अन्डा सङ्कलन गरी गोहीका बच्चा कोरलिए

अन्डा सङ्कलन गरी गोहीका बच्चा कोरलिए


राप्ती र नारायणी नदीमा संकलन गरिएका घडियाल गोहीको अन्डाबाट १५१ बच्चा कोरलिएका छन् । चितवन राष्ट्रिय निकुञ्जले दुई नदीमा रहेका २४ मध्ये १० गुँडबाट २८४ अन्डा सङ्कलन गरेको थियो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार राप्ती नदीका १६ गुँडमध्ये १० लाई छाडेर ६ गुँडका अन्डा सङ्कलन गरिएको थियो । नारायणी नदीमा भेटिएका आठ गुँडमध्ये चार गुँडको अन्डा सङ्कलन गरिएको थियो । राप्ती नदीबाट सङ्कलन गरिएका १७१ अन्डामध्येबाट ९० बच्चा कोरलिएको हो । नारायणीका चार गुँडमध्ये एउटामा भाले नलागेको अन्डा भेटिएको र बाँकी तीन गुँडका ११३ अन्डाबाट ६१ बच्चा कोरलिएको खड्काले जानकारी दिए ।

गोहीले चैतमा अन्डा पार्न शुरु गर्ने गर्दछ । खड्काका अनुसार ७० देखि ७५ दिनमा अन्डाबाट बच्चा कोरलिन्छ । निकुञ्जले नदीमा सङ्कलन गरेको अन्डा कसरामा रहेको प्रजनन केन्द्र परिसरमा बालुवामा राख्ने गर्दछ । राप्ती र नारायणी नदीमा भालेको अभाव देखिएको छ ।

दुई वर्षअघि नदीको भाले गोही मरेपछि बर्दियाबाट एक भाले गोही ल्याइएको थियो । हाल नदीमा तीन भाले मात्र रहेको खड्काले जानकारी दिए । गत वर्ष राप्ती नदीबाट सात र नारायणीबाट दुई गुँडका गरी ३१७ अण्डा सङ्कलन गरिएको थियो । जसबाट १६४ बच्चा कोरलिएको थियो ।

प्रजनन केन्द्रमा हाल साना ठूला गरी ४७० गोही रहेका छन् । यसै वर्ष त्यहाँ हुर्किएका सय गोहीलाई राप्तीमा छाडिएको छ । प्रजनन केन्द्रमा माउले बच्चा कोरल्ने भएकाले तथ्याङ्क सङ्लकन भइनसकेको खड्काले बताए । प्रजनन केन्द्रमा हुर्काएर विभिन्न नदीमा एक हजार ४ सय ६५ गोही छाडिसकिएको छ । जसमध्ये राप्तीमा मात्र ७ सय ८५ गोही छाडिएको छ ।

निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोसीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छोडिसकिएको छ । नदीहरूमा गोही छोड्दै गए पनि संख्या बढ्दै जान भने सकेको छैन । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् ।

नदी प्रदूषित बन्दै जाँदा पनि सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष यी दुई नदी किनारबाट अन्डा सङ्कलन गरी प्रजनन केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ ।