प्रधानमन्त्रीबाट नमुना मालपोत कार्यालयको उदघाटन

प्रधानमन्त्रीबाट नमुना मालपोत कार्यालयको उदघाटन


प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका–१४ स्थित कलंकीस्थित मालपोत कार्यालयलाई नमुना मालपोत कार्यालय घोषणा गरेका छन् । अपांगमैत्री उक्त कार्यालयमा सहयोगी कक्ष, सेवा केन्द्र, टोकन प्रणाली, सेवाग्राहीले लिन चाहेको कामबारे घरैमा बसेर जानकारी प्राप्त गर्न सकिनेलगायत व्यवस्था छ । कार्यालयमा गरिएका काममाथि भूमि व्यवस्था, सहकारी र गपरबी निवारण मन्त्रालयमा बसेर अनुगमनसमेत गर्न सकिनेछ ।

बुधबार आयोजित घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले विकास र सेवाका कार्यमा प्रविधिको अधिकतम उपयोग गरी सेवाग्राहीलाई छिटोछरितो सेवा दिने नीति सरकारले लिएको बताउँदै मुलुकलाई समृद्ध बनाउन भूमिमा आधुनिकीकरण तथा शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिए । जनताको सहजतालाई ध्यान दिन निर्देशन दिँदै प्रधानमन्त्री ओलीले भने, ‘प्रविधिले सेवामा सहज, सुगम, पारदर्शिता ल्याउँछ, यसले उत्पादकत्व वृद्धि गर्छ, कृषि, औद्योगिकलगायत क्षेत्रमा यसको समुचित प्रयोग गरिनुपर्छ ।’

जैविक विविधताले भरिपूर्ण मुलुकमा प्रकृतिले उपलब्ध गराएका हिमाल, तालतलैया, नदी, झरनालगायत स्रोतसाधनलाई उपयोग गरी देश विकास गर्न सकिने उनको भनाइ थियो । सरकारले आगामी वर्ष सन् २०२० मा २० लाख पर्यटक पु¥याउन भ्रमण वर्षसम्बन्धी आवश्यक गृहकार्य गरिरहेको बताउँदै आफूले फ्रान्स भ्रमणका समयमा यसबारे प्रचार गरेको जानकारी गराए ।
सो अवसरमा भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले सरकारले जनताको सम्पत्तिलाई रक्षा गर्ने उद्देश्यले भूमि प्रशासनमा जग्गाका स्रेस्तालाई डिजिटलाइज्ड गरेको बताउँदै उक्त प्रणालीलाई आगामी दुई वर्षभित्र स्थानीय तहमा हस्तान्तरण गरिने जानकारी दिइन् । उनले जनताका काम परिरहने मन्त्रालयमातहतका सबै कार्यालयमा पारदर्शी रूपमा चाँडो काम हुने खालको परिवर्तन सेवाग्राहीले चाहेको बताए ।

मन्त्रालयका सचिव गोपीनाथ मैनालीले मालपोत कार्यालयमा सेवाग्राहीलाई सबै सुविधा एकद्वार प्रणालीअन्तर्गत उपलब्ध गराउन बुधबारदेखि नमुना कार्यालय सञ्चालनमा ल्याइएको जानकारी दिए । भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि भुर्तेलले अनलाइन सेवा प्रारम्भ भएपछि सेवाग्राही लाभान्वित भएको बताउँदै अहिले राजस्व संकलनमा देखिएको वृद्धिले चालू आवमा ४० अर्ब राजस्वको प्रक्षेपण गरिएको जानकारी दिए ।