चीन–उत्तर कोरिया सम्बन्ध नयाँ युगमा : चिनियाँ राष्ट्रपति सी

चीन–उत्तर कोरिया सम्बन्ध नयाँ युगमा : चिनियाँ राष्ट्रपति सी


चिनियाँ राष्ट्रपति एवं चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले चीन र उत्तर कोरियाबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएका छन् । उनले यी दुई देशबीचको सम्बन्धलाई थप नयाँ सम्बन्धका साथ अघि बढाउनका लागि आह्वान पनि गरेको बुधबार बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले यो सम्बन्धले दुई देश र यहाँका नागरिकलाई प्रत्यक्ष रूपमा लाभ पुग्नुका साथै विश्व तथा क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धिका लागि पनि लाभ पुग्ने धारणा राखेका छन् । उत्तर कोरियाको सरकारी पत्रिका रोडोन सिनमुनमा बुधबार प्रकाशित भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको लेखमा सो कुरा उल्लेख गरिएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

राष्ट्रपति सी चिनफिङको उत्तर कोरिया भ्रमणको अघिल्लो दिन प्रकाशित यस लेखमा उनको यो धारणा आएको हो । राष्ट्रपति सी चिनफिङले भोलिदेखि अर्थात् बिहीबार र शुक्रबार उत्तर कोरियाको भ्रमण गर्न लागेको समाचारमा जनाइएको छ । उनको यो भ्रमण चीनका उच्चस्तरका नेता तथा राष्ट्रपतिका रूपमा गरिएको १४ वर्षपछिको पहिलो हुने पनि यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

यस वर्ष चीन र उत्तर कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ मनाइँदै छ । सोही अवसर पारेर चिनियाँ राष्ट्रपतिले उत्तर कोरियाको भ्रमण गर्न लागेको समाचार यसअघि नै आएको थियो ।सो लेखमा राष्ट्रपति चिनफिङले कोरियाली वर्कर्स पार्टीका अध्यक्ष किम जोङ उनको निमन्त्रणामा आफूले उत्तर कोरियाको राजकीय भ्रमण गर्न लागेको र यस भ्रमणले चीन र उत्तर कोरियाबीचको सम्बन्धलाई थप उचाइमा पुऱ्याउने धारणा राखेका छन् ।

उत्तर कोरियाली र चिनियाँ सञ्चारमाध्यमहरूले चिनियाँ राष्ट्रपति चिनफिङको यो राजकीय भ्रमणको समाचारको निकै प्रचारप्रसार गरेका छन् ।