बजेटप्रति जर्नादन शर्माको तीव्र असन्तुष्टि : बरु रुकुमको बजेट झापा रकमान्तर गरियोस्

बजेटप्रति जर्नादन शर्माको तीव्र असन्तुष्टि : बरु रुकुमको बजेट झापा रकमान्तर गरियोस्


सत्तारुढ नेकपाका नेता तथा सांसद जर्नादन शर्माले बजेट विनियोजनप्रति तीव्र असन्तुष्टि जनाएका छन् । शर्माले बुधबार संसदमा विनियोजित बजेटमाथि आफ्नो धारणा राख्ने क्रममा सो असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले बुधबार संसदको शून्य समयमा बोल्दै पछाडि परेका क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा सो नभई बजेट नेतामुखी आएकोमा दुःख व्यक्त गरेका हुन् । उनले भौतिक पूर्वाधारको क्षेत्रमा रुकुमको लागि छुट्याइएको बजेटलाई थोरै भएको भन्दै सो बजेट पनि रकमान्तर गरी प्रधानमन्त्री ओलीको जिल्ला झापामा हाल्न सुझाव दिए ।

नेता शर्माले रुकुमका लागि छुट्याइएको दुई करोड ४० लाख रुपैयाँ झापामा रकमान्तर गर्न पनि प्रस्ताव गरेका छन् । ‘म प्रस्ताव पेस गर्न चाहन्छु, रुकुमका लागि छुट्याइएको बजेट बरु झापातिर रकमान्तर गरियोस्,’ शर्माले भने, ‘म प्रधानमन्त्रीलाई सहयोग गर्न चाहन्छु, झापामा हाल्दा मन्त्रीज्यूले दुःख मान्नुहुन्छ भने जनकपुर हालियोस् ।’

उनले अघिल्लो वर्ष पनि रुकुमका जनताले बजेट कम हुँदा गुनासो गरेकोमा यस वर्ष पनि उस्तै रहेको बताउँदै जिल्लाका कतिपय गाउँ अझै अँध्यारै रहेको जानकारी दिए ।
बजेट आइसकेपछि छलफल गर्नु भनेको समयको दुरुपयोग मात्र भएको नेता शर्माको भनाइ छ । ‘विस्तृत बजेटबारे माननीयहरूको धारणा लिने र बजेट बनाउने प्रणाली विकास गरौँ,’ उनले भने, ‘यसरी संसदमा बजेटपछि छलफल नगरौँ, यो समयको दुरुपयोग मात्र हो ।’