका स्नेहा र नविनाको जोडीलाई ११–६, ११–३, ११–३ ले पन्छाउँदै स्वर्ण जितेका थिए । प्रतियोगितामा छात्र तथा छात्राको ५–६, ७–८, ९–१० कक्षाका एकल, युगल र टिममा गरि १८ स्कुलका १०६ छात्र र ६५ छात्राहरुले प्रतिस्पर्धा गरेका थिए ।

विजयी खेलाडीहरुलाई नेपाल टेबलटेनिस संघका उपाध्यक्ष एवं काठमाण्डौ जिल्ला टेबल टेनिस संघका अध्यक्ष धर्ममान बज्राचार्य, महासचिव शंकर गौतम, प्रमुख प्रशिक्षक बिनोद शाक्य, त्रियोग स्कुलका कार्यकारी निर्देशक अजित लामा, पूर्व नम्बर एक खेलाडी शिवसुन्दर गोथेले पुरस्कार वितरण गरेका थिए ।