सडकको पहुँचसँगै जुम्ली घोडाको व्यापारमा ह्रास

सडकको पहुँचसँगै जुम्ली घोडाको व्यापारमा ह्रास


सडक यातायातको आगमनसँगै जुम्लाका अधिकांश गाउँमा केही वर्ष अगाडिसम्म सवारीसाधनको रूपमा निकै प्रयोगमा ल्याइने गरेको घोडाको व्यापारमा कमी आएको छ । जुम्लामा पहिले भरपर्दो ग्रामीण यातायातका रूपमा प्रयोग गरिने घोडा अहिले ५० प्रतिशतले विस्थापित हुन थालेको तलिउम घोडापालन समूहका अध्यक्ष जयकृष्ण धरलाले बताए ।

अधिकांश ग्रामीण क्षेत्रलगायतका स्थानीय बासिन्दा र व्यवसायीले सामान ओसारपसार र यातायातका साधनका रूपमा प्रयोग हुने घोडा बिक्री गरी अन्य यातायातका साधनको प्रयोग गर्न थालेका छन् ।

पहिला तलिउममा अधिकांशले घोडा पाल्ने गरेकामा अहिले १३५ किसानले मात्र पालेका छन् । पछिल्लो समयमा गाउँगाउँसम्म सडक पहुँच पुग्नु तथा युवामा घोडाप्रति आकर्षण हुन नसक्दा हरेक वर्ष घोडाको व्यापार घटेको चन्दननाथ नगरपालिका–८ का देवकी धरलाले बताए । पहाडसम्मै गाडी पुग्नु, हरेक वस्तुको महँगी बढेको कारण घोडा व्यापार सुस्ताउँदै गएको छ ।

हिमाली क्षेत्रमा सामान ढुवानी र यातायातको लागि जुम्ली घोडा उपयुक्त मानिँदै आएको पशु शाखाप्रमुख ज्ञानेन्द्रसिंह बुढथापाले बताए । अन्यभन्दा पनि चिसो ठाउँमा हुर्केका घोडा हिमाली क्षेत्रमा बचाउन सकिने उनको भनाइ छ । जुम्ली घोडालाई पर्यटन प्रवर्धनमा पनि जोड्न सकिने उनको भनाइ छ ।

चन्दननाथ नगरपालिकाअन्तर्गतको पशु शाखाको आयोजना गरिएको जुम्ली घोडा संरक्षण तथा प्रवर्धनसम्बन्धी यहाँ एकदिने तालिम सञ्चालन गरिएको थियो । तालिममा चन्दननाथ नगरपालिका वडा नं. ८ र ९ का गरी २२ जना किसानको सहभागिता रहेको थियो ।