प्रधानमन्त्रीबाट हेप्ने काम भयो : देउवा

प्रधानमन्त्रीबाट हेप्ने काम भयो : देउवा


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले सरकार एकपछि अर्को विधेयकमार्फत प्रजातन्त्रलाई समाप्त पार्न लागेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख कृष्णबहादुर महरासँग समय मागेर देउवाले मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रजातन्त्र र लोकतन्त्रविरोधी रहेको उल्लेख गर्दै यसले संविधानप्रदत्त वाक् तथा अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने बताए ।

नेता देउवाले भने, ‘मैले वि.सं. २०४८ देखि निरन्तर संसदमा प्रतिनिधित्व गरेको छु । यस्ता घटना कहिल्यै भएको थिएन ।’ उनले सरकारले पछिल्लो समय ल्याएको विधेयकले लोकतन्त्रका मूल्य–मान्यतामाथि आक्रमण गरेकाले कुनै पनि हालतमा पारित हुन नदिने चेतावनी पनि दिए ।

नेता देउवाले स्वतन्त्र र निष्पक्ष हुने मानवअधिकार आयोगलाई कमजोर पार्न विधेयक आएकोमा आपत्ति जनाउँदै मानवअधिकारबिनाको प्रजातन्त्र कसरी सुदृढ हुन्छ भन्ने प्रश्नसमेत गरे । ‘प्रजातन्त्र र लोकतन्त्रविरोधी विधेयक सरकारले फिर्ता नलिए कडा आन्दोलनमा जान्छौँ,’ उनले बताए ।

देउवाले गुठी विधेयक फिर्ता लिनु सकारात्मक भए पनि संसदीय अभ्यासविपरीत भएको बताए । विधेयक संसदबाटै फिर्ता लिनुपर्ने भए पनि बाहिरबाट फिर्ता लिनु आपत्तिजनक रहेको उनको भनाइ थियो ।

निक्कै आक्रोशित मुद्रामा संसदमा प्रस्तुत भएका देउवाले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले हेपेको आरोप लगाए । ‘संसदमा विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री जहिले पनि उपस्थित हुनुपर्ने भए पनि उपस्थित भएका छैनन् । यो प्रधानमन्त्रीबाट हेप्ने काम भएको छ । प्रधानमन्त्रीले बोल्दा विपक्षी आउनैपर्छ र विपक्षीले बोल्दा प्रधानमन्त्री उपस्थित हुनैपर्छ,’ देउवाले भने ।